coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘काठमाडौंले चाहिनेभन्दा बढी भार खेप्यो’

सुनिल थापा, अभिनेता

तपार्इँको बुझाईमा सहर भनेको के हो?
सहर एउटा सुन्दर ठाउँ हो । जहाँ मानिसलाई आकर्षक लाग्ने चिजबिचहरू सजाएर राखिएको हुन्छ । सहरमा सबैखाले अवसर र सुविधा हुन्छन् । सहरको व्यवस्थापकीय पक्ष पनि अरू ठाउँको भन्दा चुस्त हुन्छ।

घुमेकामध्ये मनपर्ने सहर कुन हो?
मलाई पोखरा असाध्यै मनपर्छ । काठमाडौंबाहिर एउटा सुन्दर ठाउँको नाम लिनुप¥यो भने पोखरा नै हो । त्यहाँ घुम्ने र आनन्द लिने प्रशस्त पर्यटकीय मार्गहरू छन् । फेवाताल, मन्दिर, प्याराग्लाइडिङलगायत प्रशस्त पर्यटकीय ठाउँले धेरैको ध्यान तान्छन् । त्यहाँ सुविधासम्पन्न होटलहरू पनि छन् । पर्यटकीय सम्भावनालाई ख्याल राखेर बस्ती बसाल्ने र भवन निर्माण गर्ने हो भने पोखराको अस्तित्व रहन्छ।

नेपाल बाहिर कहाँ–कहाँ पुग्नुभएको छ?
विश्वका ‘टप सिटी’मा पुगेको छु । अमेरिका, मलेसिया, सिंगापुर, हङकङलगायत धेरै सहर पुगेको छु । विदेशका सहर नियमले चलेका छन्।

त्यहाँका सहर घुम्दा कस्तो लाग्यो?
विदेशी मुलुकका हरेक सहर नीति नियमले चलेका छन् । कानुनको यथेष्ट परिपालना भएको छ । हरेक सहर भिन्न र मनमोहक छन् । सागर बीचमा घर बनेका छन् । बीच–बीचमा सागर र त्यसको वरपर बनेका घरको दृश्य देखिन्छ, विदेशी मुलुकमा । अर्को कुरा, सहरी इलाकामा हरेक सुविधा हुन्छन् । स्वच्छ हावा पाइन्छ । सडक पनि चिल्ला र सफा हुन्छन् । त्यहाँ फोहर फाल्नेलाई तुरुन्तै समाइन्छ । विदेशका सहर शान्त छन् । सहरमा बस्नेहरूलाई कुनै पनि समस्या छैन । सहरमा बस्नेले मनपरी रूपमा कुनै पनि नकारात्मक काम गर्न पाउँदैनन् । कडा कानुन भएकाले कोही पनि कानुनविपरित चल्न चाहँदैनन्। 

काठमाडौं कस्तो लाग्छ?
काठमाडौं अति नै व्यस्त भयो । यो ठाउँले चाहिलेभन्दा बढी जनघनत्व थेगेको छ । यो देशकै सुविधासम्पन्न र मुख्य सहर हो । यहाँ सबैथोक छ । आफूले चाहेको कुरा सजिलै पाउन सकिन्छ । सुविधायुक्त विद्यालय, अस्पताल, सरकारी सेवालगायत पक्ष हेर्दा पनि काठमाडौं राम्रो छ । अर्कातर्फ हेर्ने हो भने काठमाडौं जति सुविधायुक्त छ, त्यति नै धरासायी पनि बन्दै गएको छ।

काठमाडौं बिग्रनुको कारण के होला?
राज्य ठिक भएन । सहरमा बस्नेहरू ठिक भएनन् । उनीहरूको खराब आचरणले सहर भत्कन थालेको छ । सहरी इलाका पूरै अव्यवस्थित छ । मापदण्डविपरतिका भवन, खाल्डाखुल्डी सडक, मानिसको चाप, बिजुलीका पोल, अत्याधिक सवारी–साधनलगायत पक्षले काठमाडौंलाई धरासायी बनाएको छ । यहाँ अझै पनि बाहिरबाट बसाई सरेर आउने क्रम रोकिएको छैन । यसतर्फ सरकार र सहरवासी सबैको ध्यान पुग्नु जरुरी छ।

उपत्यका बाहिरका सहर कतिको व्यवस्थित लाग्छन्?
उपत्यका बाहिरका सहर केही खुकुला छन् । काठमाडौं मानिसकै कारणले अव्यवस्थित भएको सहर हो । यहाँ बस्नेले सहरको विकास र व्यवस्थापनबारे सोचेनन् । खाली आफ्नो स्वार्थ पूर्तितर्पm मात्रै चासो राखे । यो मेरो सहर हो, यसलाई मैले नै सफा राख्नुपर्छ भनेर कसैले सोचेनन् । उपत्यका बाहिरका सहरमा जनसंख्याको चाप पनि कम छ । सडक सञ्जालले उपत्यका बाहिरका सहरको विकास गरेको मान्न सकिन्छ । तर पनि काठमाडौंमा जनघनत्व बढ्ने क्रम रोकिएको छैन।

