coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालको लगातार चौंथो जित, भुटान ३३ रनमा अलआउट

काठमाडौं – नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार चौंथो जित निकालेको छ। मलेसियामा जारी प्रतियोगिताको आफ्नो चौंथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

नेपालले जितका लागि दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमा अलआउट हुँदै ३३ रनमा समेटियो। भुटानका लागि तेन्जीन वाङचुकले सर्वाधिक ११ रन बनाएपनि अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। उनले १९ बलमा २ चौंका प्रहार गरे।

त्यस्तै सन्जिभन गुरुङले ६, रन्जुङ मिक्यो दोर्जीले ५ र रमेश लिम्बुले नटआउट ४ रन बनाए। १६ रन जोड्दा ९ विकेट गुमाएको भुटानका लागि तेन्जीन वाङचुक र रमेश लिम्बुले १७ रनको साझेदारी गर्दै टोलीको स्कोर केही उकासेका थिए।

नेपालका लागि सन्दीप लामिछाने र ललितनारायण राजवंशीले ३–३, बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र सरद भेषावकरले एक–एक विकेट लिए।

यसअघि युकेएम वाईएसडी ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभरमा ४ विकेट गुमाइ १ सय ५० रन बनाएकाे थियाे। नेपालका लागि ओपनिङ ब्याट्सम्यान प्रदिप ऐरीले नटआउट ७५ रनको योगदान दिए। उनले ६८ बलमा ६ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै करण केसीले नटआउट ११ रन बनाए। उनले ५ बलमा १ छक्का प्रहार गरे।

अनिलकुमार शाहले २७ रनको योगदान दिए। ११.१ ओभरमा दोस्रो विकेटको रुपमा आउट हुनुअघि शाहले २१ बलमा २ चौंका र १ छक्का प्रहार गरे।

आरिफ शेखले १५ बलमा १३ रन बनाए। उनी १५.३ ओभरमा तेस्रो विकेटको रुपमा रमेश लिम्बुको बलमा क्याच आउट भए।

दिपेन्द्र सिंह ऐरीले १५ रन बनाए। १८.२ ओभरमा आउट हुनुअघि दिपेन्द्रले १० बलमा २ चौंका प्रहार गरे।

पहिलो ओभरको तेस्रोे बलमा अर्का ओपनर विनोद भण्डारी थिन्लेको बलमा क्याच आउट भएपछि नेपालले सुरुवातमै विकेट गुमाउन पुगेको थियो।

भुटानका लागि सन्जिभन गुरुङ, जिग्मे सिंहए, थिन्ले जेम्थसो र रमेश लिम्बुले एक–एक विकेट लिए।

नेपालले यसअघि खेलेका तीन खेलमा जित निकालेको थियो। नेपालले गत बुधबार भएको पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा शनिबार आयोजक मलेसियालाई समान ८ विकेटले हराएको थियो। त्यस्तै तेस्रो खेलमा थाइल्याण्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो। जारी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा छ। नेपालले ४ खेलबाट ८ अंक बनाएको छ।

यता, भुटानले ३ खेलबाट २ अंक जोडेको छ। प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक  मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन्। समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन्।

युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन्। अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर  १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ। प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २३ आश्विन २०७५ ०५:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App