बलात्कारकाे बजारशास्त्र

शुक्रबार, २६ असोज २०७५, ०८ : २६ मिनेश गुरुङ

घटना १ : २०७५ साउन १० गते कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि सुनियोजित तवरले हत्या भयो । महिनाैं दिन बितिसक्दा पनि अपराधी पहिचान भएको छैन । मृतकका परिवारले न्याय पाएका छैनन्।

घटना २ः २०७५ भदौ २२ गते काठमाडौँ उपत्यकाको बडिखेलमा १० वर्षीया बालिका आफ्नै बुवाद्वारा बलात्कृत भइन् । अभियुक्त बुवालाई प्रहरीले पक्राउ ग¥यो । कानुनी कारबाही प्रक्रिया अगाडि बढेको छ।

घटना ३ : २०७५ असोज ९ गते पोखरा महानगरपालिका पुम्दीभुम्दीकी १० वर्षीय श्रेया सुनारको बलात्कारपछि हत्या भयो । अपराधी पहिचान भई समातिएका छन् । प्रहरीले कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाएको छ।

यौनजन्य अपराध तथा बलात्कारजन्य घटनाको मुख्य जड पुरुषद्वारा महिलाको यौनिकतामाथिको नियन्त्रणकारी सोच हो। त्यसैले, जबसम्म पुरुष मनोविज्ञानले महिलाको यौनिकतामाथि दमनकारी सोच राख्छ, तबसम्म यौनजन्य अपराध तथा बलात्कारका घटना भइरहनेछन्, जसलाई प्रोत्साहन गर्ने अन्यायपूर्ण सामाजिक व्यवस्थालाई परिवर्तन गर्नु जरुरी छ।  

माथिका प्रतिनिधि घटनाले नेपाली समाजमा पछिल्लो समय बलात्कारका घटना कसरी भइरहेको छ भन्ने विकराल तस्बिर देखाउँछ । कञ्चनपुरमा साउन १० निर्मला पन्तको बलात्कारपछि हत्या भएयता मुलुकभर १ सय ८० भन्दा बढी बलात्कारका उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।   

प्रहरीका अनुसार भदौ महिनामा मात्र ४८ वटा बलात्कारजन्य र थप ३० यौनजन्य घटना सार्वजनिक भएको छ । गत वर्ष ९ सय ४६ यौनजन्य तथा बलात्कार घटनाका उजुरी  प्रहरीमा दायर भएको थियो । गोप्य रूपमा हुने कैयौँ यौनजन्य घटना बाहिर आउन सकेका छैनन् ।  यौन तथा बलात्कारजन्य अपराधहरूको मूल जडको सही विश्लेषण र पहिचान नगरी निराकरणको उपाय पहिल्याउन सकिँदैन।

कतिपय महिला दिनैपिच्छे आफ्नै श्रीमान्÷प्रेमीबाट यौनजन्य हिंसाको सिकार भएका छन् । शारीरिक रूपमा अशक्त हुँदा, सुत्केरी या बिरामी हुँदासमेत आफ्नै पतिबाट हिंसाको सिकार भएका घटना विभिन्न तथ्यांकले पुष्टि गरेका छन् ।  तसर्थ,  मानवीय समवेदना तथा मनस्थितिमा प्रभाव पार्नेे विषयको व्यावहारिक विश्लेषण गरी निराकरणको उपाय अपनाउनुपर्ने देखिन्छ।

नेपाल हिन्दु धर्म–संस्कारद्वारा निर्देशित राज्य हो । हिन्दु धर्म संस्कारमा खास गरी नारीलाई घुमाउरो पारामा पुरुषजातिको भोगको साधनका रुपमा लिएको पाइन्छ । देवताको राज्यारोहणको कालखण्डमा होस् या अन्य कार्यक्रममा नारी जातिलाई अप्सरा, नतर्की या मनोरञ्जनको साधन मानिएको छ। भगवान् कृष्णले १६ सय गोपिनीसँग मोज गरेका दन्त्यकथाले पनि पुरुषजातिले अधिकतम स्त्रीजातिलाई भोग गर्नुपर्छ भन्ने मनोविज्ञान पुरुष जातिको मन मस्तिष्कमा कहीँकतै बसेको पाइन्छ । त्यस्तै, देवताका राजा इन्द्रले महर्षि गौतम ऋषिको पत्नी अहिल्यालाई एक्लै भएको मौका छोपी बलात्कार गरेको कुरा होस् या स्वस्थानीमा महादेवले जालन्धरको वधका लागि जालन्धर पत्नीको सतित्व नष्ट गर्न रचिएको जालझेल होस् । प्रस्ट कुरा के छ भने नारीलाई भोग गर्ने साधनका रूपमा लिएको र नारी जातिको यौनिकतामा जबर्जस्ती दमनकारी भूमिकाको प्रस्तुति झल्किएको छ । अर्को कुरा पीडित नारीलाई उल्टै थप अपमान, बेइज्जती र चरित्रहीन ठहर गरिएको छ । पुरुषको कुकर्मलाई पुरुषार्थ या मर्दकार्य भनि घुमाउरो पारामा उल्लेख गरिएको छ।