हाम्रा सहर विदेशी जस्तै बन्न सक्दैनन्?
बनाउने हो भने हाम्रा सहर विश्वै नमुना बन्न सक्छन् । हामीलाई प्रकृतिले अरु कुनै मुलुकलाई नदिएको वरदान दिएको छ । मात्रै हामीले यसलाई जान्न र चिन्न सकेनौं । काम गर्ने हो भने १० वर्षमा हाम्रा सहर विदेशका जस्तै बन्न सक्छन् होला । मुख्य कुरा त हाम्रोमा नीति नियम नै बलियो छैन।

सहर कसरी बन्ला?
सरसफाइ, बाटोघाटो तथा पार्क निर्माण, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथामलगायत विषयलाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्छ।

सहरवासीको बानी कस्तो लाग्छ?
हामी सहरवासी साह्रै अल्छी र गैर–जिम्मेवार छौं । हामीले आफ्नो बारेमा धेरै सोच्छौं । तर, आफू बसेको माटोको बारेमा सोच्न भ्याउँदैनौं । आफ्नो घरको फोहर छिमेकीको आँगनमा फाल्ने । बाटोमा जहाँतहीँ फोहर मिल्काउने, अरुप्रति नम्र व्यवहार नदेखाउने जस्ता यावत बानी छन्।  

तपाईँको बुझाईमा गाउँ र सहरको सम्बन्ध कस्तो रहन्छ?
गाउँ र सहर एक अर्कामा परिपूरक हुन् । गाउँमा आवश्यकता सहरले पूरा गरेको हुन्छ।

विदेशका र हाम्रा सहरबीच भिन्नता के रहेछ?
अरु र हाम्रो देशबीच धेरै भिन्नता छ । विकासको कसीमा हामी धेरै पछि छौं । प्रकृतिले दिएको कुरामा हामी अगाडि छौं । जे कुरा हामीले निर्माण गरेका छौं, त्यसमा धेरै पछि छौं । हाम्रा तुलनामा विदेशका सहर धेरै व्यवस्थित छन् । पूर्वाधार निर्माणले विदेशका सहर झकिझकाउ छन् । त्यहाँ हरेक ठाउँका नीति नियमहरू पालना गरिएका हुन्छन् । अरु मुलुकका नागरिक सहरको विकासमा चनाखो हुन्छन् । सरकारको नीतिलाई पालना गर्छन् । सरकारी कामलाई सहयोग गर्छन् । राम्रा कामलाई प्रोत्साहन गर्नु र नराम्रा कामलाई निरुत्साहित गर्ने बानी विदेशीहरूमा छ । अर्को कुरा हाम्रो सहरमा मानव अधिकारको पालना गरिएको देखिँदैन।

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
म बसेको सहर सामान्य होस्, जहाँ मानवीय आवश्यकता सहजरूपमा प्राप्त गर्न सकियोस् । यातायातको सहज पहुँच सबैतिर पुगोस् । सहरमा बस्नेले एकैखाले सेवा–सुविधा उपभोग गर्न पाउन् । सहरमा विभेदीकरण नदेखियोस् । सडक छेउछाउ हरियाली होस् । यति भयो भने सहरमा रहन मुस्किल पर्दैन।

उपत्यकाको मनपर्ने पक्ष?
यहाँको मनपर्ने पक्ष हावापानी नै हो । गर्मीमा ठिक्क गर्मी र जाडोमा ठिक्क जाडो हुन्छ । यहाँका पुराना मठ–मन्दिरले पनि नेपालको मौलिकता झल्काएको छ।

मन नपर्ने पक्ष के हो?
साह्रै ट्राफिक जाम हुन्छ । धुलोधुवाँ, भीडभाड र अस्तव्यस्ताले उपत्यकाकालाई कुरूप पारेको छ ।

सहर सफा र सुन्दर बनाउन के गर्नुपर्ला?
सहर चिटिक्क राख्न सरकार मात्रै होइन, नागरिक पनि जागरुक हुनुपर्छ । सबैले आफ्नो घर सफा गर्दा नजिकको सडक पनि सफा गर्नुपर्छ । तोकिएको ठाउँमा फोहर फाल्नुपर्छ । जथाभावी फोहोर फाल्ने प्रवृत्ति हटाउनुपर्छ । सरकारले सबैखाले सेवा–सुविधा दिएर सहरवासीको दिक्दारी हटाउन जरुरी छ।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो?
त्यस्तो कुनै ठाउँ छैन।

सहरको मिठो लाग्ने खानेकुरा केहो?
थकाली खाना अति नै मिठो लाग्छ।

प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: २६ आश्विन २०७५ ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App