पोखरा - उपल्लो मुस्ताङमा पनि एयरपोर्ट बन्ने भएको छ । उचाइका हिसाबले यो नेपालकै दोस्रो अग्लो विमानस्थल हुनेछ।
विमानस्थल समुद्री सतहदेखि तीन हजार ६ सय मिटरको उचाइमा निर्माण हुनेछ । यो नेपालको सबैभन्दा अग्लो स्याङबोचे विमानस्थलभन्दा एक सय ४८ मिटर कम उचाइमा निर्माण हुनेछ । स्याङबोचे विमानस्थल तीन हजार सात सय ४८ मिटर उचाइमा रहेको छ।
तर, विमानस्थल निर्माणपछि सञ्चालनको हिसाबले यो विमानस्थल देशकै सबैभन्दा अग्लो स्थानमा रहेको विमानस्थल बन्नेछ । सबैभन्दा अग्लो स्थानको स्याङबोचे विमानस्थल भने पछिल्लो ६ वर्षयता अलपत्र परेको छ।
यसअघि नै जोमसोम एयरपोर्ट रहेतापनि अब बन्ने विमानस्थल भने उपल्लो मुस्ताङको ल्हो घेकर दामोदर कुण्ड गाउँपालिका–१ चाराङमा बन्नेछ।
सीमागत हिसाबले पनि यो सम्भवतः चीनको सबैभन्दा नजिकको विमानस्थल हुनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा विमानस्थल निर्माण गर्न लागिएको हो।
उक्त क्षेत्रका प्रदेशसभा सदस्य इन्द्रधारा ढाडु विष्टका अनुसार बुधबारदेखि विमानस्थल बनाउन सर्भेको काम थालिएको छ । केही समयभित्रै डिपिआर तयार गरेर मन्त्रालयमा बुझाउने र त्यसपछि निर्माणको काम सुरु हुने उनले बताए।
‘प्रारम्भिक अध्ययनमात्र सुरु गरिएको छ । मन्त्रालयले पनि यसलाई चासो दिएको छ, उत्तरी छिमेकीको नजिक र प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र तथा सडकमार्गलाई लक्षित गरेर विमानस्थल निर्माण गर्न लागिएको हो,’ उनले भने।
धेरै पहिलेदेखि यसको चर्चा भएपनि काम अघि बढ्न सकेको थिएन । बुधबार भएको सर्भे उद्घाटनमा प्राविधिक टोलीसँगै प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, ल्होघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्ट, वडाध्यक्ष टासीढिण्डु ठकुरी, पूर्वगाविस अध्यक्ष माया विष्ट लगायतको उपस्थिति थियो।
नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर पुष्पराज न्यौपानेको नेतृत्वको प्राविधिक टोलीले विमानस्थल निर्माणको लागि भौगोलिक सर्भेको काम सुरु गरेको हो । पर्यटन मन्त्रालयले मुस्ताङमा दुई ठूला परियोजना निर्माणको काम सुरु गर्न लागेको छ।
मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले विमानस्थलको आधारभूत अध्ययन मात्रै गरिएको जनाए । उनका अनुसार बुधबार प्राधिकरणका प्राविधिकको टोलीले जग्गा, हावाको वेग, उचाइ, अवतरणको दिशा, दोहोरो अवतरणको सम्भावना, स्थानीयमा पर्ने असरको विषयमा प्रारम्भिक अध्ययन गरिएको छ।
आधारभूत अध्ययन अनुसार पर्ती जग्गा, हावाको वेग पनि आवश्यकता अनुसारको नै रहेको छ । विमानस्थलको आधारभूत आवश्यकता पनि पूर्ण छ र उडानको अन्तर्राष्ट्रिय नियमको अनुकूल रहेको छ ।प्राविधिकको टोलीले यो प्रतिवेदन प्राधिकरणमा दशैतिहारको बिचमा बुझाउने र त्यसपछि मात्र औपचारिक रुपमा डिपिआरको कार्य अगाडि बढ्ने सांसद तुलाचनले जानकारी दिए ।उनका अनुसार विमानस्थल बन्ने जग्गाको क्षेत्रफलको चौडाई २ सय मिटर र लम्बाई ११ सय मिटर रहेको छ ।‘समथर जमिन छ, उडानका लागि पनि उपयुक्त छ, जोमसोममा जस्तो हावाको समस्या यहाँ छैन,’ तुलाचनले भने, ‘नियमित उडान पनि भर्न सकिन्छ, यसले उपल्लो मुस्ताङको विकासमा पनि सहयोग पु-याउनेछ।’
विष्टका अनुसार मुक्तिनाथ मन्दिरको गुरुयोजनाको काम र माथिल्लो मुस्ताङमा विमानस्थल निर्माणको काममा पर्यटन मन्त्रालयले विशेष ध्यान दिएको छ । अहिले मुस्ताङको जोमसोममा एयरपोर्ट छ । उपल्लो मुस्ताङका नागरिकहरु पैदल, खच्चड वा गाडीबाट आउजाउ गर्छन्।
प्रकाशित: २५ आश्विन २०७५ ०७:०४ बिहीबार