७ वैशाख २०८१ शुक्रबार
खेल

पूर्वाधार निर्माणमा कमसल सामग्री

नेपालगन्ज रंगशालामा निर्माणाधीन खेलकुद पूर्वाधारमा प्रयोग गरेको भनिएको कमसल इँटा। तस्बिर : अर्जुन ओली/नागरिक

नेपालगन्ज - आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माणाधीन पूर्वाधारको काममा कमसल सामग्री प्रयोग भएको छ। प्रतियोगिताका लागि गत वर्षदेखि बाँके, दाङ र बर्दियामा विभिन्न पूर्वाधार बनाउने काम चलिरहेको छ। ठेकेदार र प्राविधिकको मिलेमतोमा कमसल सामग्री प्रयोग गरिरहेको पाइएको हो। मध्यपश्चिममा मंसिर २१ देखि २९ गतेसम्म गर्ने भनिएको प्रतियोगिता पूर्वाधार निर्माणको ढिलाइले स्थगित भई आगामी माघ÷फागुनमा गर्ने प्रस्ताव गरिएको छ।

उक्त प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले बाँकेमा नेपालगन्ज रंगशाला पुनःनिर्माण, पौडी पोखरी, सुटिङ रेन्ज, भारोत्तोलन एकेडेमी, जुडो एकेडेमी, भलिबल स्टेडियम तथा बर्दिया र दाङमा पनि खेलकुद पूर्वाधार निर्माण गरिरहेको छ। रंगशाला परिसरमा निर्माणाधीन फुटबल ग्राउन्ड, ट्य्राक, नाला, प्याराफिटलगायतको काम कमसल भएको प्रत्यक्षदर्शी बताउँछन्। उक्त कामको ठेक्का सुनकोसी÷वल्र्डवाइज जेभीले ठेक्का लिएको बताइएको छ।

ठेकेदारले कमसल इँटा, मसला प्रयोग गर्नुका साथै मापदण्डविपरीतको निर्माण कार्य गरिरहेको प्रत्यक्षदर्शीको भनाइ छ। ठेकेदारले खुलेआम ३ नम्बरको (पिला) इँटा, सिमेन्ट र बालुवाबाट १–७ सम्मको मसला बनाएर प्रयोग गरिरहेको अन्तर्राष्ट्रिय पूर्वखेलाडी समसुद्धिन सिद्धिकीले सुनाए। ठेकेदारले पूर्वाधार निर्माणका लागि कमसल खालको चाइनिज इँटा प्रयोग गरिरहेको देखिन्छ।

‘ठेकेदारले मनपरी रूपमा कमसल काम गरिरहेको छ, खेलकुदका पदाधिकारीलाई कुनै मतलब छैन,’ उनले भने ‘यही स्थितिमा पूर्वाधार बनाइयो भने राज्यको लगानी बालुवामा पानी हालेझैं हुनेछ।’ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माण गर्ने नाममा माथिदेखि तलसम्मका खेलकुद पदाधिकारी, ठेकेदार र प्राविधिक सबैको मिलेमतो प्रस्ट रूपले देखिएको पुर्वखेलाडी सिद्धिकी बताउँछन्।

ठेकेदारले कमसल इँटा प्रयोग गर्न थालेपछि खेलकुदका कर्मचारीले पनि गुणस्तरमाथि प्रश्न उठाएका थिए। कर्मचारीले नै इँटा र मसलाको गुणस्तरप्रति असन्तुष्टि जनाएपछि ठेकेदारका प्रतिनिधिले ‘भूलवश’ कमसल इँटा आएको भन्दै अब नल्याउने प्रतिबद्धता जनाए। तर, कमसल इँटा र मसला प्रयोग गर्ने क्रम रोकिएको छैन। खेलकुद पूर्वाधारको कामप्रति बाँकेका खेलाडी, प्रशिक्षक, खेलप्रेमी तथा शुभचिन्तक सन्तुष्ट छैनन्।

‘आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधार बनिरहेका छन्, तर ठेकेदारले आफ्नै शैलीबाट काम गरिरहेको छ, जस्तो काम गरे पनि ठेकेदारलाई छुट छ,’ एक कर्मचारीले भने ‘सम्पूर्ण कामको निगरानी माथिबाटै हुन्छ, हामी यसको नजिक छैनौं।’ राखेपले पूर्वाधार निर्माणको काम माथिबाटै गरिरहेकाले कामको राम्रो र नराम्रो दोष आफूहरूले लिन नसक्ने खेलकुद कर्मचारी बताउँछन् । ठेकेदारले पौडी पोखरीमा पनि मापदण्डविपरीत काम गरेको ती कर्मचारीले सुनाए। ‘स्विमिङ पुलका पिसिसी मापदण्डविपरीत छ, अझै पनि चेकजाँच गर्न सकिन्छ,’ उनले भने।