इन्द्रद्वारा बलात्कृत  निर्दोष अहिल्यालाई पतिद्वारा उल्टै श्राप गरी १००० वर्षसम्म पत्थर हुनु परेको तर अभियुक्त इन्द्रले उन्मुक्ति पाई राज्यारोहण गरेकोे कुरा उल्लेख गरिएको छ । पुरुषले गर्ने सबै कार्य  नारी जातिको नियति नै हो, चुपचाप सहनुपर्छ भन्ने आशयकै छन् । यसले पुरुषको यौन मनोविज्ञानलाई उक्साहट गरी बलात्कारजन्य कार्यमा अघोषित उत्प्रेरित गरेकोे छ।

नेपाली समाज पितृसत्ताद्वारा निर्देशित समाज हो । कानुनतः नारी पुरुष बराबर रहे तापनि महिलाको धार्मिक, सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिकस्तर पुरुषको भन्दा धेरै कम छ । यसका साथै हरेक प्रकारको शक्ति तथा स्रोत साधनमा पुरुषको पहुँच र वर्चस्व रहेको छ, जसले गर्दा महिलालाई सीमित स्थानमा रहन बाध्य बनाएको छ । अशिक्षा र अज्ञानताको परिस्थितिजन्य अवस्थाको फाइदा उठाउँदै महिला तथा किशोरीमाथि विभिन्न यौनजन्य तथा अन्य शोषण भइरहेको छ । अधिकांश पुरुष महिलाको यौनिकतामाथि दमनकारी र शोषणकारी सोच राख्छन् । पुरुषहरू महिलाको यौनिकताजस्तो विशुद्ध व्यक्तिगत तथा जैविक विषयलाई आफ्नो अधीनमा राख्ने सोच राख्छ । महिलाले आफ्नो यौनिकता आफ्नो नियन्त्रणमा राख्ने कुराको कानुनमा अधिकार उल्लेख गरिएको छ तर, व्यवहारमा भने फरक छ । उही पुरानो रुढिवादी सोचले नै कार्य गरिरहेको छ । हर प्रकारको नारीलाई आफ्नो क्षणिक स्वार्थपूर्तिको साधन मान्ने, मनलाग्दा भोग गर्न गर्न सक्ने या मिल्नुपर्ने वस्तु या साधन मान्ने पुरुषप्रधान समाजभित्रको पुरातनवादी रुढिवादी, हेपाहा र दमनकारी सोच नै कुकर्मको मूल जड हो।

नेपाल आधुनिकताको यो समय खण्डमा पनि अधिकांश समय राजनीतिक तथा सामाजिक अस्थिरतासँगै अधिकांश समय राजनीतिक व्यवस्था परिवर्तन र रुपान्तरणमा समय व्यतित गर्नुप-यो । राजनीतिक अस्थिरतासँगै आर्थिक–सामाजिक परिवर्तनको समयले व्यापक स्थान पायो। राजनीतिक अस्थिरताका कारण दण्डहीनताले चरम स्थान ओगट्यो । राजनीतिक नेतृत्वमा इमादारी कम भयो । कानुनलाई आफ्नो तवरबाट व्याख्या विश्लेषण गर्ने र हरेक प्रकारको अपराधलाई राजनीतिक संरक्षण दिने नजिर बसाल्यो । बोली र व्यवहारमा ठीक उल्टो भयो, जसले दण्डहीनतालाई बढायो । बलात्कारजस्तो नियतवश गरिने पशुवत कुकर्मलाई ढाकछोप तथा उन्मुक्त गराउने र निष्पक्ष र विश्वसनीय छानबिन तथा अनुसन्धान नगरी उल्टै पीडित नारी तथा किशोरीलाई नै दोषी र समस्या पर्ने खालको घटनाक्रम विकास गर्ने प्रवृत्ति विकास भएको छ । यस प्रकारको गलत नजिरले यौनजन्य घटना वृद्धि भएको महसुस आमजनताको छ । यस प्रकारको घटनाका अपराधीलाई नसियत दिने खालको कानुनी व्यवस्था नभएसम्म घटनाले व्यापकता पाउने पक्का छ।

