coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिगः पुलिस र थ्री स्टारकाे विजयी सुरूवात

तस्बिर साैजन्यः गाेलनेपाल डटकम

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लब र थ्री स्टार क्लबले बिहीबार जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को कृत्रिम मैदानमा भएको खेलमा पुलिसले जावालाखेल युथ क्लबलाई १–० तथा थ्री स्टारले फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित गर्दै लिगमा विजयी सुरुआत गरेका हुन्।

पुलिसको जितमा अजित भण्डारीले ३१औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । यो खेलसँगै सम्पन्न पाँच खेलमध्ये तीन टोली स्पष्ट तीन अंक जोड्न सफल भएका छन् । यसअघि थ्री स्टारले फ्रेन्ड्सलाई २–१ ले पराजित गर्दै तीन अंक जोड्दा संकटाले सरस्वतीलाई १–० ले पराजित गर्दै स्पष्ट अंक जोड्न सफल भएको थियो।

बिहीबार पुलिसलाई जिताउन अजितले तेज तामाङको पासलाई सदुपयोग गर्दै जाली चुमाएका थिए । पेनाल्टी बक्सभन्दा बाहिर सुमन लामालाई जावालाखेलका विदेशी खेलाडी ओलालेकान अफिज लावालले खराब फाउल गरेपछि पाएको फ्रिकिक अवसरलाई तेजले चलाखीपूर्ण तरिकाले उपलब्ध गराए । सो पासलाई भण्डारीले सदुपयोग गरे।

खेलको सुरुआतबाट पुलिसले विपक्षी पोस्टमा निरन्तर प्रहार गर्दै जावलाखेललाई दबाबमा राखेको थियो । खेलको २०औं मिनेटमा सान्तोस हेमरुनले पेनाल्टी बक्सभित्रबाट प्रहार गरेको बल जावलाखेलका किपर टेकेन्द्र थापाले उत्कृष्ट बचाउ गर्दै प्रहरीको अग्रता लिने मौका विफल पारेका थिए । फेरि ६ मिनेटपछि सुमन लामाको कडा प्रहारलाई गोलकिपर टेकेन्द्रले विफल पारे । एकपछि अर्को मौका बुन्दै गएको पुलिसको आक्रमण ३१औं मिनेटमा सफल बनेको थियो । तुलनात्मक हिसाबले पुलिस हाबी देखिएको खेलमा जावालाखेलका विदेशी खेलाडी अभिफजले १४औं मनेटमा गोल अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भए । ४४औं मिनेटमा कुलदीप कार्कीले पेनाल्टी बक्सभित्र एक्लैले एयर बल पाए पनि सदुपयोग गर्न नसक्दा जावालाखेलले बराबरीको मौका चुकाएको थियो।

पहिलो हाफमा भन्दा दोस्रो हाफमा केही सुधारिएको जावलाखेलले गोलका लागि मुभ बनाए पनि बललाई पोस्टको दिशा दिन सकेन । ६६औं मिनेटमा जावालाखेलका सुशीलकुमार यादवले कर्नरबाट प्रहार गरेको बल राकेश हमालले हेड गर्दा पोस्टमाथिको बारबाट बाहिरिएको थियो । ७५औं मिनेटमा पेनाल्टी बक्सभित्र रक्षकबाट खोस्दै प्रज्वल थापाले लिएको वान भर्सेस वान बललाई सदुपयोग गर्न जावालाखेल चुकेको थियो । अन्तिम १० मिनेट फेरि हाबी बनेको पुलिसले ८१औं मिनेटमा अग्रता लिने अर्को मौका सदुपयोग गर्न सकेन । अभिषेक रिजालले मध्यभागबाट पेनाल्टी बक्समा दिएको पासलाई सुमनले गुमाएका थिए।

खेलमा नेपाल पुलिसका तेज तामाङ म्यान अफ दी म्याच घोषित भए । उनले नगद दश हजार हात पारे । रणनीतिक हिसाबले खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले अभ्यासअनुसारको प्रदर्शन गर्न खेलाडी असफल भएको बताए।

‘जुन रणनीति र उद्देश्यका साथ हामी मैदान उत्रिएका थियौं, त्यसअनुसार हामीले राम्रो गर्न सकेनौं । यद्यपि हामी अंक लिन सफल भएका छौं । पहिलो खेल भएकाले म सन्तुष्ट नै छु,’ प्रशिक्षक थापाले भने, ‘टोलीमा अधिकांश युवा खेलाडीको संयोजन छ । मेरो रणनीतिमा उनीहरू सफल भएका छन् । हाम्रो समस्या अगाडिको हो । आजको खेलमा अगाडिको मुभमेन्ट सोचेजस्तो हुन सकेन।’

