coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न पण्डितको निर्देशन

रौतहट– सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन्। रौतहट सदरमुकाम गौरमा मंगलवार कर्मचारीलाई सम्बोधन गर्दै मन्त्री पण्डितले जननिर्वाचित स्थानीय प्रतिनिधिसँग समन्वय गरेर उच्च मनोबलका साथ जनताको काम गर्न निर्देशन दिएका हुन्।

संघीयता कार्यान्वयनमा प्रारम्भमा विश्वमा जहाँ पनि केही जटिलता आउने गरेको र विस्तारै जटिलताहरु समाधान हुँदै जाने भएकोले तत्कालका समस्यालाई समन्वय गरी समाधान गर्न मन्त्री पण्डितले कर्मचारीलाई आग्रह गरे। मुलुकमा संघीयता कार्यान्वयनको अवस्थामा रहेको हुँदा अगाडि आइरहेका चुनौती र कठिनाइलाई धैर्यताका साथ सामना गर्दै देश र जनताको पक्षमा निरन्तर काम गर्न सुझाव पनि दिए।

आउँदो पुसपछि संघीयतासँग जोडिएका अधिकांश समस्या समाधान हुने दाबी गर्दै मन्त्री पण्डितले नयाँ ऐन कानुन कार्यान्वयनको अवस्थामा रहेकोमा कर्मचारीको भूमिका अति नै महत्वपूर्ण हुने बताए। कर्मचारीको अभाव भइरहेको अवस्थामा प्रादेशिक लोक सेवाको गठन नहुन्जेलसम्म केन्द्रीय लोक सेवा आयोगबाट नासु र खरिदारको भर्ना प्रक्रिया अगाडि बढाइसकेको र दशैं तिहारको विचमा योग्य उम्मेदवारहरुलाई नागरिकता लिएको जिल्लामा पदस्थापन गराउने कार्यमा प्रमुख जिल्ला अधिकारीको समन्वय हुने समेत स्पष्ट पारेका छन्।

करार र अस्थायी कर्मचारीको सन्दर्भमा आवश्यक परेको खण्डमा उनीहरुलाई राख्ने तथा आवश्यक नभएको स्थानीय तहमा तिन महिनाको तलव दिएर सौहाद्र्रपूर्ण वातावरणमा विदा गर्ने प्रावधान बनिसकेको बताउँदै मन्त्री पण्डितले आफ्नो स्थानीय तहको विशिष्ट आवश्यकतालाई कर्मचारीले बुझेर काम गर्ने कुरामा आफू विश्वस्त रहेको बताए।

करार र अस्थायी कर्मचारीहरुलाई तलव खुवाउने समस्या रहेको सुनेको थिएँ तर रौतहट आएपछि स्थायी कर्मचारीहरुको पनि तलब समस्या पहिलोपटक सुनेकोमा अर्थ मन्त्रीसंग कुरा गरेर दशैँपछि समस्या समाधान गर्ने उनको भनाई छ। 

प्रकाशित: २३ आश्विन २०७५ १४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App