७ वैशाख २०८१ शुक्रबार
कला

‘छोट्टी’को बिमोचन

काठमाडौं– छुई प्रथासँग सम्बन्धित नारी प्रधान उपन्यास ‘छोट्टी’ लिएर आएका छन् हुम्ली आख्यानकार बखतबहादुर शाही। उनले आफैंले देखेका र भोगेका विषयलाई उपन्यासको विषय बनाएका हुन्।  

विज्ञहरुले कर्णाली भेगको अर्गानिक खुराकको रुपमा यो उपन्यासको चर्चा गरेका छन्। हुम्लामा जन्मे÷हुर्केका शाहीले एउटी नर्सलाई मुख्य पात्र बनाएर हुम्लाको छुई प्रथामा केन्द्रित भएर लेखेको उपन्यासमा कर्नालीको जीवनशैली, संस्कृति र इतिहासको सुवास पाइन्छ। 

बुधबार नेपाल पर्यटन बोर्डमा काँग्रेस नेता अर्जुन नरसिंह केसी, आख्यानकार भुवनहरि सिग्देल, उपन्यासकार शाही र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा ‘छोट्टी’ बिमोचन गरेका छन्।  

आख्यानकारका रुपमा नेपाली साहित्यमा उदाएका शाहीको आगमनले आशा जगाएको टिप्पणी गरिएको छ। ‘सहरमा बसेका मान्छेले गाउँको कुरा लेख्दा त्यसमा सहरी गन्ध आउँछ’, उपन्यासको टिप्पणी गर्दै सिग्देलले भने, ‘हुम्लाको विषय हुम्लीले नै लेखेकाले छोट्टीमा चाहिँ अग्र्यानिक स्वाद पाइन्छ।’ 

सम्बन्धित क्षेत्रकै लेखकले त्यहाँका विषयवस्तु राम्रोसँग उठान गर्न सक्ने उनले बताए। ‘बाहिरका लेखक त्यहाँ पुगेर फोटो खिच्दा वन ल्याउन सकिन्छ मन ल्याउन सकिँदैन। घटना ल्याउन सकिन्छ, व्यथा ल्याउन सकिँदैन’, उनी भन्दै थिए, ‘कुरो आउँछ, चुरो आउँदो रहेनछ।’ 

कार्यक्रममा कवि एवं सांस्कृतिक अध्येता हेमन्त विवशले ‘छोट्टी’ आञ्चलिक स्वादको प्रभावशाली पुस्तक भएको चर्चा गरे। उनले अबको साहित्यमा कर्णाली र सुदूरपश्चिम छाउनु पर्नेमा जोड दिए। 

कार्यक्रममा पर्यटन पत्रकार अमृत भादगाउँलेले शाहीको नविनतम उपन्यास समग्र कर्णालीको जीवनशैली र संस्कृति चियाउने आँखीझ्याल भएको भन्दै तारिफ गरेका थिए। त्यस अवसरमा प्रमुख अतिथि एवं काँग्रेस नेता केसीले यस्ता उपन्यासले समाज परिवर्तनमा जागरण ल्याउनेमा आशावादी भएको बताए भने उपन्यासकार शाहीले छोट्टीको संक्षिप्त रचनागर्भ सुनाएका थिए।   

शिखा बुक्सले प्रकाशनमा ल्याएको उपन्यासले महिला हिंसा, छुई प्रथा, बहुपति प्रथा र पुराना परम्परा जस्ता विषय उठान गरेको छ। पुस्तकको मूल्य ३२५ रूपैयाँ छ।

प्रकाशित: २४ आश्विन २०७५ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App