७ वैशाख २०८१ शुक्रबार
समाज

टिकट नपाउँदा यात्रुको बिचल्ली

वीरेन्द्रनगर बसपार्क। तस्बिर : नागरिक

सुर्खेत - तिलागुफा गाउँपालिका, कालिकोटका पदमराज न्यौपाने दसैं मनाउन घर जान नेपालगञ्जबाट सुर्खेत झरेको दुई दिन भइसक्यो। बसको टिकट नपाउँदा उनी घर कहिले पुग्ने हो टुंगो छैन। ‘अघिल्ला वर्षमा यस्तो हुँदैनथ्यो’ न्यौपानेले भने, ‘बसपार्क धाइराखेको छु, टिकट पाएको छैन्।’ नेपालगञ्जमा उच्च शिक्षा अध्ययन गर्दै गरेका उनी बेखर्ची भएका छन्। ‘सुर्खेत नरोकिईकनै घर जाने तयारी साथ आएको थिएँ, यहाँ तीन दिन होटलमा बस्नुप-यो’ उनले भने, ‘गोजीमा भएको पैसा सकियो, साथीहरुसँग सापट मागेर काम चलाइराखेको छु ।’ उनले बिहीबार दिउँसोको टिकट काटेका छन्।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर साबिक कर्णालीको ‘गेटवे’ हो । दैलेख, कालिकोट, जुम्ला र मुगुका लागि सदरमुकाम वीरेन्द्रनगर भएरै यात्रा गर्नुपर्छ। यसै वर्षदेखि सुदूरपश्चिम प्रदेशको अछाम र बाजुरा पनि सुर्खेतसँग जोडिएको छ। ती जिल्ला जाने यात्रुले अहिले वीरेन्द्रनगर भरिएको छ। रोजगारीका लागि भारत गएका अछामका टंक भण्डारी घटस्थापनाको दिन घर पुग्न चाहन्थे। मंगलबार बेलुका वीरेन्द्रनगर आइपुगेका उनले बुधबारको टिकट पाएनन् । ‘कम्तीमा एक दिनअघि टिकट लिनुपर्ने रहेछ’, उनले भने, ‘घटस्थापनाकै दिन घर पुग्ने लक्ष्य साथ आएको थिएँ, टिकट नपाएर एक दिन ढिलो हुने भयो।’

प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगुको गमगढीसम्म २९४ किलोमिटरका लागि सरकारले निर्धारण गरेको भाडा दर १८८० हो तर व्यवसायीले भने यात्रुबाट २५ सय रुपैयाँ असुल्ने गरेका छन्।

व्यवसायीले दसैंका लागि कर्णाली राजमार्गमा यातायातका साधन थप गरेको जनाए पनि यात्रुहरु आफूले भनेको समयमा यात्रा गर्न पाउँदैनन्। कर्णाली राजमार्गमा अहिले दैनिक एक सयको हाराहारीमा ठूला तथा साना यात्रुबाहक सवारीसाधन सञ्चालन भइराखेका छन् । सुर्खेतदेखि मुगु गमगढीसम्मको कर्णाली राजमार्गको दुरी २९४ किलोमटर छ। ‘अघिल्लो वर्षको यहीं सिजनमा हामीले कर्णाली राजमार्गमा ४० वटा बस सञ्चालन गरेका थियौं, यो वर्ष ६० को हाराहारीमा यात्रुबाहक बस सञ्चालन भइराखेका छन्’, मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघका जनक वलीले भने, ‘यो वर्ष यात्रुहरुको चाँप अत्याधिक भएकाले थेग्नै गाह्रो भइराखेको छ।’

कर्णालीका अधिकांश अभिभावकले छोराछोरीलाई अध्ययनका लागि सुर्खेत, नेपालगञ्ज, काठमाडौंलगायत ठूला सहरमा पठाउने गरेका छन्। युवा जनशक्ति रोजगारीका लागि कालापहाड (भारत) जाने गरेको छ। ‘दसैंमा सबैलाई घर जानुपर्ने भएकाले यात्रुको चाप हुन्छ’, उनले भने, ‘यातायात समिति र साधनहरु थपिदाँ पनि सहज रुपमा यात्रुहरुले यात्रा गर्न पाएका छैनन्।’ बाहिरी जिल्लाहरुबाट पहाडतिर जाने यात्रुहरु यातायातका साधन नपाएर कम्तीमा एक दिन वीरेन्द्रनगरमा बस्नुपर्ने बाध्यता छ।

