८ वैशाख २०८१ शनिबार
अन्य

हनुमन्ते खोलामा कोरिडोर निर्माण गर्नेर्छाैं

शिवशरण खत्री, वडाध्यक्ष, सूर्यविनायक नगरपालिका–३

तपाईँ जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो?    
२० वर्ष स्थानीय तह जनप्रतिनिधि विहिन रह्यो । जनप्रतिनिधि नहुँदा स्थानीय तह लथांलिग ढंगले सञ्चालन हुँदै आइरहेको थियो ।  लथालिंग भएको स्थानीय तहलाई जनप्रतिनिधि आएसँगै सिस्टममा चलाउने प्रयत्न गरिरहेका छौं । जनप्रतिनिधि आएसँगै वडा कार्यालयको सेवा प्रवाह व्यवस्थित र जनतामैत्री हुँदै आइरहेको छ । हामी जनप्रतिनिधि भएर आएसँगै दुई वटा नगर परिषद्बाट बजेट तथा नीति कार्यक्रम ल्यायौं । वडामा खानेपानी र ढलको समस्या धेरै छ । वडा कार्यालयले ढुंगेसाँघुमा ८ फिटे सडकलाई चौडा गरेर ६ मिटरको सडक विस्तार ग-यौं । रामजानकी मार्गमा पाँच सय मिटर रिटेनिङ वाल निर्माण सम्पन्न गरिसक्यौं । त्यस्तै गरी रामजानकी मार्गमा जनता र वडा कार्यालयको ३० लाखको लागतमा तीन सय मिटर ढल निर्माण सम्पन्न ग-यौं । भूकम्पले भत्किएको बालकोट प्राविको तीन कोठे भवन र शौचालय निर्माण सम्पन्न गरेका छौं ।  वडा कार्यालयको लागि एक अर्बभन्दा धेरै वार्षिक बजेट आवश्यकता पर्छ । तर, बजेट भने एक करोड रूपैयाँ मात्रै आउने गर्छ । त्यसैले जनताले अपेक्षा गरेअनुसारको काम गर्न सकिरहेका छैनौं।

तपाईँको वडामा खानेपानीको हाहाकार छ, कसरी खानेपानीको व्यवस्थापन गर्दै हुनुुहुन्छ?
वडामा खानेपानीको चरम हाहाकार छ । नगर क्षेत्रमा खानेपानीको ज्यादै समस्या देखिएको छ । माग अनुसारको खानेपानीको पर्याप्त आपूर्ति गर्न नसक्दा वडामा खानेपानीको समस्या भएको हो । पाँच ठाउँमा खानेपानीको ड्रिप बोरिङ खनियो । तर, पिउनयोग्य भएन । बोरिङको पानीमा आरसेन्निक भेटिएकाले समस्या भएको हो । वडा कार्यालयले मेलम्चीको पानी भित्र्याउनको लागि पहलकदमी गरिरहेको छ । अर्काेतर्फ बोडेतर्फ वितरण गरिरहेको खानेपानी मेलम्चीको पानी भित्रिएसँगै डाइभर्ट गरेर व्यवस्थित गरिनेछ।

हनुमन्ते खोला अतिक्रमणकै कारणले वर्षायाममा डुवानको समस्या देखियो, डुवान नियन्त्रणको लागि कस्तो योजना अघि सार्नुभएको छ?
हनुमन्ते खोला अतिक्रमण गरेर बस्ती बसालेका कारण नै वडामा डुवानको समस्या देखियो । डुवानको कारणले वडामा अर्ब रूपैयाँभन्दा धेरैको क्षति भयो । हनुमन्ते खोला वरपर अतिक्रमण गरेर संरचना ठडाएकाले डुबानको समस्या आएको हो । खोलानाला वरपर जभाभावी ढंगले पर्खाल तथा अन्य संरचना निर्माणले गर्दा खोला स्वतन्त्रपूर्वक बग्न नपाएर नै डुबानको समस्या भएको हो । २०२१ सालको नापी अनुसार हनुमन्ते खोलाको मापदण्ड ६० देखि १०० फिटको मापदण्ड थियो । अहिले हनुमन्ते खोला अतिक्रमण गरेर कुलोजत्रो बनाइएको छ । अब हनुमन्ते खोला कोरिडोर निर्माणको प्रक्रिया अघि बढेको छ । त्यसैले अबको केही समयभित्रै कोरिडोर निर्माण गरेर व्यवस्थित गर्नेछौं।

