८ वैशाख २०८१ शनिबार
राजनीति

चुनाव लड्न हच्किए गौतम

काठमाडौं – नेकपाका नेता वामदेव गौतम काठमाडौं–७ बाट निर्वाचन लड्ने निर्णयबाट पछि हटेका छन्। गौतमले काठमाडाैं–७ लाई खाली गराएर उपनिर्वाचनमार्फत चुनाव लड्ने निर्णय गरेसँगै पार्टीभित्रै तीव्र असन्तुष्टि उत्पन्न भएको थियो। पार्टी नेतृत्वबाटै असहयोगको अवस्था आएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेको जानकारी उनी निकट नेता भोजविक्रम मगरले दिए। ‘पार्टीभित्रैबाट असहयोग हुने भएपछि काठमाडौं–७ लाई खाली गराएर चुनाव लड्ने निर्णयबाट गौतमजी पछि हट्नुभएको हो’, मगरले भने।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दिया निर्वाचन क्षेत्र–१ बाट पराजित गौतमले काठमाडौं–७ लाई खाली गराएर फेरि चुनाव लड्ने योजना बुनेका थिए। काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नेकपाका रामवीर मानन्धरले गौतम यस क्षेत्रबाट चुनाव लड्ने भए आफूले राजीनामा दिएर ठाउँ खाली गर्ने घोषणा गरेका थिए। मानन्धरले गौतमका लागि निर्वाचन क्षेत्र खाली गरिदिन पार्टी अध्यक्ष पुष्पकमल दाहालमार्फत राजीनामा बुझाएका थिए । मानन्धरको राजीनामा र गौतमले काठमाडौंबाट चुनाव लड्ने विषयले गत २२ गते बसेको नेकपा सचिवालय बैठकमा प्रवेश पाएको थियो। मानन्धर आफैंले पनि पत्रकार सम्मेलन गरी गौतमका लागि आफूले राजीनामा दिने बताएका थिए। गौतमको चुनाव लड्ने निर्णय र मानन्धरको राजीनामा घोषणालाई लिएर पार्टी पंक्तिभित्रै समर्थन र विरोधका स्वर सुनिन थालेका थिए। पार्टीभित्र समर्थनभन्दा पनि विरोधको स्वर चर्को भएकाले गौतम ‘ब्याक’ भएका हुन्।

काठमाडौंबाट चुनाव लड्ने गौतमको निर्णयप्रति पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेता माधव नेपाल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ हुँदै महासचिव विष्णु पौडेलसमेत असहमति थिए। उनलाई काठमाडौंबाहिरका जिल्लाबाट निर्वाचित गराएर प्रतिनिधिसभामा ल्याउन भने नेता नेपाल र महासचिव पौडेल सकारात्मक थिए।

नेकपा सचिवालय सदस्य पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लामो प्रतिक्रिया लेख्दै काठमाडौं– ७ बाट चुनाव लड्ने गौतमको निर्णयको आलोचना गरेका थिए। यस्तै स्थायी समिति सदस्य भीम रावलले पनि सामाजिक सञ्जालबाटै गौतमको निर्णयको विरोध गरेका थिए। बिहीबारसम्म आइपुग्दा गौतमको निर्णयका पक्षमा उनी स्वयं, पार्टी अध्यक्ष दाहाल र मानन्धरमात्रै देखिए।

गौतमले काठमाडौंबाट चुनाव लड्ने समाचार सार्वजनिक भएपछि उनी र नेकपाविरुद्ध सामाजिक सञ्जाल तथा नागरिक तहबाट पनि व्यापक असन्तुष्टि व्यक्त भएका थिए। प्रदेशसभा सदस्य वसन्त मानन्धर र प्रकाश श्रेष्ठले पनि काठमाडौं–७ गौतमका लागि अनुकूल नहुने जानकारी पार्टी अध्यक्ष ओलीलाई गराएका थिए।

सांसद बन्ने प्रयास असफल
गौतमले चुनाव हारेपछि फेरि सांसद बन्न विभिन्न विकल्पमा प्रयास गरेका थिए। गौतमले सुरुमा बर्दिया–२ बाट निर्वाचित सांसद सन्तकुमार थारूलाई राजीनामा गराएर सांसद बन्ने प्रयास गरेका थिए। त्यो प्रयास असफल भएपछि उनले पूर्वी रुकुममा सांसद कमला रोकालाई राजीनामा गराएर सांसद बन्न खोजेका थिए। उनको त्यो प्रयास पनि असफल भयो। गौतमले दैलेखका सांसद रवीन्द्रराज शर्मालाई राजीनामा गराएर सांसद बन्ने प्रयास पनि गरेका थिए। दैलेखमा पनि सफलता नपाएपछि गौतमले डोल्पाका सांसद तथा हाल राज्यमन्त्रीसमेत रहेका धनबहादुर बूढालाई राजीनामा गराउन प्रयास गरे। बूढा सुरुमा गौतमलाई ठाउँ छाड्न तयार भए पनि पछि उनले राजीनामा दिन अस्वीकार गरेका थिए। बुढालाई राजीनामा गराएर गौतमलाई सांसद बनाउने प्रस्ताव नेकपाको सचिवालयसम्म पुगको थियो।

बैठकमा महासचिव पौडेलले उक्त प्रस्ताव लगेका थिए भने दाहालले त्यसलाई समर्थन गरे पनि त्यो प्रयास पनि सफल भएन। गौतमले नवलपुर २ का सांसद तिलक महतसमक्ष पनि ठाउँ छाड्न प्रस्ताव गरेका थिए। महतले पनि गौतमको प्रस्ताव अस्वीकार गरेका थिए। त्यसपछि गौतमको नजर आफ्नै जन्मथलो प्युठानमा परेको थियो। उनले त्यहाँबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई राजीनामा गराएर चुनाव लड्न चाहेका थिए। त्यो प्रस्तावलाई राष्ट्रिय जनमोर्चाले लिखित रूपमै अस्वीकृत गरिदियो। गौतमले ललितपुर–१ का सांसद नवराज सिलवाललाई पनि राजीनामा दिन दबाब दिएका थिए। सिलवाल पनि गौतमलाई पद छोड्न तयार भएनन्।

अन्तिममा गौतमले बाँके–३ का सांसद नन्दलाल रोकायलाई राजीनामा दिन दबाब दिएका थिए। रोकायले पार्टी नेतृत्वले सामूहिक निर्णय नगरेसम्म आफूले पद नछाड्ने बताएका थिए। बाँकेमा रोकायले पनि सांसद पद छाड्न तयार नभएपछि गौतमको नजर बैतडी–१ मा पुगेको थियो। कांग्रेससँग ११ हजार मतान्तरमा विजयी भएका बैतडीका सांसद दामोदर भण्डारीलाई राजीनामा गराएर सांसद बन्न गौतमले पहल गरेका थिए। त्यसपछि उनले कञ्चनपुरका सांसद दीपप्रकाश भट्टलाई पनि राजीनामा गराउने प्रयास गरेका थिए। अन्तिममा उनका लागि पद छाड्न मानन्धर तयार भएका थिए तर यो प्रयास पनि सार्थक हुन सकेन।

प्रकाशित: २६ आश्विन २०७५ ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App