८ वैशाख २०८१ शनिबार
अर्थ

दैनिक मूल्यवृद्धिले उपभोक्ता चिन्तित

डुंगेश्वर बजारमा अनुगनका क्रममा म्याद सकिएका सामग्रीका साथै अनुगमन समितिका पदाधिकारी । तस्बिरः गोविन्द केसी/नागरिक

सुर्खेत/दैलेख – वीरेन्द्रनगर–१० कि आमपूरा शाही दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि देखेर चिन्तित छिन् । ‘हप्तैपिच्छे उपभोग्य वस्तुको मूल्य फरक–फरक हुन्छ,’ हटियालाइनमा भेटिएकी शाहीले भनिन्, ‘हामीजस्ता न्यून आय भएकाहरुका लागि दुई छाक राम्रोसँग खान पनि मुस्किल भइसक्यो।’

दैनिक उपभोग्य वस्तुमा महिना दिनमै मूल्य बढ्ने गरेको छ । आमपूराले अघिल्लो महिना एक सय ६० रुपैयाँमा किनेको एक लिटरको सनफ्लो तेल एक महिनापछि किन्दा दुई सय रुपैयाँ तिर्नुपर्यो । ‘पसल पनि उहीँ हो, एक महिनाकै फरकमा ४० रुपैयाँले तेलको मूल्य बढ्यो,’ उनले भनिन्, ‘तेल मात्रै होइन्, अन्य वस्तु पनि छोइनसक्नु भएको छ।’

कालिकोटकी आमपूरा दुई छोराछोरी पढाउनका लागि दुई वर्षदेखि सुर्खेतमा कोठा भाडामा बस्छिन् । ‘यस्तै अवस्था रहे श्रीमानको मास्टरी जागिरबाट आएको तलबले सुर्खेतमा बस्न सकिने अवस्था छैन्,’ उनले भनिन्, ‘महंगी नियन्त्रणतर्फ सरोकारवालाहरुले ध्यान दिएको भए हुन्थ्यो।’

चाडपर्व नजिक आउँदै गर्दा दैनिक उपभोग्य वस्तुहरु चामलदेखि तेलसम्मको मुख्य आकासिएको छ । एक दुई साता अगाडिसम्म मैदा किलोको ४५ रुपैयाँ थियो । अहिले बढेर ६० रुपैयाँ पुगेको छ । एक सय ८५ रुपैयाँ बिक्री हुँदै आएको मेघा पिठोको प्याकेट दुई सय २० रुपैयाँमा बिक्री हुन्छ।

‘हरेक पटक बजार आउँदा फकर–फकर मूल्य पाइन्छ, त्यसमाथि चाडपर्वको बेला व्यवसायीहरुले अनावश्यक मूल्यवृद्धि गर्छन्,’ वीरेन्द्रनगरकी कोशीला रावतले भनिन्, ‘चाहिएको सामान बढी मूल्यमा भए पनि किन्नै पर्यो ।’ खुद्रा व्यवसायी ‘होलसेलर’लाई देखाएर पन्छिन्छन् । होलसेलर कम्पनीलाई देखाउँछन् । बजारमा मूल्य आकासिँदा पनि सरोकारवाला निकाय मौन छन्।

स्थानीय तह मौन
स्थानीय तहमा जनप्रतिनिधि आएसँगै आमजनताले राहतको सास फेर्ने आशा राखेका थिए । जिल्ला प्रशासनले गर्दै आएको अनुगमनको जिम्मेवारी स्थानीय तहमा सरेको छ । सुर्खेतका केही स्थानीय तहहरुले ‘बजार अनुगमन निर्देशिका’ पनि बनाएका छन् । तर, बजारमा दिनदिनै मूल्यवृद्धि हुँदा पनि जनप्रतिनिधिहरुले त्यसतर्फ ध्यान दिएको देखिँदैन ।’ स्थानीय सरकार गठन भएयता प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले दुई पटक अनुगमन गर्यो।

‘पहिलो पटकका लागि’ भन्दै व्यवसायीहरुलाई सुझाव दिनेबाहेक काम भएन । दसैं–तिहार, छठजस्ता ठूला पर्वका लागि उपभोक्ताहरु खाद्यवस्तु किनमेलका व्यस्त छन् । व्यवसायीहरुले मनोमानी खाद्य वस्तुको मूल्य तोकिरहेका छन् । स्थानीय प्रशासनले भने त्यसतर्फ ध्यान दिएको देखिँदैन । कुनै पनि व्यवसायीहरुले मूल्यसूचि पसलमा राखेका छैनन्।

वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ प्रशासन अधिकृत प्रकाश पौडेल केही दिनभित्रै बजार अनुगमन सुरु गर्ने बताउँछन् । ‘हामीले बजार अनुगमन निर्देशिका बनाएका छौं, एक–दुई पटक अनुगमन पनि भइसक्यो,’ पौडेलले भने, ‘चाडपर्वलाई लक्षित गरेर केही दिनभित्रै बजार अनुगमन गछौं।’

गाउँमा म्याद गुज्रेका वस्तु
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतको नेतृत्वमा टोलीले केही दिनअघि नौमुले र डुंगेश्वर गाउँपालिका बजार अनुगमनमा पुग्यो । दुई दर्जनबढी पसलको अनुगमन गरेको टोलीले सबैमा म्याद गुज्रेका र अधिक मूल्यमा उपभोग्य सामग्री बिक्री गरेको फेला पार्यो । ‘हामीहरुले जति पसलमा अनुगमन गर्यौं, सबैमा म्याद गुज्रेका उपभोग्य वस्तु फेला पार्यौं,’ सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘गाउँमा न उपभोक्ताले म्याद हरेर सामान लिन्छन्, न बिक्रीकर्ताले नै ।’

व्यवसायीहरु म्याद गुज्रिएका उपभोग्य वस्तु बिक्री गर्छन् नै त्यसमा अधिक मूल्य पनि असुल्छन् । ‘१८ रुपैयाँ पर्ने नुनको प्याकेटलाई २५ रुपैयाँमा बिक्री गरेको फेला पार्यौं’ सहायक प्रजिअ बस्नेतले भने, ‘तेल, चामललगायत दैनिक उपभोग्य वस्तुको मूल्य पनि छोइनसक्नुको छ ।’

‘पहिलो पटक’ भन्दै अनुगमन समितिले व्यवसायीहरुलाई सचेत गराएर फर्कियो । ‘अनुगमन गरेका सबै पसलहरुमा म्याद सकिएका उपभोग्य सामग्रीहरु थिए, कुनै पसलमा पनि मूल्यसूचि राखिएको थिएन्,’ उनले भने, ‘दसैं–तिहारको मुखमा व्यवसायीहरुले अचाक्ली मूल्यवृद्धि गरेको पाइयो ।’ बस्नेतका अनुसार तराईका जिल्लाहरुबाट म्याद सकिएका सामग्रीहरु ठूला डिलरहरुले पहाड र गाउँतिर पठाउने गरेको पनि पाइएको छ।

प्रकाशित: २४ आश्विन २०७५ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App