coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मानसिक रोगीलार्इ उपचार अभाव

काठमाडौं – पेट दुखे उपचारमा जान्छौं, ज्वरो आए सिटामोल खाइहाल्छौं तर कुनै मानसिक रोग लागे तत्काल उपचारमा जाँदैनौं । २६ औं विश्व मानसिक रोग दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्तुत गरेको तथ्यांक अनुसार मस्तिष्क रोगलाई हेयको दृष्टिले हेरिँदा अझै पनि ८५ प्रतिशत मानसिक रोग बिरामी उपचारको पहुँच बाहिरै छन्।

नेपालमा मानसिक रोगीलाई लाजले विषय मान्ने, मानसिक रोगी आफैं उपचारमा जान सक्ने अवस्था नहुने, उपचार सेवाको अभाव, सरकारले मानसिक स्वास्थ्यमा प्रभावकारी कार्यक्रम लैजान नसकिँदा धेरै मानसिक रोगी उपचारको पहुँचमा आउन नसकेको डा. कार्की बताउँछन् । ‘नेपालले विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवाभित्र समावेश गर्ने घोषणमा प्रतिबद्धता जनाइसकेको छ तर लागू गर्न भने सकेको छैन,’ उनले भने।

नेपाल सरकारले मानसिक स्वास्थ्यलाई अहिले पनि उपेक्षा गरेको बाल मानसिक रोग विशेषज्ञ डा. अरुणराज कुवँरले बताए । ‘कुल स्वास्थ्य बजेटको एक प्रतिशत बजेट मात्र मानसिक स्वास्थ्यलाई छुट्याइएको छ तर बालमानसिक स्वास्थ्यमा एक पैसा पनि खर्च गरेको छैन,’ डा. कुवँरले भने । ‘नेपाल सरकारले जबसम्म नीतिगत रुपमै मानसिक रोगका लागि बजेट छुट्याउँदैन तबसम्म मानसिक स्वास्थ्यको अवस्थामा सुधार हुँदैन,’ उनले भने।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले सरकारले संघीय संरचना अनुरुप मानसिक स्वास्थ्य संरचनालाई पनि अघि बढाउनु पर्ने बताए । सरकारको आधारभूत स्वास्थ्य नीतिमै मानसिक स्वास्थ्यलाई समावेश गर्ने प्रतिबद्धता जनाए । ‘मानसिक स्वास्थ्यको औषधि सरकारले वितरण गर्ने अत्यावश्यक निःशुल्क औषधिमा समावेश गर्नेछौं,’ मन्त्री चौधरीले भने । नेपालमा कुल जनसंख्याको २० प्रतिशत मानसिक रोगी भएको अनुमान छ।

स्वास्थ्य बजेटको एक प्रतिशत मात्र स्वास्थ्यलाई छुट्याइएको छ तर बालमानसिक स्वास्थ्यमा बजेट विनियोजन गरिएको छैन । सरकारले नीतिगत रुपमै मानसिक रोगका लागि बजेट विनियोजन नगरेसम्म मानसिक स्वास्थ्यको अवस्थामा सुधार हुँदैन।

तथ्यांकअनुसार सन् २०२० सम्ममा यो संख्या ३५ प्रतिशतमा घटाउने सरकारको योजना छ । वेवारिसे बालबालिका, महिला, एकल महिला, गर्भवती, सुत्केरी, घरेलु तथा लैंगिक हिंसा प्रभावितहरु मानसिक स्वास्थ्यको जोखिममा छन् । नेपालमा रक्सीजन्य मानसिक रोग, लागूपदार्थजन्य मानसिक रोग, डिपे्रशन, एन्जाइटी डिअस्र्डर साझा मानसिक रोगको रुपमा देखा परेको छ।

तथ्यांकअनुसार प्रति ४ व्यक्तिमध्ये १ जनामा कुनै न कुनै मानसिक रोग भएको अनुमान छ । प्रत्येक ५ किशोर मध्येमा १ जनामा कुनै न कुनै मानसिक समस्या रहेको छ । प्रत्येक ६ गर्भवती मध्ये १ जनाले मानसिक रोगकै कारण आत्महत्या गर्ने गरेको र ९० प्रतिशत आत्महत्याका कारण मानसिक रोग हुने गरेको छ।

युवा बढी प्रभावित
नेपालमा पछिल्लो समय अधिकतर युवाहरु मानसिक रोगले प्रभावित हुन थालेको सरोकारवालाले प्रस्तुत गरे । बसाइँ–सराइँ, गरिबी, बेरोजगारी, वातवरणीय प्रभाव जस्ता पक्षले युवा प्रभावित भइरहेकोमा उनीहरुले औंल्याए ।

तथ्यांकअनुसार जनगणना २०६८ अनुसार १६ देखि ४० वर्ष उमेर समूहका युवाहरु मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् । करिब २२ लाख युवाहरु मानसिक समस्यावाट प्रभावित छन्।

१४ देखि २८ वर्षको उमेर जीवनको छुट्टै पहिचान र भविष्य निर्माणमा जुट्ने उमेर हो । बाल्यकालको नमिठो अनुभव, आघातजन्य घटना, लैंगिक तथा यौनजन्य हिंसा, समाजिक विभेद, साथीहरुबाट खिसीटियुरी, दौंतरी दबाब, आर्थिक विपन्नता, शारीरिक परिवर्तन जस्ता कारणले युवाहरुले चुनौती सामना गर्नुपर्दा मानसिक रोगबाट प्रभावित हुन पुग्छन् । प्रभावित युवाहरुसमेत मानसिक स्वास्थ्यको उपचारमा पुग्न नसकेको तथ्यांक छ।

यो समस्यालाई निराकरण गर्नको लागि समुदाय, भेदभाव, लाञ्छानाविरुद्ध जनचेतना जगाउने, विद्यालय तथा कलेजमार्फत किशोर–किशोरीलाई मनोसामाजिक सेवा प्रदान गर्न मानसिक स्वास्थ्य कार्यगत समूहले जनाएको छ । यो बाहेक मानसिक समस्यालाई सम्बोधन गर्न युवामनको बोझ हल्का गर्न घरैबाट सहानुभूतिपूर्वक कुरा सुन्ने संस्कार घरपरिवारदेखि सुन्ने र समुदायसम्म पुर्याउने संस्कार सबैले सुरु गर्नुपर्ने उनीहरुले सुझाए।

मानसिक स्वास्थ्यमा योगदान पुर्याउने सम्मानित

काठमाडौं – मानसिक स्वास्थ्य क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउने चिकित्सक, सामाजिक अभियन्ता तथा सञ्चारकर्मी सम्मानित भएका छन् । सम्मानित हुनेमा मानसिक रोग विशेषज्ञ राष्ट्रिय इपिडियोमोलोजी मानसिक स्वास्थ्य विभागका प्रमुख डा. बासुदेव कार्की, मानसिक रोग विशेषज्ञ डा. देशराज महत, मानसिक रोग अस्पतालका डा. देवव्रत जोशी, ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्यमा योगदान पुर्याएबापत जमुना कटुवाल, वैदेशिक रोजगारमा गएकालाई मानसिक स्वास्थ्य सेवा पुर्याएका दिवाकार गौतम, डोर्जे डोल्मा गुरुङ, गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेल, हाम्रो डाक्टरका मधुसुदन ढकाल, अन्नपुर्ण रेडियोका ठाकुर बेलवासे, पत्रकार अनुपमा पोखरेललगायत छन् । उनीहरुलाई पहिलो पाइला मासिकले सम्मान गरेको हो।

प्रकाशित: २४ आश्विन २०७५ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App