हनुमन्ते खोला वर्षेनी प्रदूषित हुँदै आइरहेको छ, संरक्षण गर्ने कस्तो योजना अघि सार्नुभएको छ?
हनुमन्ते खोलामा जभाभावी ढंगले ढल तथा फोहोरमैला मिसाउँदा प्रदूषित भएको हो । घर–घरबाट निस्कने फोहोरमैला सोझै नदीमा मिसाउँदा अझै दुर्गन्ध बढेको हो । हनुमन्ते खोलामा ट्रिटमेन्ट प्लान्ट बनाएर फोहोरमैला प्रशोधन गर्नेुपर्ने बेला भइसक्यो । तर, स्थानीय तहसँग बजेट अत्यन्तै न्यून भएकाले समस्या देखिएको छ । त्यसैले संघीय तथा प्रदेश सरकारसँग समन्वय गरेर हनुमन्ते खोला व्यवस्थित गर्नेतर्फ अघि बढ्नेछौं।

सार्वजनिक जग्गाको अतिक्रमण कस्तो छ?
वडामा पर्याप्त सार्वजनिक जग्गा नै छैन, त्यसैले अतिक्रमणको समस्या न्यून छ । हनुमन्ते खोला वरपरका स्थानीयले खोला अतिक्रमण गरेर टहरा तथा खेतीपाती गर्दै आइरहेका छन् । नगरपालिकाले हनुमन्ते खोला वरपर कोरिडोर निर्माण गर्ने योजना अघि सरिसकेको छ । त्यसैले छिट्टै व्यवस्थित गर्नेछौं । अर्काेतर्फ सार्वजनिक जग्गा नभएकाले वडा कार्यालय नै भाडामा सञ्चालित हुँदै आइरहेको छ । वडाको लागि उचित स्थानमा जग्गा खोजिरहेका छौं । तर, अहिलेसम्म पाउन सकेका छैनौं।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगरपरिषद्बाट गत आर्थिक वर्षमा वडा कार्यालयका लागि एक करोड ६० लाख रूपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेटबाट २५–३० वटा योजना अघि सारेका थियौं । तीमध्ये अधिकांश योजना निर्माण सम्पन्न भइसकेका छन् । केही निर्माणाधिन अवस्थमा रहेका छन् । चालू आर्थिक वर्षको लागि पनि दुई करोड रूपैयाँ बजेट विनियोजन भएको छ । दुई करोड रूपैयाँमध्ये एक करोड रूपैयाँ वडा नम्बर २ को पीपलबोटदेखि वडा नम्बर ४ को पानीट्यांकीसम्मको सडक विस्तार गर्न विनियोजन गरेका छौं । बाँकी रहेको एक करोड रूपैयाँ बजेट सडक, ढल लगायतका पूर्वाधार निर्माणमा छुट्टाएका छौं।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ?
भौगोलिक क्षेत्रको हिसाबले वडा सानो छ । वडामा अधिकांश कच्ची सडक रहेका छन् । त्यसैले कार्यकालभित्र वडामा रहेका मुख्य–मुख्य सडक कालोपत्रे तथा ढल निकासको व्यवस्था गर्ने योजना अघि सारेको छु । वडाको बजेटले मात्रै वडामा रहेका सडक तथा ढलको निर्माण गर्न सकिँदैन । त्यसैले संघीय तथा प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्ने तयारी गरेका छौं । वडामा जनताका आधारभूत आवश्यकता पूरा गर्ने समृद्धि र सुसंस्कृत वडा बनाउने सपना बोकेर अघि बढेको छ । वडामा खानेपानी, सडक, ढल लगायतका अत्यावश्यक पूर्वाधार तयार पार्नेछौं । अहिले जताततै क्रकिंट नै कक्रिंटको जंगल भइराखेको छ । त्यसैले व्यवस्थित गर्ने प्रयत्न गरिरहेका छौं।

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: २६ आश्विन २०७५ ०४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App