coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

हेमन्त चुक्दा च्यासलले अंक बाँड्यो

मछिन्द्रका अजित गुरुङसँग बल खोस्दै च्यासलका विमल घर्तीमगर (निलो) । तस्बिरः विजय गजमेर नागरिकमछिन्द्रका अजित गुरुङसँग बल खोस्दै च्यासलका विमल घर्तीमगर (निलो) । तस्बिरः विजय गजमेर/नागरिक

काठमाडौं – राष्ट्रिय टोलीका सदस्य हेमन्त थापामगर पेनाल्टीमा चुकेपछि च्यासल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन फुटबलमा बुधबार मच्छिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ । नेपाली राष्ट्रिय टोलीले बंगलादेशको बंगबन्धु गोल्डकप प्रतियोगितामा सहभागिता जनाएसँगै स्थगित भएको ‘ए’ डिभिजनको खेलमा च्यासल र मच्छिन्द्रले गोलरहित बराबरी खेलेका हुन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा भएको खेलको ७६औं मिनेटमा विमल घर्तीमगरलाई मच्छिन्द्रका अन्जन देवकोटाले पेनाल्टी बक्सभित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो । हेमन्त थापामगरको प्रहार मच्छिन्द्रका गोलकिपर दीप कार्कीले सहजै बचाउँदा च्यासलले अग्रता लिने मौका गुमाएको थियो । खेलअवधिभर बल नियन्त्रणमा राख्दै आक्रमण गरे पनि च्यासल नतिजा निकाल्नबाट चुक्यो । मच्छिन्द्रको बलियो रक्षापंक्तिले च्यासलका केही सुन्दर मौकालाई असफल पारेको थियो।

लिगमा डेब्यु गरेका राष्ट्रिय टोलीका सदस्य विमल घर्तीमगरको टोली च्यासलले पहिलो हाफबाट नै मच्छिन्द्रलाई दबाबमा राखेको थियो । तर च्यासलको अग्रपंक्तिले सही फिनिसिङ गर्न नसक्दा अंक बाँड्न बाध्य बनेको हो ।
पाँच वर्षपछि आयोजना भएको लिगमा आफ्नो टोलीले राम्रो प्रदर्शन गर्न नसकेको च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले बताए।

च्यासलका हेमन्त थापामगरको पेननाल्टी प्रहार मच्छिन्द्रका गोलकिपर दीप कार्कीले सहजै बचाउँदा च्यासलले अग्रता लिने मौका गुमाएको थियो।

‘आजको खेलमा राम्रो प्रदर्शन गर्न सकिएन । विपक्षीलाई कमजोर आँक्दा हाम्रा खेलाडी नतिजा निकाल्न असफल भए । हाम्रो शैलीमा खेलाडीले खेल्न सकेनन्,’ प्रशिक्षक शाक्यले भने, ‘मुख्यतः हाम्रो टोलीमा एट्याकिङ लाइन राम्रो हुन सकेन, पहिलो खेल भएकाले हामीलाई यो पाठ भएको छ।’

‘हामीले आजको खेलमा जितको लक्ष्य राखेका थियौं,’ प्रशिक्षक शाक्यले थपे, ‘हामीले स्वाभाविक खेल देखाउन सकेनौं, मध्यपंक्तिबाट बल राम्रोसँग खेल्न सकिएन । अनि मछिन्द्रले दबाबबिना रक्षात्मक खेल खेल्यो, त्यो नै उनीहरूको बलियो पक्ष थियो।’

उता मछिन्द्रका प्रशिक्षक धनेश्वर प्रजापतिले भने अंक लिँदै बिदामा जाने रणनीति सफल भएको बताए । ‘आजको खेलमा हाम्रो लक्ष्य अंक बटुल्नु थियो,’ प्रशिक्षक प्रजापतिले भने, ‘यस खेलमा म सन्तुष्ट छु, रक्षापंक्ति हाम्रो बलियो पक्ष हो । विपक्षीको एयर बललाई रक्षकले राम्रोसँग नियन्त्रणमा लिन सफल भए ।’ ‘दोस्रो हाफमा रक्षात्मक खेल्दै काउन्टर गर्ने हाम्रो रणनीति त्यति सफल हुन सकेन । हामीले एक÷दुई प्रयास गरेका थियौं, तर फिनिसिङ भएन,’ प्रशिक्षक प्रजापतिले थपे।

सुरुआतबाट नै मच्छिन्द्रलाई दबाबमा राख्दै खेलेको च्यासलका लागि यसअघि सातौं मिनेटमा विश्व अधिकारीले पेनाल्टी बक्सभित्रबाट प्रहार गरेको बल रक्षकको ढाडमा लागेर बाहिरिँदा च्यासलले अग्रता लिने मौका गुमाएको थियो । २१औं मिनेटमा च्यासलका विकास राईले कर्नरबाट आएको बललाई हेडमार्फत गोलका लागि प्रयास गरेका थिए । सो बल माथिल्लो बारनजिकैबाट बाहिरिँदा च्यासलले फेरि चुकचुकाउनुपरेको थियो । ५२औं मिनेटमा विमलले प्रहार गरेको फ्रिकिक पोस्टको बायाँ कर्नरमा लागेर फर्किंदा अर्को पटक च्यासल निराश बनेको थियो।

एकपछि अर्को मुभ बनाउँदै गोलका लागि प्रयास गरे पनि मछिन्द्रको रक्षापंक्तिलाई च्यासलले तोड्न सकेन । ३८औं मिनेटमा मछिन्द्रले विपक्षी च्यासलको पोस्टभन्दा ३० यार्ड टाढाबाट फ्रिकिक प्रहार गर्ने मौका पाएको थियो । तर मच्छिन्द्रका खेलाडीले उक्त अवसरलाई सदुपयोग गर्न सकेनन् । बराबरीमा रोक्ने रणनीतिसहित मैदान उत्रिएको मच्छिन्द्रले गोलका लागि प्रयास गर्नेभन्दा पनि विपक्षीको प्रहारलाई रोक्नमा नै समय बिताएको थियो।

लिगमा पहिलो खेल गोलरहित बराबरी खेलका दुवै टोलीले १–१ अंक बाँडेका छन् । यसअघि सम्पन्न दुई खेलमा त्रिभुवन आर्मी क्लब र एनआरटीले २–२ गोलको बराबरी खेलेका थिए भने संकटाले सरस्वतीलाई १–० ले पराजित गरेको थियो । लिगमा बिहीबार दुई खेल हुनेछन् । पहिलो खेल फ्रेन्ड्स र थ्री स्टार क्लबबीच हुनेछ भने दोस्रो खेल जावालाखेल युथ र विभागीय टोली नेपाल पुलिस क्लबबीच हुनेछ । दुवै खेल ललितपुरस्थित एन्फा कप्लेक्सको खेल मैदानमा हुनेछन्।

प्रकाशित: २४ आश्विन २०७५ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App