४ वैशाख २०८१ मंगलबार
खेल

प्रदेश पाँचलाई दोहोरो सफलता

बागलुङ – गलकोटमा जारी २२औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भए । दोस्रो दिन प्रदेश नम्बर ५ ले दोहोरो जित दर्ता गर्दा विभागीय टिम एपिएफ र  गण्डकी र प्रदेश ६ ले आआफ्नो खेल जितेका छन्।

बुधबार भएको समूहचरणको खेलमा समूह ‘ए’ तर्फ गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । गण्डकीले कर्णालीलाई २५–३, २५–१२ र २५–७ ले पराजित गरेको हो । प्रदेश ६ ले पनि कर्णाली प्रदेशलाई ३–० कै सोझो सेटमा पराजित गरेको छ । प्रदेश ६ ले कर्णालीविरुद्ध २५–१२, २५–२१ र २५–१० को जित हात पारेको हो।

समूह ‘ए’ तर्फ विभागीय टोली एपिएफले आर्मीमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको छ । बलियो एपिएफले आर्मीविरुद्धको पहिलो सेट १८–२५ ले गुमायो । त्यसपछिको दुवै सेट सहजै २५–१८ र २५–१९ ले आफ्नो पक्षमा पारेको एपिएफले रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको चौथो सेट २४–२६ ले गुमाएपछि खेल पाँचाैं सेटमा लम्बिएको हो।

निर्णायक सेट एपिएफले १५–१२ ले आफ्नो पक्षमा पार्दै ३–२ को संघर्षपूर्ण जित निकाल्न सफल भयो । बुधबार नै भएको समूह ‘बी’ तर्फको समूहचरणको खेलमा प्रदेश नम्बर ५ ले दोहोरो जित दर्ता गर्दा ३ नम्बर प्रदेशले पनि एक जित हात पारेको छ । ३ नम्बर प्रदेशले २ नम्बर प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूहचरणमा खाता खोलेको हो । ३ नम्बरले २ नम्बरलाई २५–६, २५–१३ र २५–१२ को सोझो सेटमा पराजित गर्यो।

३ र २ नम्बर प्रदेशलाई पराजित गर्दै ५ नम्बर प्रदेशले दोहोरो जित हात पा¥यो । प्रदेश नम्बर ५ ले प्रदेश नम्बर २ लाई २५–११, २५–३ र २५–६ को सोझो सेटमा पराजित गरेको थियो भने प्रदेश नम्बर ३ लाई २५–१६, २५–१६ र २५–१६ ले नै पराजित गरेको हो।

३ विभागीय टिम र ६ ओटा प्रदेशले सहभागिता जनाएको उक्त प्रतियोगितामा बिहीबार समूह ‘ए’ तर्फ प्रदेश ६ विरुद्ध त्रिभुवन आर्मी क्लब, एपिएफविरुद्ध गण्डकी प्रदेश, प्रदेश ६ विरुद्ध गण्डकी प्रदेश र कर्णाली प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् भने समूह ‘बी’ तर्फ प्रदेश नम्बर ३ विरुद्ध नेपाल पुलिस क्लब र प्रदेश नम्बर २ विरुद्ध नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने जिल्ला भलिबल संघ बागलुङका सचिव सन्दीप पन्तले जानकारी दिए।

नेपाल भलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन र गलकोट नगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको यो  प्रतियोगिताको विजेताले ५०, दोस्रोले ३० र तेस्रोले २० हजार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: २५ आश्विन २०७५ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App