७ वैशाख २०८१ शुक्रबार
समाज

नौ सय किशोरीले आज रेडियो बहस गर्ने

काठमाडौं - सातौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर असोज २५ मा देशभरिका ९ सय किशोरीले आफ्नै सवालमा एकैपटक बहस गर्ने भएका छन्। किशोरीले सामुदायिक रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखिएका बालिका र किशोरीका समस्या तथा तिनको न्यूनीकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारी गराउनेछन्।

कार्यक्रममा ३ सय किशोरी एक दिनका लागि रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् भने प्रत्येक सामुदायिक रेडियोमा २ जना किशोरी अभियन्ता अतिथिका रूपमा बहसमा सहभागी हुनेछन्। जसमा देशभरिका ९ सय किशोरी एकै दिन रेडियोमा प्रवेश गर्नेछन्। सामुदायिक रेडियोको अगुवाइमा जिल्लाका किशोरी अभियन्तालाई अतिथि बनाएर किशोरीबाटै रेडियो कार्यक्रम सञ्चालन हुनेछन्। समुदायमा बालबालिकाको हकहित एवं संरक्षण तथा बालिका एवं किशोरीको जीवन परिवर्तन गर्न योगदान दिँदै आएका किशोरीले प्राप्त गरेका सफलता एव सिकाइबारे जानकारी आदानप्रदान गर्ने र विभिन्न निकायले निर्वाह गर्नुपर्ने भूमिकाबारे कार्यक्रममा छलफल हुनेछ।

बालबालिकाको अधिकार र किशोरीको समानताका लागि क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेसनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र सिआइएनको संयोजनमा देशभरका ३ सय रेडियोमार्फत यो ‘गल्र्स टेकओभर’ गर्न लागिएको हो। किशोरीलाई नियमित कामभन्दा फरक भूमिका वहन गर्न लगाएर उनीहरूका समस्या र मुद्दाबारे सरोकारवाला निकाय र जनतालाई अवगत गराउने र आगामी दिनमा पनि चेतनामूलक अभियानमा किशोरीको संलग्नता बढाउनु कार्यक्रमको उद्देश्य रहेको सामुदायिक रेडियो प्रसारक संघले जनाएको छ।

‘टेकओभर’ मा सहभागी हुँदा किशोरी थप प्रेरित भई समाजमा बालिका, किशोरी र महिलाविरुद्ध हुने हिंसा, दुव्र्यवहार, विभेदजस्ता समस्या समाधानका लागि उनीहरूकै नेतृत्वमा प्रभावकारी अभियान सञ्चालन हुने अपेक्षा गरिएको छ । गत वर्ष गरिएको गल्र्स टेकओभरले किशोरीको क्षमता अभिवृद्धि भई आफ्नो सवाल उठाउन सक्षम देखिएकाले यसपटक पनि रेडियो कार्यक्रम गर्न लागिएको प्लान इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले बताए।

गत वर्षको ‘टेकओभर’ मा सहभागी भएका झन्डै ४० जना किशोरी अहिले विभिन्न रेडियो स्टेशनमा नियमित रूपमा कार्यक्रम प्रस्तोता भई काम गरिरहेका छन्। अकोराबका अध्यक्ष सुवास खतिवडाले कार्यक्रममार्फत नेपालमा ९ सय जना किशोरीले हिंसाविरुद्ध आवाज उठाउनु नयाँ प्रयास भएको बताए। प्रदेशनम्बर १ को संखुवासभास्थित रेडियो खाँदबारीमा बहस सञ्चालन गर्न लागेकी कल्पना तामाङले आफ्नो जिल्लामा स्थानीय तहले बालिका तथा किशोरीका समस्या संवेदनशील भएर नसुनेकाले यही विषय आफूले रेडियो बहसमा उठाउन लागेको बताइन्। प्रदेश २ को सिरहास्थित फूलबारी एफएममा बहस कार्यक्रम सञ्चालन गर्न लागेकी कुमारी महतोले तराई मधेसमा भइरहेको बालविवाह र दाइजोका विषयमा बहस चलाउने बताइन्। बालविवाह र दाइजोजस्ता समस्या अन्त्यका लागि किशोरीको भूमिका महत्वपूर्ण भएकाले यो बहस निकै उपयोगी हुने उनको विश्वास छ। सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा रेडियो जनप्रियमा किशोरी बहस गर्न लागेकी काजल रैकाले छाउपडी र मदिराका कारण महिला र किशोरीले भोग्नुपरेका समस्यालाई कार्यक्रमको विषय बनाउने बताइन्।

देशका ७७ वटै जिल्लाका ३ सय सामुदायिक रेडियोमा ९ सय किशोरीले एकै दिन किशोरी तथा बालिकाको मुद्दामा छलफल गर्ने योजना रहेको अकोराबले जनाएको छ।

प्रकाशित: २५ आश्विन २०७५ ०३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App