एकातिर कामको गुणस्तरप्रति प्रश्न उठेको छ, भने अर्कोतिर तोकिएको समयभित्र सबै पूर्वाधार सम्पन्न हुनेमा आशंका उत्पन्न भएको छ । अहिलेसम्म कुनै पनि पूर्वाधार सम्पन्न भएका छैनन्। अहिलेसम्म सुटिङ रेन्ज, रंगशाला, भारोत्तोलन एकेडेमी, भलिबल स्टेडियम, जुडो एकेडेमी,  कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान, दाङको लमहीस्थित क्रिकेट मैदान, बेलझुन्डीमा रंगशाला निर्माण, बर्दियाको बाँसगढीमा कबड्डी खेलको कभर्ड हल, भुरीगाउँमा खो–खो खेलको कभर्ड हल, गुलरियामा सेपाकताक्रोको कभर्ड हल, ठाकुरद्वारामा आर्चरी (धनुषबाण) खेल मैदान निर्माण कार्य अधुरै रहेको छ।

केही पूर्वाधार निर्माणका लागि भर्खरै टेन्डर स्वीकृत भएको छ, भने कयौं पूर्वाधार आधा मात्रै सम्पन्न भएका छन्।  पूर्वाधार निर्माणको काम समयमा सम्पन्न हुनेमा आशंका रहेकाले माघ महिनामा पनि प्रतियोगिता हुनेमा आशावादी नरहेको कतिपय खेलकुद पदाधिकारी नै बताउँछन्।

निर्माणाधीन कामको अनुगमन गर्न राखेपका केन्द्रीय सदस्य विनोद मैनालीको संयोजकत्वमा एक समिति क्रियाशील छ । समितिले गलत काम गर्ने ठेकेदारलाई सचेतसम्म गराउन सकेको छैन। स्थानीय स्तरबाट आएका सुझाव र गुनासोका आधारमा आपूmहरू सचेत रहेको उनले बताए। ‘खेलकुदको पूर्वाधारमा कमसल सामग्री प्रयोग भयो भनेर सचेत गराइएको छ,’ उनले भने ‘हामी प्राविधिक होइनौं, यदि निर्माणमा खटिएका प्राविधिकको मिलेमतोमा तलमाथि भएको रहेछ भने संलग्नहरू कारबाहीका भागीदार हुनेछन्।’

मैनालीका अनुसार आठौं खेलकुद प्रतियोगिताका लागि १ अर्ब २० करोड रूपैयाँ लगानी गरिनेछ। ‘यसमध्ये ८५ करोड जति रकम पूर्वाधार निर्माणको काममा खर्च हुन्छ, अहिलेसम्म पूर्वाधार निर्माणमा ३५/४० करोड रकम खर्च भइसकेको छ,’ मैनालीले भने।

क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका अध्यक्ष भीम ओलीले निर्माण कार्यको गुणस्तरबारे गुनासो सुनेपछि सम्बन्धित प्राविधिक र कर्मचारीलाई सचेत गराइएको बताए। ‘दसौं हजार इँटा ल्याउँदा एक÷दुई सय पिस कमसल आएको हुन सक्छ,’ उनले भने ‘खेलकुदका कुनै पनि पूर्वाधारमा कमसल निर्माण हुन दिने छैनौं।’ पूर्वाधार निर्माणका लागि अर्थ मन्त्रालयले रकम नदिँदा बीचमा ढिलाइ हुन पुगेको अध्यक्ष ओलीले सुनाए। आठौं खेलकुदका पूर्वाधार कमसल निर्माण हुन नदिने दायित्व सबैको भएको उनले बताए।  

आठौं राष्ट्रिय खेलकुदका लागि लक्षित पूर्वाधार निर्माणका लागि स्थानीय स्तरबाट मात्र ६ जना प्राविधिकलाई खटाइएको उनले जनाए। राखेपका सब–इन्जिनियर कर्म शाहीले खेलकुद पूर्वाधारको काममा अहिलेसम्म गुणस्तर कायम रहेको दाबी गरे। ‘निर्माण सामग्रीको ल्याब टेस्ट गरेर नै प्रयोग गर्न लगाएका छौं, गुणस्तरमा तलमाथि हुन दिएका छैनौं,’ उनले भने।

प्रकाशित: २५ आश्विन २०७५ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App