coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नौबिसे–नागढुङगा सडकमा ठूला मालबाहक सवारी प्रवेशमा रोक

धादिङ- नौबिसे–नागढुङगा सडकमा जाम हुन नदिन ठूला मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएको छ। आजदेखि एक हप्ताका लागि रोक गराइएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए। ‘चाडपपर्व मनाउन राजधानीबाट पूर्वपश्चिम जाने सवारीको चाप बढ्ने भएका कारण प्रवेशमा रोक लगाएका हौँ’ बिकले भने, ‘यात्रुहरुलाई सहज र सजिलैसँग गन्तव्यमा पुर्‍याउन चितवन जिल्लादेखि नै प्रवेशमा रोक लगाएका छौँ।’ नौबिसे–नागढुङगा सडकमा जाम हुन नदिन सडक विभागको अनुरोधमा प्रहरीले रोक लगाएको हो।

राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिने सवारीका साधनहरुको चाप अत्याधिक हुने र मालवाहक सवारीका कारण नौविसे–नागढुङगा सडक खण्डमा सवारी जाम हुने गरेको छ। यात्रुहरुलाई सुरक्षित र समयमा नै गन्तव्यमा पुर्‍याउन ठाउँठाउँमा प्रहरी पनि परिचालन गरिएको प्रहरी उपरीक्षक विकले बताए। चाडपर्व मनाउन राजधानी बाहिर जाने यात्रुहरुलाई सहज र सजिलो बनाउनका लागि मालबहाक सवारी प्रवेश रोक लगाएको प्रहरीले जानकारी दिएको छ। 

अघिल्ला बर्षहरुमा घटस्थापनादेखि राजमार्गमा सवारी चाप बृद्धि हुने गरेको छ। जसले गर्दा गन्तव्यमा नै पुग्न नसक्ने गरेको स्थानीयको जनगुनासोपछि यस वर्ष यस्तो व्यवस्था अपनाएको हो। नौबिसे–नागढुङगा सडकमा खास गरी साना छ पाङग्रे सवारीले भन्दा पनि भारतीय नम्वर प्लेटक लामो लामो मालवाहक टेलर र कन्टेनरले गर्दा सडकखण्डको उकालोमा जाम लाग्ने गरेको छ। अहिले निर्माण सामग्रीको आवश्यकता भन्दा पनि यात्रुहरुलाई गन्तव्यमा पुर्‍याउने पहिलो प्राथमिकता रहेकाले जामको व्यवस्थापनका लागि जोड दिएको प्रहरीले बताएको छ।

मालवाहक सवारीका साधनहरुले क्षमता भन्दा बढि भार बोकेर राजधानी प्रवेश गर्ने गरेका छन्। बढी भार बोकेर काठमाडौँ प्रवेश गरेका मालबाहक सवारी साधन उकालोमा बिग्रने गरेर जाम लाग्ने गरेको छ। जसका कारण राजमार्ग हुदै राजधानीबाट बाहिरिने र भित्रने सयौ सवारीका हजारौ यात्रुहरुले यात्राका क्रममा झन्झट बेहोर्नु परेको छ। चितवन जिल्लादेखि नै राजधानी प्रवेश गर्ने मालवाहक सवारीलाई रोक्ने बताईएको छ।

खासगरी निर्माण सामग्री बोकेको लरी नागढुङगाको उकालो तथा मोडहरुमा बिग्रने र साइड नै नपुग्दा सवारी जाम हुने गरेको छ। चाडपर्वमा निर्माण सामग्रीको आवश्यक भन्दा पनि यात्रुहरुलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था मिलाएको प्रहरीले जानकारी दिएको छ। मालवाहक सवारी रोक लगाएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी चाप आधाले घट्ने प्रहरीले अनुमान गरेको छ।

धादिङ प्रहरीले दशै, तिहार लगायतका चाडपर्वमा बेला हुनसक्ने अपराधिक गतिविधिहरु रोकथाम तथा नियन्त्रणको लागि विशेष कार्ययोजना निर्माण गरेको छ। सुरक्षाका लागि जिल्लाका विभिन्न स्थानहरुमा ६ वटा मोवाईल गस्ती, १५ वटा मोटरसाइकल गस्ती एंव २७ वटा पैदल गस्ती दैनिक रुपमा २४ सैँ घण्टा परिचालन गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। आर्थिक कारोबार हुने बैंक, वित्तिय संस्था, सुनचाँदी पसल लगायतका व्यापारिक केन्द्रहरुमा सादा पोशाकमा प्रहरी परिचालन गरेको छ।

प्रकाशित: २४ आश्विन २०७५ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App