७ वैशाख २०८१ शुक्रबार
ब्लग

बोरा बोकेर खेल्न काठमाडौं

बुवाको इच्छा छोराहरू पहलमान बनून् भन्ने थियो। त्यो छुट्टै युग थियो, जहाँ पहलमान र कुस्तीवाजको सामाजिक हैसियत बेग्लै हुन्थ्यो। त्यसैले छोराहरू हट्टाकट्टा र बलिया होऊन्, पहलमानी गरून् वा कुस्तीवाज बनून् भन्ने चाहना राख्नु स्वभाविक थियो । बुवा सदैव जेठो दाइ महेन्द्र ‘लल्ला’ र माइलो रणेन्द्र ‘भाइराजा’लाई पहलमानी र कुस्ती खेल्न हौस्याउनु हुन्थ्यो । सदरलाइनछेउ एकलैनीमा हलुवाईको पसल थियो । बुवाले उनलाई भन्नुभएको थियो, ‘यिनीहरू पहलमानी गरेर आउँदा जिउमा माटो देखियो भने सय ग्राम जलेबी र एक लिटर दुध खान दिनू । देखिएन भने केही नदिनू।’

घरबारीटोलमा पहलमानी र कुस्तीमा रमाउनेको संख्या धेरै थियो । त्यो लहरमा दाइहरू पनि डटेर लागे। भाइराजाको रुची अधिक थियो । उनी घरमा पनि अभ्यास गर्थे । म सधैं नजिक गएर उनले अभ्यास गरेको हेर्थेँ । देखासिकीबाट म आकर्षित भएँ । वास्तवमा उनकै प्रभाव ममा परेको हो । बाल्यकालमा मैले देखाएको अभिरुची दाइहरूले पछिसम्मै सुनाउँथे । घरमा दुईतीन वटा गाई थिए । घरको पछाडि गाईगोठ थियो । गोठबाहिर गाई बाँध्ने काठको किला गाडिएको थियो । दाइहरू मलाई त्यो किला उखेल्न भन्थे । नसके पनि म कोसिस गर्थे । तर उखेल्न भने कहिल्यै सकिनँ । भारोत्तोलनमा म सफल हुँदै जाँदा दाइहरू भन्थे झट्ट असम्भव देखिने त्यो काममा पनि मैले आँट गर्थे रे ।

घरबारीटोलमा पहलमानी र कुस्तीमा रमाउनेको संख्या धेरै थियो । त्यो लहरमा दाइहरू पनि डटेर लागे। भाइराजाको रुची अधिक थियो । उनी घरमा पनि अभ्यास गर्थे । म सधैं नजिक गएर उनले अभ्यास गरेको हेर्थेँ । देखासिकीबाट म आकर्षित भएँ ।

सानैदेखि मेरो जिउडाल सुगठित नै हो, तन्दुरुस्त । शरीर स्वस्थ राख्न सके मानिसको दिमाग पनि स्वस्थ हुन्छ भनिन्छ । दिमाग स्वस्थ भए मात्र राम्रो विचार जन्मिन्छ । त्यसैले स्वस्थ शरीर र दिमाग भएको मानिसले मात्र समाजलाई मार्गनिर्देश गर्न सक्छ, असल बाटोमा डोर्याउन सक्छ भन्ने सधै मेरो सोंचाइ रह्यो।

खेल प्रतियोगिताको माहौल भने खासै थिएन । छिटफुट जेजति हुन्थे काठमाडौमै हुन्थे । काठमाडौं बाहिरका युवा खेलकुदमा स्थापित हुने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी हुने कुरा सपनाझै थियो। राजधानीकेन्द्रित खेल गतिविधिले सपना देख्ने छुटसमेत नभएझै लाग्थ्यो । तर, घरबारी टोलले भने त्यो सपनाको संसार देख्ने रहर जगाएको थियो।

काठमाडौं त्यसै पनि बिरानो थियो । न जान सहज थियो, न त त्यहाँ कसैसँग पहुँच थियो । सडक खुलेकै थिएन । अन्तर्राष्ट्रिय खेल गतिविधिबाट पूर्ण रूपले बेखबर थियौं । बुवाको पहलमान देख्ने सपना पूरा गर्न र स्वस्थ रहने अभिलाषाले मात्र तानेको थियो ।

