८ वैशाख २०८१ शनिबार
राजनीति

अखाद्य वस्तु मिसावट गर्ने सबैलाई जेल हालिन्छ : कृषिमन्त्री

काठमाडाैं- कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि कडा कारवाही गर्ने दृढता व्यक्त गरेका छन्।

उनले भने, “खाद्य पदार्थमा मिसावट गर्नेलाई कानूनअनुसार कारवाही हुन्छ, हदैसम्मको कारवाही गर्न सरकार तत्पर छ। वर्षभरि नै दूध, तेल र पानीमा स्वच्छता अभियान सञ्चालन गरिएको छ।” 

मंगलवार यहाँ आयोजित ‘समृद्धिका लागि सहकार्य, कृषि क्षेत्रको विकास अपरिहार्य’ विषयक विचार गोष्ठीमा मन्त्री खनालले जनताको स्वास्थ्य माथि खेलबाड गर्ने छुट कसैलाई नभएको बताए। 

मुख्य शहरमध्ये झण्डै ५० लाख मान्छेको बसोबास भएको काठमाडौँमा अखाद्य वस्तुको मिसावट सबैभन्दा बढी हुने गरेको उनको भनाइ छ। अनुगमन र कडाइपछि अहिले दूध ढुक्कले खान मिल्ने अवस्थामा पु-याएको भन्दै मन्त्री खनालले तेल, पानी र मासुमा भने अझै सुधार नभएको बताए। 

“अहिले नै म पानी, तेल र मासु ढुक्कले खानुस् भन्न सक्ने अवस्थामा छैन”, मन्त्री खनालले भने, “राज्यले नियमन गर्ने संयन्त्रको विकास नै गर्न सकेको रहेनछ। तर केही समयपछि नै खान मिल्ने बनाइन्छ, अखाद्य वस्तु मिसावट गर्ने सबैलाई जेल हालिन्छ।” अनुगमन गर्दा खान नमिल्ने पानी बेच्ने २२ वटा पानी उद्योगमा तालाबन्दी गरिएको पनि मन्त्री खनालले जानकारी दिए। रासस

प्रकाशित: २३ आश्विन २०७५ १६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App