coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘घुस लिएको आरोपमा इन्टरपोल प्रमुख मेङ पक्राउ’

बेइजिङ (बिबिसी) – चीनमा पक्राउ परेका अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका प्रमुख मेङ होङ्वेईमाथि घुस लिएको अभियोगमा अनुसन्धान भइरहेको चिनियाँ अधिकारीहरुले घोषणा गरेका छन्।

मेङ इन्टरपोलको फ्रान्सस्थित मुख्यालयबाट चीनतर्फ गएपछि हराएको भनेर पहिलो पटक सार्वजनिक भएको थियो।

इन्टरपोलको फ्रान्सस्थित मुख्यालयबाट सेप्टेम्बर महिनाको अन्त्यमा चीन गएका मेङ त्यसपछि हराएको भन्ने विवरण सार्वजनिक भएको थियो । हराएको दिन मेङले आफूलाई चक्कु इमोजीसहितको टेक्स्ट म्यासेज पठाएको उनकी पत्नीले खुलासा गरेकी छन् । घुस लिएको अभियोगमा अनुसन्धान भइरहेको भन्ने चिनियाँ अधिकारीको खुलासापछि चीनमा जारी भ्रष्टाचारविरुद्धको अभियानमा पछिल्लो पटक निशानामा पर्ने उच्च अधिकारीमा मेङ परेका छन् । मेङ चीनको सार्वजनिक सुरक्षाका लागि उपमन्त्रीसमेत हुन् । मेङविरुद्धको अनुसन्धान राष्ट्रपति सी चिनफिङ प्रशासनको भ्रष्टाचार विरोधी अभियानअन्तर्गतको सही र बुद्धिमतापूर्ण कार्य भएको चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले गरेको अनुसन्धानको विवरण सार्वजनिक गर्दै बताएको छ।

मेङ अध्यक्ष रहेको इन्टरपोल विश्वभरका विभिन्न प्रहरी संगठनलाई सहकार्य गराउने विश्वव्यापी नीतिगत एजेन्सी हो । इन्टरपोलले विश्वभरबाट हराएका मानिस र खोजीमा रहेका मानिसको खोजीसमेत गर्ने गर्दछ।

इन्टरपोलको सांगठनिक संरचनाअनुसार इन्टरपोलका महासचिवले १९२ सदस्य राष्ट्र रहेको संगठनको दैनिक प्रशासन हर्ने गर्दछ । इन्टरपोलको अध्यक्षको भूमिका आलंकारिक हुने गर्दछ।

मेङ हराइरहेको भन्ने विवरण गत साताको शुक्रबार सार्वजनिक भएपछि उनलाई चीन सरकारले हिरासतमा लिएको हुनसक्ने अड्कलबाजी भएको थियो । पछिल्ला केही महिनाभित्र चीनका उच्च सरकारी कर्मचारी, अर्बपति र सेलिब्रिटीसमेत बेपत्ता भएका विवरण बाहिरिने गरेका छन्।

जुलाई महिनामा बेपत्ता भएकी अभिनेत्री फान बिङबिङ सार्वजनिक माफी माग्दै सार्वजनिक भएकी थिइन् । उनलाई कर छली गरेको र अन्य अभियोगमा चीन सरकारले एक करोड २९ लाख अमेरिकी डलर जरिवानासमेत गराएको थियो । कुनै बेला इन्टरपोलमा मेङ अध्यक्ष हुनुलाई चीनले अत्यन्तै गौरवको विषय मानेको थियो । त्यसरी  गौरव मानिएका मेङले कसलाई रिस उठाए वा राष्ट्रपति सीको भ्रष्टाचार नियन्त्रणसम्बन्धी अभियानमा तारो बन्ने के काम गरे भन्ने विषय विश्वभरबाट खोजीको विषय बनेको बिबिसीले जनाएको छ।

इन्टरपोलले के भनेको छ?
आपतकालीन असरसहित मेङले अध्यक्ष पदबाट दिएको राजीनामा आफूले प्राप्त गरेको इन्टरपोलले आइतबार ट्विटरमार्फत जारी गरेको विज्ञप्तिमा जनाइएको छ । मेङको राजीनामा आइसकेपछि इन्टरपोलको नियमअनुसार दक्षिण कोरियाली नागरिक एवं संगठनका वरिष्ठ उपाध्यक्ष किम जोङ–याङलाई कार्यवहाक अध्यक्षका रूपमा नियुक्त गरिएको छ । दुबईमा अर्को महिना हुने इन्टरपोलको महासभामा मेङको बाँकी रहेको दुई वर्षीय कार्यकालका बारेमा म्यानडेट पाएपछि नयाँ अध्यक्ष छानिने बताइएको छ । अन्तर्राष्ट्रिय प्रहरी निकायले शनिबार चीन सरकारसँग मेङको अवस्था सार्वजनिक गर्न आग्रह गरेको थियो । उसले आफ्ना अध्यक्ष सकुशल रहेको भन्ने विषयमा सचेत रहेको भन्दै चीनलाई उनको अवस्थाबारे सार्वजनिक गर्न आग्रह गरेको थियो । चीन सरकारले लगाएको आरोपबारे हालसम्म मेङको अभिव्यक्ति वा धारणा भने सार्वजनिक नभएको बिबिसीले उल्लेख गरेको छ।

उनकी पत्नीले के भनिन्?
मेङ बेपत्ता भएपछि उनको पत्नीलाई पनि सुरक्षा चुनौती थपिएको भन्दै फ्रान्सेली प्रशासनले उनलाई प्रहरी सुरक्षा प्रदान गरेको छ । त्यसैगरी फ्रान्सले मेङ बेपत्ताको घटनाबारे अनुसन्धान पनि सुरु गरेको छ।

मेङलाई पक्राउ गरिएकोबारे चीनले पुष्टि गरेपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनकी पत्नी ग्रेस मेङले आफ्ना पति खतरामा रहेको हुनसक्ने बताएकी छन् । उनले आफ्ना पतिलाई फेला पार्न सहयोग गरिदिनका लागि अत्यन्तै भावुक शैलीमा अन्तर्राष्ट्रिय सहयोगको याचना गरेकी छन्।

हराएको दिन खतराको संकेत देखाउँदै चक्कु इमोजीसहित म्यासेज गर्नुभन्दाअघि मेङले आफूलाई सामाजिक सञ्जालमा फोन कुर्न भनेको ग्रेसले बताएकी छन्।

सुरक्षाका कारण क्यामेरामा मुख नदेखाइ पत्रकारसँग बोलेकी ग्रेसले नचिनिने शैलीमा चिनियाँ र अंग्रेजी भाषामा तयार पारिएको विज्ञप्ति पढेकी थिइन् । ‘हामी जहिले पनि हाम्रो मनबाट जोडिएका छौं । मैले यसो गर्दा उहाँले सहयोग गर्नुहुन्छ । यो विषय निष्पक्षता र न्यायसँग सम्बन्धित रहेको छ । विषयले अन्तर्राष्ट्रिय समुदायसँग सरोकार राख्दछ । यस विषयले मेरो मातृभूमिका जनतासँग पनि सरोकार राख्दछ,’ पत्रकार सम्मेलनमा मेङ पत्नी ग्रेसले बताइन्।

प्रकाशित: २३ आश्विन २०७५ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App