कुस्तीबाट भारोत्तोलन

सुरुका दिनमा कुस्ती निकै खेलियो । यो दुई जना प्रतिस्पर्धी आमुन्नेसामुन्ने भई एकले अर्कालाई पल्टाउने कौशल हो । चरण–चरणमा जसले विपक्षीलाई लडाएर ढाड भुईंमा छुवाउन सक्छ, उही विजेता हुन्छ । कुस्तीको आफ्नै पोशाक हुन्छ । तर, त्यतिबेलाको कुस्ती त कट्टु मात्र लगाएर खेल्नु पथ्र्यो । खाल्डो खनेर बनाइएको गोलाकार क्षेत्रमा खेल हुन्थ्यो । अहिलेको जस्तो आधुनिक हैन, म केही बर्ष परम्परागत कुस्तीमा रमाएँ । 

कुस्ती शारीरिक तन्दुरुस्तीको मापन गर्ने खेल कला पनि हो । अहिले पनि आधिकारिक खेलभन्दा पहलमानी मान्यताबाट पे्ररित खेल मानिन्छ । नेपालमा मल्लकालमा यो खेलको अति नै प्रचलन रहेको इतिहास छ । पुरानो शारीरिक अभ्यासको रूप हो । धार्मिक ग्रन्थ महाभारतमा पनि कुस्ती र पहलमानीका रोचक प्रसङ्ग छन् । विस्तारै आधुनिकीकरण भएको हो । माटोमा खेल्नुपर्ने र धुलाम्मे भई लडीबुडी गर्नुपर्ने भएकाले पनि हुनसक्छ, मलाई कुस्तीले धेरै समय रोकेर राखेन । त्यसको विकल्पमा मैले भारोत्तोलन रोजेँ । किनभने कुस्तीभन्दा यो अलि सफा खेल लाग्यो । कम्तिमा माटोमा लड्नु नपर्ने । हुन त दुवै खेल तागत प्रदर्शनका लागि हुन् । तर, शरीर बलिष्ठ बनाउनुपर्छ भन्ने चेत आइसक्दा शारीरिक अभ्यासका कृत्रिम सामग्री भित्रिइसकेका थिए । डम्बल, बेन्च प्रेसजस्ता सामान प्रयोग गरेर दाइहरू अभ्यास गर्थे । त्यो देखेर म पनि आकर्षित भएँ । भारोत्तोलनतर्फ आकर्षित हुनुको पछाडि पहलमानी स्वभाव र शारीरिक सुगठन प्रतिको रुची अर्को कारण थियो ।

२०३७ सालमा दोस्रो राष्ट्रिय भारोत्तोलन प्रतियोगिता नेपालगन्जमा आयोजना गरिएको थियो । मैले त्यहाँ राष्ट्रिय स्तरका खेलाडी र उनीहरूको उत्साह नजिकबाट नियाल्ने मौका पाएँ । अनि, त्यसैमा भविष्य देख्न र करिअर खोज्न थालेँ । वास्तवमा त्यही प्रतियोगिता हेरेरै म भारोत्तोलनलाई प्रमुख खेल बनाउने निर्णयमा पुगेको हुँ । त्यतिबेला मैले भलिबल, क्रिकेट र टेबलटेनिसको बाटो छाडेर भारोत्तोलनको राजमार्गमा आइपुगेको महसुस गरेको थिएँ । 

मेरो जीउडाल र फिटनेस देखेर अग्रज खेलाडीले प्रतियोगितामा भाग लिन हौस्याए । तर खेलका नियम र कौशल थिएन । स्न्याच र जर्क भनेकै बुझ्दैनथेँ त्यसैले हिम्मत गरिनँ ।

रहरै रहरमा म आवश्यक तौल उठाउन सक्ने भइसकेको थिएँ तर, बाँकेबाट खेल्ने मौका भने मनोज श्रेष्ठले पाए । उनी पनि मसँगै पहलमानी गर्थे । संयोग के परेछ भने, प्रतियोगिता हुनुभन्दा एकदुई दिन पहिले मनोज कर्णाली होटलमा पुगेका रहेछन् । त्यहाँ प्रतियोगिताका लागि आएका सामानहरू राखिएका थिए । उनको उत्सुकता देखेर आयोजकले प्रतियोगितामा सहभागी हुने बिषयमा सोधेछन्, उनले हुन्छ भनिदिएछन्। 

