coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

नोबल स्तरको अनुसन्धान

यस वर्षकालागि नोबल पुरस्कारको घोषणा सकियो । रशायनशास्त्र, भौतिकशास्त्र र आयुर्विज्ञान क्षेत्रका नोबल पुरस्कारको घोषणा सुन्न संसारभरका बैज्ञानिक आतुर हुन्छन् । आफ्नो अनुसन्धानले मानव समाजलाई दीर्घकालीन लाभका अवसर दिएको ठान्नेहरूका नजर उद्घोषका समय स्टकहोममा हुनेनै भयो । सम्मान पाउने सूचीमा को को परे ? आफ्ना सहकर्मी, शुभेच्छु तथा मार्गदर्शकहरूसूचीमा समेटिए/समेटिएनन् भन्ने जिज्ञासा नहुने अनुसन्धानकर्ता विरलै हुन्छन् । आफू आबद्ध संस्थाले उच्च पुरस्कार हत्याउँदा को खुसी हुदैन र?

ग्रयाभिटेसनल बेभको चामत्कारिक अनुसन्धान गरेबापत गत वर्ष क्यालिफोर्निया इन्स्टिच्युट अफ् टेक्नोलोजी (क्याल्टेक)का दुई प्राध्यापकले फिजिक्सको नोबल पुरस्कार पाए । यस वर्ष फेरि क्याल्टेककै प्राध्यापक फ्रयान्सिस अर्नोल्डले रशायनशास्त्रको नोबल पुरस्कार हत्याइन् । समयको परिवर्तनसँगै प्रकृतिले प्राणी तथा वनस्पतिमा सामयिक परिवर्तन ल्याउँछ भन्ने डार्बिनको क्रमिक विकासको सिद्धान्तलाई अर्नोल्ड ल्याबले ‘टेस्ट टिउव’ मा गरेर देखायो । जीवले बदलिँदो वातावरणमा बाँच्नका लागि आफ्नो अणुवांशिक पदार्थ (डिएनए) मा क्रमिक परिवर्तन ल्याउँछ । डिएनएको बदलाबले फरक प्रोटिनको उत्पादन हुने हो ।परिवर्तित अणुवांशिक पदार्थले गर्दा फेरिँदो वातावरणमा सहजै बाँच्न सक्ने क्षमता जीवले विकास गर्ने सिद्धान्त ‘थ्यौरी अफ् इभोल्यससन’ लाई ल्याबमा प्रमाणित गर्न सक्ने अबस्था आयो । प्रकृतिको परिमार्जनधीमा गतिमा हुने भएकाले डा. अर्नोल्डको ल्याबले आधुनिक डिएनए हेरफेर विधिमार्पmत नेचरले हजारौँ वर्षमा गर्ने काम प्रयोगशालामा केही महिनामै गर्न थाल्यो । डिएनए परिवर्तन गरी घरायसी फोहरलाई इन्धनमा रूपान्तरण गर्न सक्ने क्षमता राख्ने ब्याक्टेरिया बनाउने ल्याबले सम्मान पाउनेनै भयो।

क्यान्सरको उपचार विधि स्थापित गर्ने वैज्ञानिकले यस वर्ष नोबल पुरस्कार पाए । त्यसैले अब अर्बुद रोगसँग डराउनुपर्दैन भन्ने अवस्था हुँदै होइन।

यस पंक्तिकार क्याल्टेकमा कार्यरत रहँदा ‘ब्राउन ल्याबोरेटरिज’ मै अनुसन्धानशाला रहेकी डा अर्नोल्डसँग भएका औपचारिक तथा अनौपचारिक भलाकुसारीको पुनरावृत्ति गरायो, नोबल पुरस्कारको घोषणाले । सफल वैज्ञानिक हुनकालागि आआफ्ना क्षेत्रमा भएका अनुसन्धानहरूबारे पूर्णजानकार हुनैपर्छ तर नोबल पुरस्कारको हक राख्ने रिसर्चका लागि ति प्रकाशित लेखहरूले कुनै पनि मद्दत गर्दैन बरुकसैले पनि नसोचेको जोखिमपूर्ण अवधारणालाई तार्किक निष्कर्षमा पु-याउन आवश्यक हुन्छ भन्ने वैज्ञानिक फ्रयान्सिसकोविचारसँग असहमत हुनुपर्ने अवस्था देखिन्न ।नवीन प्रोटिनको उत्पादन र प्रशोधनका क्रममा आफूलाई उनले दिएको मार्गदर्शन र सहयोगप्रति आभार प्रकट गर्दै उच्चतम सम्मानकालागि डा. फ्रयान्सिस अर्नोल्डलाई हार्दिक बधाई पस्किए।

मानवस्वास्थ्यमा प्रत्यक्ष प्रभावपार्ने भएकाले आयुर्विज्ञानको नोबल पुरस्कारले बेग्लै महत्व राख्छ । यो वर्ष क्यान्सरको इलाजमा नयाँ उपचार विधि स्थापित गरेबापतसंयुक्त राज्य अमेरिकाका जेम्स एलिसन र जापानका टासुकु होन्जुलाईसंयुक्तरूपमा चिकित्साशास्त्रको नोबल पुरस्कार दिइयो । शल्य चिकित्सा, केमो थेपापी, रेडियो थेरापी, इन्जाइम थेरापी, स्टेम सेल आधारित इलाजलगायतका विधि स्थापित हुँदासमेत क्यान्सरलाई मेडिकल साइन्सले जित्न नसकेको अवस्थामा इम्युनो थेरापीमार्पmत निश्चित प्रकृतिको अर्बुदरोग बिसेक पार्न सफल भएकाले उनीहरूलाई उच्च सम्मान दिइयो।

