coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कामपाः एकै स्थानमा कार्यालय नहुँदा सेवाग्राही मर्कामा

काठमाडौं – कलङ्कीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र लिन आएका हरि उप्रेती भूकम्पअघि काठमाडौं महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा गए।

त्यहाँ उनलाई ‘सुनधाराको हरिभवनमा जानुस्’ भनियो। उनी हरिभवन जाँदा पनि उनको काम हुने सुरसार नभएपछि उनले ‘नक्शाको काम कहाँ हुन्छ’ भनी सोद्धा बबरमहल भनियो। उप्रेती त्यसतर्फ त्यता लागे।

त्यस्तै अर्का नगरवासी कुमार कार्की बालाजुबाट नक्शा पास गर्नका लागि आए तर उनलाई पनि महानगरको सो विभाग अन्त सरेको विषयमा जानकारी थिएन। कार्कीले भने, ‘स्थानको अभाव भएपछि अन्यत्र सरे पनि कुनै सूचनामार्फत नागरिकलाई जानकारी दिनुपर्छ, अन्यथा नागरिले दुःख पाउनेछन्।’

कार्की र उप्रेती त प्रतिनिधि पात्र मात्रै हुन्। हरेक दिन कामपामा फरक फरक सेवा लिनका लागि सयौँको सङ्ख्यामा नागरिक आउँछन्। पहिले सेवा लिँँदै आएको स्थान अन्यत्र सरेका विषयमा जानकारी नहुँदा नागरिकहरु समस्या भोग्न बाध्य भएका छन्।

कामपामा अहिले १३ विभाग छन्। तिनका सेवा कार्यालय भने पाँच स्थानमा छन्। भूकम्पअघि हरिभवनबाट आफ्नो सबै सेवा प्रदान गर्दै आएको कामपाले भूकम्पका कारण विभिन्न स्थानमा छरिएर सेवा दिँदै आएको छ। कामपाको कार्यालय विभिन्न स्थानमा छरिएर रहँदा सेवाग्राहीलाई सास्ती भएको छ। भूकम्प गएलगत्तै राष्ट्रिय सभागृहबाट सेवा दिँदै आएको कामपाका केही विभाग सुनधारामा नै रहेको जेडिए कम्प्लेक्समा छन्। त्यस्तै वातावरण विभाग टेकुमा, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा सरेका छन्।

त्यस्तै नक्शा र भौतिक पूर्वाधार महाशाखाले तत्कालीन कर कार्यालय रहेको भवन बबरमहलबाट नै सेवा दिँदै आएका छन्।

त्यस्तै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सुनधारामा रहेको जेडिए कम्प्लेक्सबाट नै आफ्नो काम गरिरहेका छन्।

ती विभाग सरेको बारे नागरिकलाई जानकारी नहुँदा नागरिकले समस्या भोग्नाका साथै तिनको समयको बर्बादी भइरहेको छ।

महानगरका उपप्रमुख खड्गीका अनुसार यी सबै समस्या भूकम्पको कारण भएको हो। त्यसअघि सबै सेवा एकै स्थानबाट दिई नै आए पनि नागरिकलाई परेको समस्याको समाधान खोज्न महानगर लागिरहेको उनी बताउँछिन्।

भूकम्पअघि सेवा दिँदै आएको हरिभवनमा पनि भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको छ। त्यसलाई भत्काएर पुनःनिर्माण गरी सोही स्थानबाट नै नागरिकलाई सेवा दिने तयारी कामपाको रहेको र भत्काउनका लागि बोलपत्र आह्वानसमेत गरिसक्दा सर्वोच्च अदालतले गत बुधबार अन्तरिम आदेश जारी गरी तत्कालका लागि भत्काउने प्रक्रिया अघि नबढाउन र अहिलेकै अवस्थामा संरक्षण गर्न आदेश दिएको छ। कामपाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार नागरिकलाई सास्ती दिने कामपाको उद्देश्य नभई कार्यालयका लागि भाडाको भवन खोज्ने क्रममा जहाँ जहाँ प्राप्त हुन्छ त्यहीँ लिइएको बताउछन्। ‘महानगरमा धेरै विभाग छन्, त्यसमा प्रमुख र उपप्रमुखको लागि पनि त छुट्टै स्थान चाहियो, विकल्प नभएर नै नागरिकले समस्या भोग्नुपरेको हो’, आचार्यले भने।

टेकुमा रहेको वातावरण विभागले भूकम्पअघिदेखि नै नागरिकलाई उक्त स्थानबाट सेवा दिँदै आएको भए पनि अन्य विभाग भने भूकम्पपछि र केही त एक महीनाअघि मात्र सुनधाराबाट अन्यत्र सरेका हुन्। (शर्मिला पाठक/रासस)

प्रकाशित: २३ आश्विन २०७५ ०६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App