कानुनमा के छ?
नेपालीको कानुनअन्तर्गत मुलुकी अपराध (संहिता) ऐन २०७४ मा यौनजन्य अपराधसम्बन्धीको व्यवस्थाअनुसार, दश वर्षभन्दा कम उमेरको बालिकालाई करणी गरेमा सोह्रदेखि बीस वर्ष कैद, दश वा दशदेखि चौध वर्षसम्मको बालिका करणी गरेमा चौधदेखि सोह्र वर्ष कैद, चौध वा चौधदेखि सोह्र वर्षसम्मको बालिका करणी गरेमा बाह्रदेखि सोह्र वर्ष कैद, सोह्र वा सोह्रदेखि अठार वर्षसम्मको बालिका करणी गरेमा दशदेखि बाह्र वर्ष कैद र अठार वा अठार वर्षभन्दामाथिको महिलालाई करणी गरेमा सातदेखि दश वर्षसम्म कैद हुने व्यवस्था छ । तर उल्लिखित कानुनको व्यवस्थाले खराब नियत भएको व्यक्तिलाई कुनै नसियत दिन सकेको पाइँदैन । जसले गर्दा दिनानुदिन यौनजन्य अपराध तथा बलात्कारका घटना बढ्दै गइरहेको छ, जसलाई कुनै प्रभाव र दबाब परेको पाइँदैन । अर्को पाटो प्रचलित कानुनअनुसार अपराधीलाई समयमै पहिचान र दण्डित गर्ने गरेको पाइँदैन । बलात्कारजस्तो अमानवीय कुकर्मको अनुसन्धान तथा कारबाहीमा पनि राजनीतिक दबाब आउनु र प्रहरी प्रशासनद्वारा हदैसम्मको लापरबाही र गैरजिम्मेवारी देखिनुले आपराधिक व्यक्तिको मनोबल बढेको पाइन्छ। अर्कोतर्फ प्रचलित कानुनी व्यवस्था नै फितलो भएको भन्ने आवाज पनि उठ्न थालेको छ, बलात्कारीलाई फाँसीको व्यवस्था हुनुपर्ने आवाज अहिले नेपाली समाजमा बृहत् रुपले उठेको छ । हुन त अमेरिकामा बलात्कारीलाई फाँसी दिने कानुन हटाएपछि बलात्कार तथा यौनजन्य अपराधमा उल्लेख्य कमी भएको थियो । तर नेपाली समाज त्यो बाटोमा हिँड्न सक्ला ? हाम्रो र त्यहाँको समाजको संरचना समान छैन, त्यसैले यस प्रकारको घटनामा कमी आउने कुरामा शंका छ । तर मुख्य कुरा पुरुष मनोविज्ञानमा भएको हेपाहा, दमनकारी र संकुचित विचारधारा परिवर्तन नै हो।

निराकरणका उपाय
१) मानवीय संवेदनामा सद्भाव र भाइचारा वृद्धि ।
२) अनुशासन, नैतिकता र इमानदारीसहितको जीवनोपयोगी शिक्षा
३) महिला सशक्तीकरण र सजगता ।
४) असल सामाजिक मूल्य–मान्यताको अनुसरण
५) अनलाइन मिडिया र सामाजिक सञ्जालको सही प्रयोग
६) सरकारको प्रभावकारी भूमिका र जिम्मेवारी

अन्त्यमा,
यौनजन्य अपराध तथा बलात्कारजन्य घटनाको मुख्य जड पुरुषद्वारा महिलाको यौनिकतामाथिको नियन्त्रणकारी सोच हो । त्यसैले, जबसम्म पुरुष मनोविज्ञानले महिलाको यौनिकतामाथि दमनकारी सोच राख्छ, तबसम्म यौनजन्य अपराध तथा बलात्कारका घटना भइरहनेछन्, जसलाई प्रोत्साहन गर्ने अन्यायपूर्ण सामाजिक व्यवस्थालाई परिवर्तन गर्नु जरुरी छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad