८ वैशाख २०८१ शनिबार
अर्थ

केरा बजारमा बिचौलिया हावी

बारीमै पाक्ने अवस्थामा रहेको केराको घारी। तस्बिर : योगेस/नागरिक

टीकापुर - काठमाडौंका व्यापारी डम्बर बस्नेत लगायत तीनजनाले साताअघि टीकापुरबाट केरा किनेर लगेका थिए । उनीहरुले तीनजना किसानको बारीबाट तीन ट्रक केरा किने।

काठमाडौंबाट व्यापारी बारीमै पुगेर केरा किन्न थालेपछि किसानहरु निकै हौसिए। उनीहरु केराले राम्रो बजार पाएकोमा खुसी देखिन्थे । दुर्भाग्य किसानको खुसी धेरै दिन टिक्न सकेन।

केरा किनेर लगेका तीनैजना व्यापारी त्यसपछि किसानको सम्पर्कमा आउन चाहेनन्। उनीहरुले केराको कारोबारका बारेमा खुलेर कुरा गर्न छाडेका छन्। किसानका अनुुसार उनीहरु दलालको दबाबमा परेका छन्। दलालले उनीहरुलाई केरा किन्न टीकापुर पुगेकै बेला पनि रोक्न खोजेका थिए। उनीहरुले जसोतसो केरा किनेर फर्केको किसान रामबहादुर कुँवर बताउँछन्। ‘केरा किन्न आएकै बेला व्यापारीहरु निकै दबाबमा थिए,’ उनले भने, ‘दलालले बारम्बार फोन गरेर धम्काइरहेको थियो।,’

नेपाली फलफूल बजार दलालको कब्जामा रहेको किसानको आरोप छ। उनीहरु आफ्नो उत्पादनलाई बजारमा जानै नदिने गरी दलालले बन्देज लगाएको बताउँछन्। दलालले नेपाली केरा बेच्न व्यापारीलाई रोक लगाएका छन् । उनीहरुले भारतीय केरा बिक्री गर्न दबाब दिने गरेको पाइएको छ।

दलालले भारतीय केरा नबेच्ने व्यापारीलाई अन्य फलफूलसमेत उपलब्ध नगराउने चेतावनी दिने गरेका छन्। व्यापारीले दलालमार्फत भित्रिएको अन्य फलफूल बेच्नुपर्ने बाध्यता छ। काठमाडौंलगायत मोफसलका बजारमा समेत दलालले नै फलफूल उपलब्ध गराउने गरेका छन्।

‘हाम्रो केरा नबेच्ने हो भने अन्य फलफूलसमेत स्थानीय नै बेच्नु भनेर धम्की दिने रहेछन्,’ केरा किसान टेकेन्द्र धामीले भने, ‘अन्य फलफूल बेच्न नपाउने भएपछि व्यापारीले दलालले भने अनुसार नै गर्नुपर्ने बाध्यता रहेछ।,’

काठमाडौंमा केराको मूल्य छोइनसक्नु छ। बुटवल, नारायणघाट, कोहलपुरलगायत बजारमा समेत ८० देखि सय रुपैयाँ दर्जनमा केरा बिक्री भइरहेको छ। किसानले भने प्रतिदर्जन १५ रुपैयाँमा केरा बेच्न सकेका छैनन्। ‘पूरै केरा किन्ने हो भने १५ रुपैयाँमा दिन्छु भन्दा पनि कोही तयार छैनन्,’ किसान कुँवरले भने, ‘यो भन्दा कम कतिमा दिन सकिन्छ।’

चेम्बर (केरा पकाउने घर) मा समेत दलालले नै लगानी गरेका छन्। उनीहरुले नेपाली केरा चेम्बरमा राख्न समेत बन्देज लगाएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा तीनवटा चेम्बर छन् । ती मध्ये एक भारतीय नागरिकको लगानीमा सञ्चालित छ। उसले भारतीय केरा आउन छोडेपछि नेपाली केरा राख्नुको साटो चेम्बर नै बन्द गरेको किसान बताउँछन्। बाँकी दुईवटा चेम्बरले समेत केरा बिक्री हुन छाडेपछि नेपाली केरा पकाउने तर्फ चाँसो देखाउन छाडेका छन्। बुटवलमा रहेको चेम्बरमा समेत नेपाली केरा पकाउन रोक लगाइएको छ।

केरा बिक्री नभएपछि किसान टाँट पल्टिने अवस्था आएको छ। तर भारतीय केरा बेचेर दलाल भने आर्थिक रुपमा निकै सम्पन्न भइरहेका छन्। उनीहरुले पूरै बजार आफ्नो कब्जामा लिएर आफूूहरुलाई धरासायी बनाउने काम गरिरहेको किसानहरु बताउँछन्।

‘हामी कुन दिन घरजग्गा लिलाम भएर रोडमा आउनुपर्ने अवस्था सिर्जना भएको छ,’ केरा किसान बिनोद साहले भने, ‘तर दलालहरु दिनप्रतिदिन मोटाइरहेका छन्।’

किसानहरु भारतीय केरामा रोक लगाउन माग गर्दै प्रदेश सरकार समक्ष हारगुहार गरिरहेका छन्। उनीहरुले सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का मुख्यमन्त्रीलाई ज्ञापन पत्रमार्फत आफ्ना समस्या राखेका छन् । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका नाका हुँदै भारतीय केरा भित्रिने क्रम रोकिएको छ। नेपालगञ्जको नाकाबाट अनियन्त्रित रुपमा केरा भित्रिने गरेको किसानले बताए। उनीहरुले नेपालगञ्ज र भैरहवा नाकामा समेत रोक लगाउन किसानले माग गरेका छन्।

मुख्यमन्त्रीद्वयले भारतीय केरा आयातमा रोक लगाउन संघीय सरकारले नीति बनाउनुपर्ने धारणा व्यक्त गरेको किसानले जानकारी दिए। किसानहरुले नीति बनाएर भएपनि स्वदेशी उत्पादनको प्रवद्र्धनमा राज्य गम्भीर बन्न आग्रह गरेका छन्।

प्रकाशित: २३ आश्विन २०७५ ०६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App