७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधान विरोधी तत्व निगरानीमा छ : प्रधानसेनापति

काठमाडौँ - नेपाली सेनाले विखण्डनवादी र संविधान विरोधी तत्वको निरन्तर निगरानी गरिरहेको जनाएको छ। संवैधानिक प्रावधानअनुसार राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रियहित प्रवद्र्धनलाई केन्द्रमा राखेर कार्यसम्पादन गरिरहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताए।

गत भदौ २४ गते प्रधानसेनापतिको कार्यभार सम्हालेपछि पहिलोपटक आज सञ्चारकर्मीसँग भएको छलफलमा उनले राष्ट्रको राष्ट्रिय सेनालाई सुदृढ, सबल र सक्षम तुल्याउन आफू दृढ रहेको धारणा व्यक्त गरे।

प्रधानसेनापति थापाले भने, “सात वटा साङ्गठनिक लक्ष्य र १५१ वटा कार्य योजना लिएर नेपाली सेनालाई पूर्ण व्यावसायिक बनाउन आफू प्रतिबद्ध रहेको छु, अब भनसुन र आफन्तवादको अन्त्य हुन्छ, प्रक्रिया र पद्धतिविपरीत कुनै काम हुँदैन।”

संस्थागत हित र स्वार्थलाई सर्वोपरि मानेर काम गर्ने प्रण गर्दै उहाँले व्यक्तिगत स्वार्थ सकलदर्जामा हाबी हुन नदिने प्रतिवद्धता व्यक्त गरे। प्रधानसेनापति थापाले नागरिक सर्वोच्चतालाई नेपाली सेनाले स्वीकार गरेको तथा सैनिकको व्यवसायिकीकरण नै आफ्नो मूल मुद्दा भएको दोहोर्‍याउँदै कार्यसम्पादनका आधारमा सकल दर्जाको मूल्याङ्कन हुने र राष्ट्रिय सुरक्षामा प्रत्यक्ष असर पुग्ने कुनै किसिमका गतिविधि हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे।

शान्तिकालमा हरेक देशका सैन्य विकास–निर्माणका काममा जुटेका दृष्टान्त प्रस्तुत गर्दै उनले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माण नेपाली सेनाको प्राथमिकताको परियोजना भएको र त्यसलाई निर्धारित समयमा पूरा गर्न अहोरात्र खटिने स्पष्ट पारे।

एक जिज्ञासाका जवाफमा प्रधानसेनापतिले सरकारी निर्णयअनुसार बिम्स्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाबाट उच्च तहमा प्रतिनिधित्व नभएको स्पष्ट पारे। सैनिक कल्याणकारी कोष र अन्य कल्याणकारी गतिविधिलाई पूर्ण पारदर्शी तुल्याइने पनि उनले बताए। रासस

 

प्रकाशित: २५ आश्विन २०७५ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App