८ वैशाख २०८१ शनिबार
खेल

सेमिफाइनल समीकरण पूरा

बागलुङ – यहाँ जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको समूहचरणको खेलबाट तीन विभागीय टोलीसँगै प्रदेश नम्बर ५ सेमिफाइनल प्रवेश गरेको हो।

जिल्लाको गलकोट नगरपालिका—३ हटियामा भएको  समूहचरणको खेलमा बिहीबार विभागीय टोली एपिएफले समूह ‘ए’ बाट र नेपाल पुलिसले समूह ‘बी’ बाट शतप्रतिशत नतिजाका साथ समूहविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका छन् ।  त्रिभुवन आर्मी समूह ‘ए’ को उपविजेता र प्रदेश नम्बर ५ समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका हुन्।

फाइनल प्रवेशका लागि शुक्रबार समूह ‘ए’ को विजेता एपिएफले समूह ‘बी’ को उपविजेता प्रदेश नम्बर ५ को सामना गर्नेछ । समूह ‘बी’ को विजेता नेपाल पुलिस क्लब समूह ‘ए’ को उपविजेता आर्मीसँग आमनेसामने हुनेछ । बिहीबार समूहचरणका ६ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा त्रिभुवन आर्मीले प्रदेश नम्बर ७ लाई ३–० को सोझो सेटमा जित निकाल्यो।

आर्मीले प्रदेश ७ लाई २५–६, २५–११ र २५–८ को सेटमा पराजित गरेको गरेको हो । दोस्रो खेलमा प्रदेश नम्बर ३ लाई नेपाल प्रहरीले ३–० कै सोझो सेटमा पाखा लगायो । प्रहरीले प्रदेश ३ लाई २५–११, २५–७ र २५–१३ को सेटमा पराजित गर्यो । तेस्रो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मीले २५–६, २५–२ र २५–८ ले कर्णाली प्रदेशलाई हराएको हो।

गण्डकी प्रदेशले प्रदेश नम्बर ७ लाई २५–१६, २५–१५ र २५–१६ ले ३–० को सोझो सेटमा पराजित गर्न सफल भयो । यो जितले गण्डकीलाई सेमिफाइनलमा पुर्याउन सकेन । नेपाल प्रहरीले प्रदेश नम्बर २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै समूहचरणमा शतप्रतिशत नतिजा निकालेको छ।

प्रहरीले प्रदेश २ लाई २५–९, २५–७ र २५–१० ले पराजित गरेको थियो ।  समूहचरणको अन्तिम खेलमा विभागीय टिम एपिएफले समूहविजेता बन्ने क्रममा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । महिला भलिबलमा देशकै नम्बर १ टिमको रूपमा दरिएको एपिएफले गण्डकी प्रदेशलाई २५–२०, २५–१३ र २५–१६ ले पराजित गरेको छ।

नेपाल भलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन र गलकोट नगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ वैकल्पिक गरी २४ खेलाडीको छनोट गरिने नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले जानकारी दिए।

प्रकाशित: २६ आश्विन २०७५ ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App