म पनि भारोत्तोलनको दर्शक बनेर प्रतियोगिता हेर्न गएको थिएँ । मेरो जीउडाल र फिटनेस देखेर अग्रज खेलाडीले प्रतियोगितामा भाग लिन हौस्याए । तर खेलका नियम र कौशल थिएन । स्न्याच र जर्क भनेकै बुझ्दैनथेँ त्यसैले हिम्मत गरिनँ । प्रतियोगितालगत्तै राष्ट्रिय खेलकुद परिषद्ले भारोत्तोलनको प्रशिक्षकका रूपमा राजेन्द्र प्रधानलाई नेपालगन्ज पठायो । उनी १५ दिनका लागि आएका थिए । उनैबाट मैले पहिलो प्रशिक्षण लिएको हुँ । घरवारी टोलमा दीपेन्द्र स्पोट्स क्लब थियो । क्लबमा बडी बिल्डिङका सामग्री थिए। मैले त्यहाँ अभ्यास गर्न थालेँ । राजेन्द्र गुरु फर्केपछि पनि मैले प्रशिक्षणलाई निरन्तरता दिएँ र अर्को प्रतियोगिताको प्रतीक्षा गर्न थालेँ । 

० ० ० ० ०

नेपालगन्जबाट काठमाडौं जान दुई दिन लाग्थ्यो । धेरैले काठमाडौंलाई नेपाल भन्थे, नेपाल जाने भन्थे। पूर्वपश्चिम महेन्द्र राजमार्ग निर्माण हुँदै थियो । अरू सडक पनि खासै बनेका थिएनन् । त्यसैले काठमाडौं जान भारतीय बाटोको सहारा लिनुपथ्र्यो । पूर्वपश्चिम राजमार्गको पश्चिम खण्ड २०४२ सालपछि मात्र बनेको हो । विसं २०३८ सालमा प्रथम बृहत् राष्ट्रिय खेलकुद काठमाडौंमा हुने खबर आयो। भदौ २७ देखि असोज ४ गतेसम्म बृहत खेलकुद हुने भनिएको थियो । त्यसले नेपालगन्जसम्मै एकखालको तरङ्ग पैदा गरिदिएको थियो।

हामीलाई भने बृहत् राष्ट्रिय खेलकुदको अर्थ समेत थाहा थिएन । सबै खेलहरू एकै थलोमा हुने, ओलम्पिकजस्तै हुन्छ भन्ने सुनेको थिएँ । यसअघि हरेक खेलका आफ्नै प्रतियोगिता मात्र हुन्थे । बृहत् खेलकुदमा देशभरका सबै खेलका खेलाडीहरू जमघट हुँदै थिए । यसले हामी पनि रोमान्चित भयौँ । मैले टेबलटेनिस, क्रिकेट र भारोत्तोलन राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेको थिएँ । प्रथम बृहत् राष्ट्रिय खेलकुदमा भारोत्तोलन खेलाडीको रूपमा भाग लिने मौका पाएँ । सो खेलकुद्मा १४ अञ्चलले भाग लिने व्यवस्था थियो । त्यो बेला अञ्चल खेलकुद विकास समितिले टिम तयार गर्दथ्यो।

केही दिनको तयारी गरेर हामी सीमावर्ती रूपैडिहा नाकाबाट भारत प्रवेश गरी बलरामपुर, बहनीहुँदै कृष्णनगर पुग्यौँ । कृष्णनगरबाट बुटवलवारिसम्म गाडी चल्थ्यो । तिनाउ नदीमा पुल थिएन । बस ट्रक वारपार गर्न सक्दैनथ्यो । यताबाट गएका गाडी यतै रोकिन्थ्यो । झोलुङ्गे पुलबाट नदी तर्नुपथ्र्यो।

हाम्रो टोलीले आफूलाई चाहिने चामल, दाल, तरकारी आफै लिएर गएको थियो । टिमको खानपिनको सम्पूर्ण बन्दोबस्तीसहित हिँड्दा पनि रत्तिभर दुःख अनुभूति भएन । निकै उत्साहित भएर बृहत् खेलकुद्मा भाग लिन गएका थियौँ । अरू बेला त खास त्यस्तो केही लाग्दैनथ्यो, नदी पार गर्ने बेलाचाहिँ चामलको बोरा कसले बोक्ने भन्ने पिरलो हुन्थ्यो । अग्रज दाइहरू भनिहाल्थे, ‘भारोत्तोलनवाला खेलाडी बलिया छन्, सुरेन्द्रहरूले बोक्छन् ।’

