१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बालन डि’अरका लागि ३० नाम सार्वजनिक, रियालकाे वर्चस्व

पेरिस – बालन डि’अर अवार्डका ३० खेलाडीको नाम सार्वजनिक हुँदा रूस विश्वकमा उत्कृष्ट खेलाडी घोषित भएका लुका मोडरिच दोस्रो अवार्डका लागि पनि छनोट भएका छन्।

सार्वजनिक ३० खेलाडीमा मोडरिचबाहेक रियाल मड्रिडका पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोसँगै बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी र लिभरपुलका मोहम्मद सालाह पनि मनोनयनमा परेका छन्।

युभेन्ट्सका रोनाल्डो र लिभरपुलका सालाहलाई पछि पार्दै फिफा वर्ष खेलाडी २०१८ को उपाधि मोडरिचले जित्दा अर्का प्रतिस्पर्धी मेसी भने फिफा अवार्डका लागि अन्तिम तीनमा पनि परेका थिएनन् । मोडरिचको टोली क्रोएसिया विश्वकपको उपविजेता टोली हो।

अमेरिकन मोडलले २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको दाबी गरेको मुद्दा लास भेगासको प्रहरीले पुनः अनुसन्धानका लागि बाहिर ल्याउँदा झन्झट खेपिरहेका रोनाल्डो साबिकका विजेता हुन् । उनले र बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीले समान ५÷५ पटका बालोन डि’अरको उपाधि जितेका छन्।

डिसेम्बर ३ मा फ्रान्स फुटबल म्यागेजिनको आयोजनामा बालोन डि’अर उपाधि विजेताको घोषणा हुनेछ । सार्वजनिक मनोनयनमा रियाल मड्रिड तथा वेल्सका स्ट्राइकर ग्यारेथ बेल र म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डी बु्रयना पनि परेका छन्।

गत सिजन लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको उपाधि दिलाउन फाइनलमा दुई गोल गरेका बेलसँगै सहकर्मी करिम बेन्जेमा, राफाइल भरान, इस्को, मार्सेलो र सर्जियो रामोस पनि अवार्डका लागि योग्य भएका हुन् । सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन र बेल्जियमलाई सेमिफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका केभिन डी ब्रुयना मनोनयनमा परेका हुन्।

फ्रान्सलाई विश्वकपको उपाधि र एट्लेटिको मड्रिडलाई युरोपा लिग विजेता बनाउन उत्कृष्ट खेलेका एन्टोनी ग्रिजम्यानसँगै चेल्सीका एन’गेलो कान्टे, म्यानचेस्टर युनाइटेडका पाउलो पोग्बा र पिएसजीका काइलेन एमबाप्पे पनि मनोनयनमा परेका छन् । यस्तै, चेल्सीका इडेन हाजार्डसँगै हालै सम्पन्न विश्वकमा गोल्डेन बुट विजेता इङ्ल्यान्डका कप्तान ह्यारी केन पनि समावेश भएका छन्।

म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्विरो र पिएसजीका नेइमारसँगै बार्सिलोनाका लुइस स्वारेज पनि मनोनयनमा परेका छन् । लिभरपुलका ब्राजिलियन स्ट्राइकर रोबोर्टो फिर्मिनो र उरुग्वे तथा एट्लेटिको मड्रिडका डियगो गोडिन पनि बालन डि’अरका लागि प्रतिस्पर्धी बनेका छन्।

मनोनयनमा परेका ३० खेलाडीमध्ये ४ गोलकिपर पनि बालन डि’अरका लागि योग्य ठहरिएका छन् । रियाल मड्रिड तथा बेल्जियमका गोलकिपर थियाबाउट कोर्टाेइस, लिभरपुलका ब्राजिलियन एलिसन बेकर, विश्वकप विजेता फ्रान्स तथा टोटेनह्यामका ह्युगो लोरिस र एट्लेटिकोका जान ओब्लाक मनोनयनमा परेका छन्।

युभेन्ट्सका मारियो मान्ड्जुकिच र लिभरपुलका साडियो मानेसँगै बार्सिलोनाका क्रोएसियन रक्षक इभान राकिटिच मनोनीत ३० खेलाडीभित्र परेका छन्।

यस्तै पहिलो पटक महिला स्पर्धामा बालन डि’अरको अवार्ड प्रदान गरिने भएको छ । महिलातर्फ च्याम्पियन्स लिगको उपाधि जितेको लियोनबाट ७ खेलाडी मनोनयनमा परेका छन् । महिला अवार्डका लागि १५ महिला खेलाडीको नाम सार्वजनिक गरिएको छ।

उत्कृष्ट युवा खेलाडी बनेका पिएसजीका स्ट्राइकर काइलियन एम्बाप्पेलाई कोपा ट्रफीबाट सम्मानित गरिने भएको छ। फ्रान्सले विश्वकप उपाधि जित्दा एम्बाप्पेले उत्कृष्ट खेलेका थिए।

मोडरिचबाहेक रियाल मड्रिडका पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोसँगै बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी र लिभरपुलका मोहम्मद सालाह पनि मनोनयनमा परेका छन्।

प्रकाशित: २३ आश्विन २०७५ २३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App