‘सेट पिसमा चलाखीपूर्ण तरिकाले नतिजा निकाल्ने रणनीति आजको खेलमा सफल भएको छ,’ प्रशिक्षक थापाले थपे ।
उता जावलाखेल युथ क्लबका प्रशिक्षक राजकुमार केसीले उद्देश्यअनुसार खेलाडीले खेल्न नसकेको बताए । ‘मुख्यतः हाम्रा खेलाडीले विपक्षी खेलाडी बुझ्न नसक्नु सबैभन्दा कमजोर पक्ष बन्यो । उनीहरू रणनीतिअनुसार खेले, तर पाएको मौकालाई सदुपयोग गर्न सकेनन्,’ प्रशिक्षक केसीले थपे, ‘पुलिसजस्तो बलियो टोलीसँग सामान्य अन्तरमा पराजित हुनु नै खेलको सन्तुष्ट पक्ष हो।’

लिगअन्तर्गत बिहीबारै सम्पन्न अर्को खेलमा फ्रेन्ड्सविरुद्ध थ्री स्टारलाई विजयी गराउन रञ्जन विष्टले १७औं र ८३आंै मिनेटमा बुद्ध चेम्जोङले गोल गरे । मैदानको बायाँ भागबाट विपक्षी खेलाडी छलाउँदै लगेको बललाई रञ्जनले पेनाल्टी बक्सभित्र किपरलाई बिट गराउँदै थ्री स्टारलाई अग्रता दिलाएका थिए भने बुद्ध चेम्जोङले पेनाल्टी बक्सभित्रको भली बललाई गोलमा परिणत गरेका थिए । सुरुआतबाटै दबाबमा रहेको जावलाखेलले खेलको ५९औं मिनेटमा मौका पाएको थियो।

जावलाखेलका सरोज योन्जनले ३० यार्ड टाढाबाट गरेको प्रहार विफल बनेको थियो । गोलकिपर एलन न्यौपानको हातबाट फुस्किए पनि रक्षक विष्णु सुनुवारले क्लियर गर्दा जावलाखेलले अग्रता लिने अवसर गुमाएको थियो । खेलको अन्त्यतिर जावालाखेल बराबरी गोलका लागि काउन्टरमा रहे पनि थ्री स्टारको डिफेन्स लाइन तोड्न सकेन । खेलमा फ्रेन्ड्सका बुद्ध चेम्जोङ म्यान अफ दी म्याच घोषित भए । उनले नगद दश हजार हात पारे । जितपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लामो समयपछिको खेल मिहिनेतका साथ खेलेकाले महत्वपूर्ण अंक लिन सफल भएको बताए।

‘पहिलो खेलमा हामी जित निकाल्न सफल भएका छौं, विपक्षी खेलाडी कस्तो छ भन्ने कसैलाई यकिन थिएन,’ प्रशिक्षक केसीले भने, ‘हामी आजको खेलमा विपक्षी जस्तो भए पनि शतप्रतिशत ध्यान दिएर खेल्ने उद्देश्यका साथ मैदान उत्रिएका थियौं । सोहीअनुसार खेल्दा सफल भयौं । समग्रमा म आजको खेलबाट सन्तुष्ट छु।’

यस्तै फ्रेन्ड्सका प्रशिक्षक रमेश महर्जनले नतिजा ननिकाले पनि खेलाडीको प्रदर्शनमा आफू सन्तुष्ट रहेको बताए ।
‘हामीसँग यु–२० देखि लिग नखेलका नयाँ खेलाडी छन् । उनीहरूमा अनुभव र मनोबल पनि कम छ । तैपनि थ्री स्टारसँग राम्रो खेले, म सन्तुष्ट छु,’ प्रशिक्षक महर्जनले भने, ‘आगामी खेलमा विदेशी खेलाडीलाई समावेश गर्दै टोली संयोजन गर्ने लक्ष्य छ । आशा गरौं, अर्को खेलमा हाम्रो टोलीले सुखद नतिजा निकाल्नेछ।’

लिगमा शुक्रबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा हिमालयन शेर्पाले विभागीय टोली एपिएफको सामना गर्नेछ भने दोस्रो खेल मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच हुनेछ । एन्फाकै मैदानमा दुवै खेल हुनेछन्।

प्रकाशित: २५ आश्विन २०७५ ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App