अग्रज दाइहरूको वचन काट्नु कल्पनाबाहिरको कुरा थियो । कसैले पनि नाइँ भन्ने आँट गर्दैनथ्यौं। अनुशासनको डोरीले यति कसिलोसँग बाँधेको थियो कि कोही फुस्किने सम्भावनै थिएन । अनि, चामलको बोरा म र मनोजले बोकेर नदी पार गरेर खस्यौली पुर्यौं। खस्यौलीदेखि नारायणघाटसम्म बस चल्थ्यो । नारायणी नदीमा पनि पुल थिएन । त्यहाँ पनि झोलुङ्गे पुलबाट नदी तरेपछि बल्ल सिधा काठमाडौंको बस फेला पथ्र्यो । ठाउँठाउँमा चामल बोक्दै झोलुङ्गे पुल तर्दै बल्लतल्ल काठमाडौं पुगियो ।

० ० ० ० ० ०

बृहत् राष्ट्रिय खेलकुद्को आयोजनासँगै नेपाली खेलकुदले नयाँ दिशा लिएको हो । खेलाडीहरू खेलको बिशिष्टीकरणतर्फ लागे । अर्थात् मेरो लागि भारोत्तोलन लक्ष्य बनिसकेको थियो । नेपाली खेलकुद विकासको आधारस्तम्भ भनेकै वास्तवमा बृहत् राष्ट्रिय खेलकुद नै हो ।

बृहत् राष्ट्रिय खेलकुद्को आयोजनासँगै नेपाली खेलकुदले नयाँ दिशा लिएको हो । खेलाडीहरू खेलको बिशिष्टीकरणतर्फ लागे । अर्थात् मेरो लागि भारोत्तोलन लक्ष्य बनिसकेको थियो । नेपाली खेलकुद विकासको आधारस्तम्भ भनेकै वास्तवमा बृहत् राष्ट्रिय खेलकुद नै हो । त्यसको सुरुवाती साक्षी बन्न पाएकोमा अहिले पनि मलाई खुशी लाग्छ, आफूलाई सौभाग्यशाली ठान्छु । अरू देशमा पहिल्यै यो अभ्यास थालिएको थियो, नेपालमा भने बल्ल सुरु हुँदै थियो ।  हक्की, निडर र सिर्जनशील क्षमताका धनी थिए, शरदचन्द्र शाह । उनैले त्यसको अगुवाई गरे । म जस्तै त्यो पुस्ताका अधिकांश नेपाली खेलकर्मीहरू उनलाई बृहत राष्ट्रिय खेलकुदका जन्मदाताका रूपमा सम्झिन्छन् । बृहत् प्रतियोगिताको आयोजनाले नेपाली खेलकुदमा ठुलो हलचल ल्याइदियो, एक प्रकारको क्रान्ति नै ल्यायो भन्दा पनि हुन्छ । त्यसको जगबाट अहिलेको अवस्थामा आएको हो नेपाली खेलकुद । तर विडम्बना प्रतियोगिता आरम्भको तीन दशकमा बृहत् खेलकुदका ६ वटा संस्करण मात्र हुन सके ।

ओलम्पिक खेलकुद, एशियाली खेलकुद र विश्वकप फुटबलजस्ता बृहत् प्रतियोगिताहरूले विश्वलाई एउटै मालामा जोड्दै थियो । त्यसको प्रभाव पनि कुनै न कुनै रूपमा नेपाली खेलकुदमा पर्ने नै भयो । नेपालमा पनि एकपछि अर्को नयाँ खेल भित्रिइरहेका थिए । त्यसले नेपाली खेलकुदको दायरा पनि फराकिलो बन्दै थियो । राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहको भूमिका महत्वपूर्ण रह्यो । उनले बृहत् खेलकुदको अवधारणा ल्याउनुमा उनको अन्तर्राष्ट्रिय खेलकुदप्रतिको चासो र जानकारी पनि प्रमुख हो । अर्को रोचक कारण पनि चर्चामा थियो ।