सास्तीमाथि सास्ती
यात्रुलाई बसको टिकट पाउन जति समस्या झेल्नुपर्छ, कर्णाली राजमार्गको यात्रा झन पीडादायि हुन्छ। १० वर्षअघि गरिएको ओटासिल प्रविधिको कालोपत्रे उप्किएको छ । साँघुरो र जताततै खाल्डाखुल्डीका कारण राजमार्गको यात्रा यात्रुहरुका लागि पीडादायी हुन्छ। त्यसमाथि ‘मृत्यु मार्ग’ को परिचय पाएको कर्णाली राजमार्गमा रात्री यात्रा प्रतिबन्ध छ।

दसैं–तिहारजस्ता ठूला चाँडपर्वमा गन्तव्यतर्फ जाने यात्रुहरु एक त टिकट नपाएर हैरान हुन्छन्, त्यसमाथि कर्णाली राजमार्गको रात्री प्रतिबन्धले थप हैरानी खेप्नुपर्छ। सुर्खेतबाट जुम्लासम्मको दुरी जम्मा २३२ किलोमिटर हो। यो दुरी पार गर्न बसमा १४ देखि २० घण्टासम्म लाग्छ। ‘साँघँरो र खाल्डाखुल्डीका कारण बिहान छुटेका बसबाहेक अरु बाटोमै रोक्नुपर्छ’, बसचालक रमेश विकले भने, ‘चाँडपर्वका बेला राजमार्गमा धेरै सवारी हुने भएकाले समयमै गन्तव्यसम्म पुग्न मुस्किल हुन्छ।’ भिरालो र साँघुरो सडकका कारण एउटा गाडी बिग्रिए राजमार्ग नै जाम हुन्छ।

कर्णाली राजमार्गमा दुर्घटना बढ्न थालेपछि तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्णालीमा सवारी चलाउन प्रतिबन्ध लगाएको थियो। अहिले त्यसलाई छोट्याएर राति १० बजेदेखि बिहान साढे ५ बजेसम्म कर्णाली राजमार्गमा सवारी साधन चलाउन प्रतिबन्ध लगाइएको छ।

‘रात्रीकालीन प्रतिबन्धले गर्दा बिहान ११ बजेपछि छुटेका प्रायः सवारीसाधन कालिकोट सदरमुकाम मान्मासम्म पुग्न पनि मुस्लिक हुन्छ’, कांक्रेबिहार यातायात व्यवसायी संघका सचिव रमेश सापकोटाले भने, ‘साँघुँरो र जीर्ण सडक तथा रातिको समयमा सवारीसाधन नचल्ने भएकाले पनि यात्रुहरुलाई समस्या हुने गरेको छ।’

महंगो भाडा
प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगुको गमगढीसम्मको २९४ किलोमिटरको सरकारले निर्धारण गरेको भाडा दर १८८० हो। व्यवसायीले भने यात्रुबाट २५ सय रुपैयाँ असुल्ने गरेका छन्। ‘दसैंको मौका छोपेर टिकटमा कालोबजारी हुने गरेको छ’, यात्रु रमेश मल्लले भने, ‘काउन्टरमा टिकट पाइँदैन्, दलालले महंगोमा बिक्री गर्छन्।’ यस्तै साना सवारीसाधनले पनि सरकारले निर्धारण गरेभन्दा बढी भाडा लिने गरेका छन्।

कालिकोटसम्मको एक सय ५० किलोमिटर सडकखण्डमा साना सवारीसाधनले १५ सय रुपैयाँ भाडा लिन्छन्। ‘अरु बेला आठ सयमा कालिकोट पुगिन्थ्यो’ कालिकोटकी अनिता चौलागाईंले भनिन्, ‘दसैैं भएर होला १५ सयमा टिकट काट्नु प-यो।’ कालिकोटको मान्मासम्म सरकारले ६६९ रुपैयाँ भाडा कायम गरेको छ।

प्रकाशित: २५ आश्विन २०७५ ०३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App