coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरको प्रगतिः वृक्षारोपणदेखि मोनोरेल सम्भाव्यता अध्ययनसम्म

काठमाडौं– काठमाडौं महानगरपालिकाले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ। नगर प्रमुख विद्यासुन्दर शाक्यले बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको प्रगति विवरणमा वृक्षारोपणदेखि मोनोरेलको सम्भाव्यता अध्ययनसम्म उल्लेख गरिएको छ।

मेयर शाक्यले एक वर्षे कार्यकालमा भौतिक पूर्वाधार विकासमा प्राथमिकता, वडाको बजेटमा वृद्धि, सडक विस्तार र फोहोरमैला व्यवस्थापन, उपत्यकामा मोनोरेलको सम्भाव्यता अध्ययन, क्लिन ग्रिन सिटी, वृक्षारोपण, धरहरा, काष्टमण्डप, रानीपोखरीको पुनर्निर्माण, बौद्धमा दमकल भवन निर्माणको काम सुरु गरेको बताए।

सार्वजनिक वार्षिक प्रगति विवरणमा २५ किलोमिटर सडक कालोपत्रे, भूकम्प पीडितलाई राहत वितरण, भूकम्प प्रतिरोधी भवन निर्माणका लागि ५ सय जनालाई डकर्मी तालिम, ८.६१ करोडमा वारुणयन्त्रसहितको तालिम केन्द्र भवनको शिलान्यास, जेष्ठ नागरिकको घरघरमै चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण, सडक मानवरहित बनाउन आश्रमसँग सम्झौता, कुकुर व्यवस्थापन तथा घाइते पशु व्यवस्थापन गर्न गैरसरकारी संस्थासँग सम्झौता, ३२ वटै वडामा क्लिन सिटी अभियान, २७ ठाउँमा ट्राफिक आइल्याण्ड मर्मत गरी हरियाली प्रवद्र्धन गरिएको उल्लेख छ।

त्यस्तै, विश्व वातावरण दिवसका अवसरमा विभिन्न वडा, निजी संघ संस्था, विद्यालय क्षेत्रमा गरी २ हजार ३७१ विरुवा रोपिएको छ। मेयर शाक्यले धुलो धुवा नियन्त्रण तथा पर्यावरण बचाउन १० हजार विरुवा रोप्ने योजना महानगरको रहेको सुनाए। कामपाले निःशुल्क विरुवा दिने उनको भनाई छ।

ढल खोल्ने तथा सडक सरसफाईमा ५ थान जेट मेसिन खरिद र ब्रुमर मेसिन ५ थान खरिदको लागि सम्झौता गरेको महानगरले जनाएको छ।

एसएमएसबाट धरधनीलाई नक्सापासको सूचना, भवन निर्माण मापदण्ड र कार्यविधि तर्जुमा गरी निर्माण कार्यको प्रभावकारी नियमन भइरहेको उल्लेख छ। प्रगति विवरणका अनुसार आ.ब २०७४/०७५ मा ३ हजार २०६ भवनको नक्सा दर्ता, २ हजार ७३४ स्थायी इजाजत र ३ हजार ३२६ निर्माण सम्पन्न भएको छ।

त्यस्तै, राजस्वतर्फ महानगरले आन्तरिक स्रोतमध्ये घरजग्गा कर ५८ करोड, बहाल कर ५६ करोड, विज्ञापन कर ११ करोड र व्यवसाय कर १० करोड रुपैयाँ संकलन गरेको छ। ‘करको दर होइन दायरा बढाउन खोजेका छौं। राजस्व बढेको छ, खर्च पनि बढ्यो’, मेयर शाक्यले भने।

त्यस्तै, चक्रपथमा मोनोरेल सञ्चालन गर्न सीआरसीसी २५औं ब्यूरो कम्पनीलाई सम्भाव्यता अध्ययनको लागि सम्झौता गरेको कुरालाई महानगरले प्रगति विवरणमा उल्लेख गरेको छ। ‘उक्त कम्पनीबाट अध्ययन प्रतिवेदन प्राप्त भइसकेको छ। उक्त सम्भाव्यता प्रतिवेदनलाई अहिले महानगरपालिकाले अध्ययन गरिरहेको छ’, प्रगति विवरणमा उल्लेख छ।

पूर्वाधार सुधार तथा विकास खर्च २३३ प्रतिशतले बृद्धि, लोकेशन म्यापसहितको स्मार्ट ट्राफिक साइनेज जडान, ६ करोड लागतमा हनुमानढोका दरबार क्षेत्रका १७ वटा सम्पदा एवं अन्य पूर्वाधार सुधार कार्यहरु सम्पन्न गरेको, ८ करोड लागतको २६ वटा सम्पदा एवं अन्य पूर्वाधार सुधार कार्यहरु निर्माणाधिन अवस्थामा रहेको पनि उल्लेख छ।

महानगरका ६ ठाउँ बौद्ध, पशुपतिनाथ, स्वयम्भू, शंखपार्क, हनुमानढोका दरबार क्षेत्र परिसर, बालाजु बाइसधारा उद्यानमा फ्रि वाईफाई जडान गरिएको कुरालाई पनि मेयर शाक्यले प्रगति मानेका छन्।

रानीपोखरी निर्माण कार्यको लागि साबिकको ठेक्का रद्ध गरी नयाँ निर्माण व्यवसायी छनौट गर्न खरिद प्रक्रिया अगाडि बढाइएको छ। यसको लागि १४ करोड लागत बजेट विनियोजन गरिएको छ। त्यस्तै, महाराजगञ्ज चोकमा २८ लाखको लागतमा ट्राफिक लाइट निर्माण पनि महानगरले गरेको छ। यसले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने महानगरको अपेक्षा छ।

प्रकाशित: २५ आश्विन २०७५ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App