१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई प्रदेशका दुई पर्यटकीय सहर जोड्न पर्यटक बस सेवा

बिहीबार पाल्पाको तानसेनदेखी पोखराका लागि छुटेको पर्यटक बस। तस्वीरःमुक्तिप्रसाद न्यौपाने/नागरिक

पाल्पा – पर्यटकीय सहर तानसेनदेखी पोखरासम्म सुविधासम्पन्न सिधा बस सेवा सञ्चालनमा आएको छ। प्रदेश ५ र प्रदेश ४ को मुख्य पर्यटकीय जिल्लाहरु पाल्पा र कास्की क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले संजोग ट्राभल्स प्रालिले एसी जडान भएका सुविधा सम्पन्न बसहरु संचालनमा ल्याएको हो।

सेवामुखी व्यवसाय सञ्चालनका लागि हरियो प्लेटको पर्यटक बस सञ्चालनमा आएको हो।  सुपर डिलक्स अत्याधुनिक सुविधा भएका गाडी मार्फत पनि सेवा सुरु गरिएको हो। सरोकारवालाको बैठकबाट निर्णय गरि बिहिबार पोखरा र तानसेनबाट एकैसाथ बस सेवाको सुरुवात गरिएको छ। सन्जोग टुर्स एण्ड ट्राभल्स पोखराले दैनिक रुपमा आतेजाते बस संचालन गरेको हो। अब प्रत्येक दिन बस पोखराको पर्यटकबाट र पाल्पामा टुँडिखेलबाट एकै समय बिहान ८ बजे छुट्नेछन्। जसको भाडादर ६ सय रुपैयाँ तय भएको छ। बिहीबार तानसेनको टुँडिखेलबाट चारजना यात्रु लिएर ग १ प १८८ नम्बरको बस पोखराका लागि छुटे छ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पाल्पा–पोखरा तथा पोखरा–पाल्पा  पर्यटकीय बस संचालनले दुई प्रदेशका दुई जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। पाल्पाली समाज पोखराले तानसेन नगरपालिकाको सहकार्यमा सिधा बस सेवा सुरु गरेको हो।

समाजका प्रतिनिधि डम्बर बस्यालले सबैले निःस्वार्थ र सेवाभावले काम गरेमा समृद्धि र विकास सम्भव भएको बताए। उनले दुई सहरबीच शुरु पर्यटकीय बस सेवाले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए। सन्जोग ट्राभल्सका अध्यक्ष सनतकुमार श्रेष्ठले सिद्धार्थ राजमार्गको पर्यटकीय क्षेत्रमा सुरक्षित र भरपर्दो बस नियमित रुपमा संचालन गर्ने बताए। संजोग ट्राभल्सका व्यवस्थापक वसन्त बासकोटा भन्छन्, ‘बस ३१ सिटे वातानुकूलित रहेको छ। भाडादर ६ सय रुपैयाँ तय गरेका छौं। जसमा खानेपानी र बदाम समेत व्यवस्था गरिएको छ।’

प्रदेश ५ का प्रदेशसभा सदस्य डा. पुरनमान बज्राचार्यले पर्यटकीय बस सेवाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए। उनले युवाजमात उद्यमशीलतामा लागेको देख्दा खुसी हुनुपर्ने अवस्था आएको बताउँदै श्रम गरेर खाने बानी भयो भने हरेक क्षेत्रमा सफलता मिल्ने बताएका थिए। तानसेनको पाल्पा टुर एण्ड ट्राभल्स प्रालि आन्दोलनचोक र पोखराको एयरपोर्ट अगाडीबाट हरेक दिन बस छुट्ने संजोग ट्राभल्सले जनाएको छ।

प्रकाशित: २५ आश्विन २०७५ ०५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App