coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘स्काईवाक टावर’ ३ वर्षभित्र सञ्चालनमा आउने

काठमाडौं – नेपालमा बन्न लागेको दक्षिण एसियाकै पहिलो ‘स्काईवाक टावर’ आगामी ३ वर्षमा सञ्चालनमा आउने भएको छ। वन्डर्स नेपाल प्रालिले बुधवार ‘स्काईवाक टावर’को स्केच भिडियो सार्वजनिक गरी ३ वर्षभित्र सञ्चालनमा ल्याउने जानकारी दिएको हो।

वन्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेलका अनुसार राजधानीको कमलादीस्थित शान्तिकुञ्जमा रहेको १३.२ रोपनी क्षेत्रफलमा सिसाको विशाल टावर बन्ने छ। २ अर्ब लागतमा सिसाको टावर बनाउन कम्पनीले २३ वर्षका लागि जग्गा भाडामा लिइसकेको छ। ‘स्काईवाक टावर’को शिलान्यास आगामी मंसिरमा हुनेछ। स्काईवाक टावरमा दिनमा ६ हजार जना चढ्न सक्छन्। सुरुवातमा एक हजार चढाउने लक्ष्य छ आयोजकको।

टावर निर्माणमा स्ट्रगेस क्यानाडा, इभर प्रोस्पर चीन र समर ग्रुप नेपाल परामर्श साझेदार रहेका छन्। सिसाको टावरमा पार्किङ, हेल्थ क्लव, रेष्टुरेण्ट, स्विमिङ पुल, एयर रेष्टुरेन्ट, पसल र एयर क्वल सञ्चालन हुने अध्यक्ष पोखरेलले जानकारी दिए।

बुधवार आयोजित भिडियो स्केच सार्वजनिक कार्यक्रममा वन्डर्स नेपालका सदस्य सन्जिव रोकाहाले ‘स्काईवाक टावर’लाई समृद्धिको स्तम्भको पहिचानको रुपमा काठमाडौंको मुटुमा ठड्याउने बताए। ‘स्काईवाक टावर’ निर्माणपछि काठमाडौंमा २० देखि ३० प्रतिशतसम्म पर्यटक बढ्ने उनले दाबी गरे।

सरोकारवालाले दिए शुभकामना

कार्यक्रममा सरोकारवालाले परियोजना सफलताको शुभकामना दिए। नेकपाका नेता राजन भट्टराई, कांग्रेसका उमेश श्रेष्ठ, भीमसेनदास प्रधान, प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित, पूर्व अर्थमन्त्री रामशरण महत, खेलकुदमन्त्री जगत विश्वकर्माले यो परियोजनाले देशको आर्थिक समृद्धिको अभियानमा टेवा पुग्ने बताए।

पूर्वअर्थमन्त्री महतले परदेशमा सीप सिकेर देश विकास र समृद्धिका लागि भिजन लिएर आएकोमा धन्यवाद ज्ञापन गरे। ‘यो परियोजना देशकै नमुना हो। दुई वर्षमै सम्पन्न गरेर ३ वर्षमा अपरेशनमा ल्याउने भनिएको छ। समयमै सक्यो भने अर्काे नमुना हुन्छ। किनकी हाम्रो देशमा समयमै कुनै काम हुँदैनन्’, उनले भने। महतले भविष्यमा आउनसक्ने ट्राफिक जामलाई ध्यान दिन पनि आग्रह गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।   

खेलकुद मन्त्री विश्वकर्माले ‘स्काईवाक टावर’ निर्माणमा सरकारबाट पूर्ण सहयोग हुने भन्दै सरकारी निकायसँग परामर्श गरेर अगाडि बढाउन सुझाव दिए। ‘देश बनाउने नेपालीले नै हो। साँझा संकल्पबाटै देश समृद्ध हुने हो’, उनले भने। गौरव गर्न सक्नेगरी निर्माण कार्यलाई समयमै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए।

‘सरकारको २० लाख पर्यटक ल्याउने अभियानलाई सहयोग गर्छाैं’

वन्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेलले ‘स्काईवाक टावर’को निर्माणले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए। ‘सरकारले २० लाख पर्यटक पु-याउने भनेको छ। त्यो लक्ष्यलाई यसले सहयोग गर्छ’, उनले भने।

पोखरेलले वन्डर्स नेपाल संसारमा सम्भव भएको तर नेपालमा नभएको परियोजनाहरु अघि बढाउने पनि बताए। उनले ‘स्काईवाक टावर’ शिलान्यासकै दिन अर्काे ठूलो परियोजनाको घोषणा गरिने पनि बताए।

प्रकाशित: २५ आश्विन २०७५ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App