७ वैशाख २०८१ शुक्रबार
समाज

तीन बुँदे सहमतिपछि कटारी बजार खुल्यो

उदयपुर – बजार अनुगमनको विरोध गर्दै उद्योग वाणिज्य संघको अगुवाईमा ३ दिनदेखि व्यापारीले गर्दै आएको उदयपुरको कटारी बन्द खुलेको छ। बन्दकर्ता र स्थानीय प्रशासन, प्रहरीबीच कटारी नगरपालिकामा भएको छलफलमा ३ बुँदे सहमतिपछि सोमबारदेखि बन्द भएको बजार खुलेको हो।

इलाका प्रशासन कटारीको अगुवाईमा भएको बजार अनुगमनको क्रममा व्यापारीमाथि अनावश्यक कडाई गरेको विरोधमा उदयपुर उद्योग वाणिज्य संघ कटारीले बजार बन्द गराएको थियो। अनुगमन टोलीले पान, भ्याट बील मागेर जफत गर्ने, मूल्य सूचीको बील माग्नेजस्ता अनावश्यक दुःख दिने गरेको तथा किराना पसलमा अनुगमन गर्ने सर्तविरुद्ध कपडा र जुत्ताचप्पललगायत सबैखाले पसलमा अनुगमन कडाई गरेको भन्दै व्यापारी बन्दमा उत्रिएका थिए।

दुई पक्षबीचको छलफलमा दसैंको मुखमा उपभोक्ताको अधिकारलाई ध्यान दिँदै सौहार्दपूर्ण बजार खोल्ने, नगरपालिका, इलाका प्रशासन, इलाका प्रहरी र वाणिज्य संघको समन्वयमा बजार अनुगमन निरन्तर गर्दै जाने सहमति भएको छ। बजार अनुगमन गर्दा ‘अनुगमन निर्देशिका २०७५’ बमोजिम उपभोक्ता हित संरक्षण मञ्च गठन गर्ने सहमतिसमेत भएको छलफलमा सहभागी इलाका प्रहरी प्रमुख डिएसपी ध्रुबकुमार श्रेष्ठले बताए।

प्रशासन र व्यापारीबीचको विवादले चाडबाडका बेला उपभोक्ताले सास्ती खेप्नु परेको गुनासो चर्कोरुपमा सुनिन थालेकाले दुवैपक्ष लचिलो हुनुपर्ने महशुस गरेर सहमतिमा पुगेको उनले बताए। दसैं सुरु भइसकेकाले उपभोक्ता किनमेलमा लागिसकेका बेला बन्द गर्दा त्यसको प्रभाव नराम्रो पर्ने ठहर दुवैपक्षले महशुस गरेका छन्।

बन्दका कारण छिमेकी जिल्लाहरू ओखलढुंगा, खोटाङ, सोलुखुम्बु र उदयपुरकै पश्चिम पहाडी भेगका दर्जनौं स्थानीय बजारमा जाने सामान रोकिएपछि चाडपर्व प्रभावित हुन नदिन सर्वपक्षीय दबाब परेको थियो। छलफलले पहाडी भेगका स्थानीय बजारहरूमा पनि अनुगमन नियमित गर्ने सहमति भएको छ।

इप्रका कटारीका प्रमुख सुनिल पौडेलको नेतृत्वमा गत शुक्रबारदेखि सुरु अनुगमन कार्य आइतबारसम्म सुचारु रहेकोमा सोमबार बिहान टोलीले क्षेत्राधिकार नाघेको भन्दै वाणिज्य संघले असहमति जनाएपछि एकाएक बजार बन्द भएको थियो। टोली सदस्य तथा संघका अध्यक्ष पुष्कर खड्काले प्रशासनको ज्यादती भएकाले चेतावनीस्वरुप बजार बन्द गरेको र उपभोक्ताको हितलाई ध्यानमा राखेर बन्द खोलिएको बताए।

प्रकाशित: २४ आश्विन २०७५ ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App