स्वर्गीय राजा वीरेन्द्र बंगलादेशको भ्रमणमा थिए । त्यही बेला ढाकामा मिनी ओलम्पिक भइरहेको रहेछ । बंगलादेशको खेलकुद हेरेपछि राजा वीरेन्द्र निकै प्रभावित भएछन् । स्वदेश फर्किएपछि उनले शरदचन्द्रलाई दरबारमै बोलाएर नेपालमा पनि त्यस्तै बृहत् खेलकुद् प्रतियोगिता आयोजना गर्न निर्देशन दिएछन् । शरदचन्द्र संभवतः यस्तै अवसरको पर्खाइमा थिए । सक्रिय पनि उत्तिकै । कुनै योजना साेंचे पछि पूरा गरेरै छाड्ने स्वभावका थिए । राजा वीरेन्द्रको निर्देशनपछि उनले तत्कालै तयारी थाले । राखेप बोर्ड बैठक बोलाई निर्णय गराए, अनि आफै पनि जुटे । 

खेल पूर्वाधार थिएनन् । खेलकुदका पदाधिकारीहरु समेत बृहत् स्पर्धाबारे अनभिज्ञ थिए । हरेक प्रतिस्पर्धाहरू नौला थिए । अन्यौल किन पनि थियो भने प्रतियोगिता पहिलोपल्ट हुँदै थियो । अनि खेलको व्यवस्थापन र अनुभव पहिलो थियो । तर खेल पदाधिकारीहरुको रातदिनको मेहनत, धैर्य र साहसले सो प्रतियोगिता नेपाली खेलकुद इतिहासकै कोशेढुङ्गा बन्न पुग्यो ।

२०३८ साल भदौ २७ गते एउटा भव्य समारोहबिच राजा वीरेन्द्रले बृहत् खेलकुद्को उद्घाटन गरे । त्यो साँच्चै भव्य थियो । देख्नेसुन्नेहरू भन्थे, २०३१  सालमा वीरेन्द्रको शुभराज्याभिषेकमा दशरथ रङ्गशालामा गरिएको छात्रछात्राहरूकोे प्रस्तुतिमा भव्य सहभागिता थियो रे । त्यसबाहेक नेपालमा फुटबल प्रतियोगितामा धेरै दर्शक जुट्थे । तर यसपटक भने झण्डै १५ सय खेलाडी र दर्शकको भीडको व्यवस्थापन थामिनसक्नु थियो । तर सदस्यसचिव शाहको कार्यकुशलताले यो सबै सहज ढङ्गले अघि बढ्यो । 

छात्रछात्राको प्रस्तुति, परम्परागत सांस्कृतिक झाँकीहरूले दशरथ रङ्गशाला रङ्गीविरङ्गी भएको थियो । नेपाली खेल इतिहासमा पहिलोपल्ट १५ सय खेलाडीले मार्चपास गरेका थिए । विभिन्न १६ खेल खेलाइएका थिए । तीमध्ये ७ खेल भर्खर भित्रिएका थिए । नौ वटा भने एशियाली प्रतियोगितामा समावेश हुने खेल थिए । खेलमा विभिन्न अञ्चलका खेलाडीले २ सय २६ पदकका लागि सङ्घर्ष गरेका थिए ।

नौला खेलहरूप्रति दर्शकको आकर्षण र चासो धेरै थियो । प्रशस्त अभ्यास वा जानकारीविना भित्रिएको खेल दर्शकले नरुचाउलान् कि भन्ने अर्को चिन्ता थियो । अरू सबै राम्रै थियो । तर नेपाली माँैलिक परम्पराको डन्डीबियो खेल स्पर्धामा नराखिएको भन्दै राखेप नेतृत्वको आलोचना भएको थियो ।

प्रतियोगिता सञ्चालन गर्न सरकारले ८ लाख ७६ हजार रूपैयाँ बजेट निकासा गरेको थियो । त्यति धेरै बजेट खेलकुदमा खर्चिनुको अर्थ नहुने भन्दै एकथरिबाट आलोचना पनि गरियो । तत्कालीन अधिराजकुमार धीरेन्द्र शाह राखेपको संरक्षक थिए । राजपरिवारको साथ खेलकुदमा थियो । त्यसैले खुलेर कसैले बिरोध भने गरेनन् । त्यसैले, प्रतियोगिता विना कुनै बाधाव्यवधान सम्पन्न भयो । समापन समारोहमा खेलाडीलाई हौसला साथै पुरस्कार र पदक प्रदान गर्न पनि राजा वीरेन्द्र आफै सरिक थिए ।

(किर्तिमानी खेलाडी सुरेन्द्र हमालको आत्मकथा ओलम्पियनको पुस्तक अंशबाट) 

 

 

प्रकाशित: ५ आश्विन २०७३ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App