coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपाभित्र व्यापक असन्तुष्टि

फाइल फाेटाे

काठमाडौं – निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर पार्टीका नेता वामदेव गौतमलाई सांसद बनाउने प्रयासप्रति नेकपाकै दोस्रो तहका नेताले असन्तुष्टि व्यक्त गरेका छन् । गौतमलाई सांसद बनाउने प्रयासबारेमा खुला रुपमा बोल्न तयार नभए पनि पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालका साथै माधवकुमार नेपाल निकटका स्थायी समिति सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन्।

ओलीनिकट एक स्थायी समिति सदस्य भन्छन्, ‘निर्वाचित जनप्रतिनिधिलाई राजीनामा गराएर उहाँ किन सांसद बन्न मरिहत्ते गरिरहनुभएको छ, बुझ्न सकिएको छैन ।’ जनतासँग विभिन्न प्रतिबद्धता जनाएका जनप्रतिनिधिले अरु कसैको स्वार्थका लागि जनतालाई धोका दिनु पनि गलत भएको उनले बताए । ‘उहाँले जनतासँग केकस्ता प्रतिबद्धता जनाउनु भएको थियो, प्रतिबद्धता पूरा नगरी किन छोड्दै हुनुहुन्छ’, उनले भने । यस्तो प्रवृत्तिले जनताप्रति पार्टीको विश्वास गुम्ने उनको तर्क छ।

नेकपाका नेताहरुले पार्टीभित्र छलफल नै नगरी एक्कासि यस्तो प्रस्ताव आउनु गलत भएको बताएका छन् । ओली पक्षकै अर्का नेता भन्छन्, ‘सभ्य मानिसका लागि यस्तो कुरा सुहाउँदैन् । जनताले आफ्नो मत जायर गरेपछि कम्तीमा एक कार्यकाल धैर्य गर्ने साहस उहाँले गर्नुपथ्र्याे ।’ गौतमले सांसद बन्न गरिरहेको मरिहत्ते राजनीतिक नेताका लागि अशोभनीय भएको उनको तर्क छ । ‘उहाँ कुनै स्वार्थका लागि आउन खोजेको देखिन्छ तर त्यसले उहाँको राजनीतिक करिअरलाई मात्र होइन, समग्र पार्टीलाई हेर्ने दृष्टिकोणमा समेत प्रभाव पर्छ,’ उनले भने । ओली पक्षका दुई उच्चस्तरीय नेताका यी भनाइबाट गौतमको सांसद बन्ने प्रयास अध्यक्ष ओली पक्षले नरुचाएको पुष्टि हुन्छ।

गौतमको सांसद बन्ने प्रयासप्रति माधव नेपाल समूह पनि सकारात्मक देखिँदैन । नेपाल निकट एक स्थायी समिति सदस्य भन्छन्, ‘निर्वाचन भएको एक वर्ष पनि नपुग्दै जनतालाई निर्वाचनका नाममा दुःख दिनु हुँदैन ।’ उनी गौतमलाई संसद्मा नल्याई नहुने अपरिहार्यता अहिले नभएको बताउँछन् । अहिले पार्टीको काम गरेर बस्नुपर्ने बेलामा संसद्मा आउने आशक्ति देखाउनु सही नभएको उनको भनाइ छ । पदमा जानका लागि बार्गेनिङ गर्ने गौतमको स्थायी चरित्र रहेको र एमालेको पछिल्लो महाधिवेशनमा पनि उनले पदका लागि विचार परिवर्तन गरेको ती नेता बताउँछन् । अहिले संसदमा जान मरिहत्ते गर्नु पनि त्यसैको निरन्तरता भएको उनको भनाइ छ।

नेपाल निकट अर्का एक स्थायी समिति सदस्य पनि वस्तुस्थिति नबुझी सीमित नेताहरुको छलफलबाट मात्र यस्ता निर्णय गर्नु गलत भएको बताउँछन् । ‘पहिले त्यहाँका जनताको चाहना बुझ्न आवश्यक छ, त्यसपछि पार्टीका महŒवपूर्ण तहमा छलफल गरेर मात्र यस्ता निर्णय गर्नुपर्छ,’ ती नेताले भने।

दाहाल समूहका नेता पनि गौतमको प्रयासप्रति सन्तुष्ट छैनन् । दाहालनिकट एक स्थायी समिति सदस्य भन्छन्, ‘हारेको व्यक्तिले हार स्वीकार नगर्ने र पुन निर्वाचनमा जाने हो भने निर्वाचन किन गर्नुपर्यो ?’ निर्वाचनमा जितहार स्वाभाविक भएकाले जितेकाले आफ्नो भूमिकाअनुसार काम गर्नुपर्ने र हारेकाले पार्टीका अन्य जिम्मेवारीमा रहेर काम गर्नुपर्ने उनको भनाइ छ । राजनीतिक नेतृत्वले निर्वाचनको मूल्यमान्यता मान्नुपर्ने उनको भनाइ छ । कांग्रेस नेता गणेशमान सिंहको उदाहरण दिँदै ती नेताले अहिले देखिएको प्रवृत्तिले राजनीतिमा कस्तो संस्कार बस्दै छ भन्ने प्रश्न उठ्ने बताए।

प्रकाशित: २४ आश्विन २०७५ ००:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App