५ वैशाख २०८१ बुधबार
अर्थ

उत्पादनको दिगो विकास बजार पहुँच गर्न समझदारी

काठमाडौं - विपन्न वर्गका हस्तकला उद्यमीको उत्पादनको दिगो विकास र बजार सम्मको पहुँच स्थापना गर्न गरिवी निवारण कोष र चौधरी फाउन्डेसनबीच सहकार्य हुने भएको छ।

कोषद्वारा विभिन्न जिल्लामा गठन भएका उत्पादन समूहका सदस्यहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीलाई अझ सुदृढ एवं व्यवस्थित बजार प्रबद्र्धन गर्ने उद्देश्यले कोष र फाउन्डेसनबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझादारीमा कोषकातर्फबाट कार्यकारी निर्देशक नहकुल केसी र फाउन्डेसनको तर्फबाट प्रवन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गरे।

‘कोषमार्फत गठन भएका उत्पादन समूहका सदस्यहरुमार्फत उत्पादित हस्तकलाका सामग्रीहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बजार प्रबद्र्धन, साझा सुविधा केन्द्रको संस्थागत विकास गर्नुका साथै हस्तकलाकर्मी तथा कालीगढ़हरुको सीप तथा क्षमता अभिवृद्धि गरी राष्ट्रको दिगो तथा समावेशी आर्थिक विकासको चाहना र आवश्यकतालाई संयुक्त रुपमा योगदान गर्नु समझदारीको उद्देश्य हो,’ समझदारी पत्रमा भनिएको छ।

समझदारीअनुसार कोषको कार्यक्रमअन्तर्गत गठन भएका हस्तकला सम्बन्धी उत्पादनहरुलाई नवलपरासी जिल्लामा रहेको ‘शाश्वतधाम’ माअवस्थित संस्कृति सम्पदा भण्डारमा आवश्यकताअनुसार बिक्री स्टलमा राखिने छ।

कोषले कोषमार्फत गठन भएका साझा सुविधा केन्द्र, उत्पादन समूह तथा कालिगढ़हरुको विवरण फाउन्डेसनलाई उपलब्ध गराउने छ। कोषसँग रहेका नमुना उत्पादनहरुको प्रदर्शन तथा बजार प्रवद्र्धनका लागि फाउन्डेसनलाई उपलब्ध गराउने छ।

यसैगरी फाउन्डेसनले कोषद्वारा गठन भएकाउत्पादन समूहका सदस्यहरुमार्फत उत्पादित हस्तकलाका सामग्रीहरुको बजार प्रवद्र्धन गर्न सहयोग गर्नेछ । फाउन्डेसनले उक्त वस्तुहरुको ‘उन्नति बजार’मा बिक्री स्टलमार्फत बिक्री एवं प्रवद्र्धनमा सहयोग गर्नेछ । कोषले सहयोग गरेका उत्पादन समूहका सदस्यहरुले तयार गरेको वस्तु बिक्री गर्दा ‘नेपालको’ ब्रान्ड नामको प्रयोग गरिनेछ। यसैगरी फाउन्डेसनले हस्तकलाका सामान खरिद गर्दा साझा सुविधा केन्द्र वा उत्पादन समूहसँग अनिवार्य रुपमा सम्झौता गर्नेछ । खरिद मूल्य समसामयिक तथा पारदर्शी हुने पत्रमा उल्लेख छ।

‘कोषद्वारा गठन भएका उत्पादन समूहका सदस्यहरुमार्फत उत्पादित हस्तकलाका सामग्रीहरुलाई अझ सुदृढ एवं व्यवस्थित बजार प्रवद्र्धन गर्नुपर्ने आवश्यकता भएको र चौधरी फाउन्डेसनले यस्तै प्रकारका क्रियाकलापमार्फत विभिन्न समुदायमा गरिबी न्यूनीकरणका लागि काम गर्दै आइरहेको हुँदा आपसी सहकार्यका लागि यो समझदारी गरिएको छ,’ समझदारी पत्रमा छ।

कोषले हस्तकला कार्यक्रमअन्तर्गत जापान सामाजिक विकास कोषको आर्थिक सहयोग र विश्व बैंकको व्यवस्थापनमा ‘द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजना’मार्फत तेह्रथुम, धनुषा, कपिलबस्तु, दाङ, दैलेख, गोरखा र म्याग्दी जिल्लामा ढाका, मिथिला पेन्टिङ, सिक्की, अल्लो, माटोका भाँडा, राडीपाखी, बाँस, प्राकृतिक रंगाई, नेपाली कागज र ऊनी अन्तर्गतका सीप क्षेत्रमा १४ वटा साझा सुबिधा केन्द्र निर्माण गरी तीन सय ७५ उत्पादन समूहका सात हजार पाँच सय २७ हस्तकलाकर्मीको परम्परागत सीपलाई परिष्कृत गरी जीवनयापनका लागि दिगो आर्थिक वृद्धि गर्न सहयोग गर्दै आइरहेको छ । उत्पादन समूहका कुल सदस्यमध्ये ८५ प्रतिशत महिला छन्।

हालसम्म कोषको सहयोगमा ६२ जिल्लामा सञ्चालित कार्यक्रमअन्तर्गत करिब ३२ हजार सामुदायिक संस्था गठन भई, गरिब तथा बिपन्न समुदायका करिब १० लाख सदस्य आवद्ध छन् । कोषले समुदायको मागमा आधारित आयआर्जन, सामुदायिक पूर्वाधार निर्माण, सामुदायिक संस्थाका सदस्यहरुको क्षमता विकास तथा पकेट क्षेत्र विकास र सामुदायिक संस्थाहरुको संस्थागत विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

यस्तै २०५२ मा चौधरी ग्रुपद्वारा गैर नाफामुलक संस्थाका रुपमा स्थापित चौधरी फाउन्डेसनले दिगो सामाजिक रुपान्तरणको पहल स्वरूप पुनर्निर्माण, शिक्षा, स्वास्थ्य, जीविकोपार्जन तथा सीप विकास, उद्यमशीलता विकास आदि क्षेत्रमा विविध क्रियाकलाप सञ्चालन गर्दै आएको छ।

प्रकाशित: २५ आश्विन २०७५ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App