क्यान्सरको उपचार विधि स्थापित गर्ने वैज्ञानिकले यस वर्ष नोबल पुरस्कार पाए । त्यसैले अब अर्बुद रोगसँग डराउनुपर्दैन भन्ने अवस्था हुँदै होइन । अर्बुद रोग हिजो पनि महारोगका रूपमा थियो र आज पनि त्यसको आयतनमा कुनै पनि कमी आएकोछैन । खरबौँ डलरको लगानी र हजारौँ वैज्ञानिकले अहोरात्र खट्दा पनि क्यान्सरको इलाजले मूर्त रूप लिन नसकेको अवस्थामा नयाँ उपचार पद्धतिको स्थापना र त्यसले आंशिक सफलता हासिल गरेको अवस्थामा इम्युनो थेरापीका आविष्कारकले उच्च सम्मान पाए । क्यान्सर इलाजको जटिलता हेर्दा उक्त सम्मान अस्वाभाविक होइन । नोबल पुरस्कार दिलाउन सफल इम्युनोथेरापी र उक्त उपचार विधिको भविश्यका सम्बन्धमा चर्चा गर्नु यो लेखको मर्म रह्यो।

अन्यत्रझैँ उत्साहप्रद् नतिजा नआए साइन्समा पनि सामान्य अनुसन्धानकर्ताको ध्यान अन्यत्र मोडिन्छ, फरक प्रोजेक्टमा काम गर्न थाल्छन् । तर केही वैज्ञानिक भने आफ्नो प्रारम्भिक अवधारणाबाट पछि फर्कँदैनन् बरु आफ्नो अनुसन्धानलाई निरन्तरता दिन्छन् । परिपाटी हेर्दा त्यही जोखिम मोल्न सक्ने एकलव्य अनुसन्धानकर्ताले नै हो नोबल पुरस्कार पाउने ।

जतिसुकै स्वच्छ वातावरणमा बसे पनि दैनिकरूपमा हजाराैं सूक्ष्म जीवाणुले हामीलाई आक्रमण गरिरहेका हुन्छन् । त्यसमाथि काठमाडौँको वातावरणीय प्रदूषण र फोहोर व्यवस्थापनको बेथितिले उक्त दयनीय अवस्थालाई थप बेहाल बनायो । दैनिकरूपमा असंख्यजीवाणुले आक्रमण गर्दासमेत हामीलाई रोग लागिहाल्दैन । आखिख के कारणले त्यस्तो हुन्छ त? भन्ने प्रश्न उठ्नेनै भयो।

कीटाणुको बाह्य आक्रमणबाट बच्नकालागि प्रकृतिले हाम्रो शरीरमा सशक्त प्रतिरक्षा प्रणाली स्थापित गरेको हुन्छ । समष्टिगतरूपमा अन्तरनिहित प्रतिरक्षा प्रणालीलाई इम्युन सिस्टम भनिन्छ । ब्याक्टेरिया, भाइरसलगायतका सूक्ष्म जीवाणुले आक्रमण गर्दा हाम्रो रगतमा रहेको श्वेत रक्त कणिकाका मुख्यतः दुई सेल (कोष)हरू, बि सेल र टि सेल, क्रियाशील हुन्छन् । त्यसमध्ये पनि बाह्य संक्रमित जीवाणुलाई परास्त पार्न टि सेलको महत्वपूर्ण भूमिका रहन्छ । त्यसै क्रममा टि कोषले सर्वप्रथम ती संक्रमणकालीन जीवाणुहरू कस्ता हुन् भनी प्रक्षेपण गर्छन् र तद्अनुरूपको बायोलोजिकल प्रतिरक्षा प्रणाली विकास गर्छन्। र, खराब जीवाणुलाई मार्छ र हामीलाई रोग लाग्न दिँदैन । यो प्रक्रिया दैनिकरूपमा निरन्तर चल्छ।

बाह्य कीटाणुले हाम्रो प्रतिरक्षा प्रणालीलाई परास्त गर्दा हामी रोगी हुन्छौँ । कदाचित रोग लागिहाल्यो भने पनि हाम्रो इम्युन सिस्टमले निरन्तर बाह्य शक्तिसँग लडिरहन्छ । त्यसै कारणले ब्याक्टेरियाको संक्रमणबाट थलिए पनि उक्त सूक्ष्म जीवाणु मार्ने एन्टिबायोटिक्स नखाँदा पनि हामी स्वस्थ हुन्छौँ । इम्युन सिस्टम प्रकृतिले दिएको सबैभन्दा उपल्लो दर्जाको ओखतीहो भन्दा अन्यथा नहोला। एचआइभी/एड्स लागेकाको हकमा शरीरको प्रतिरोधात्मक क्षमता अति कमजोर हुन्छ । त्यसैले जुनसुकै जीवाणुले आक्रमण गरे पनि एड्स लागेको व्यक्ति थलिन्छ, मर्छ।

युद्धको मैदानमा होमिएका दुई पक्षका लडाकुले आफ्नो पक्षका सिपाहीलाई सहजै चिन्ने अनि अर्कोतर्पmका योद्धालाई मात्र आक्रमण गरेझैँ हाम्रो प्रतिरक्षा प्रणालीका रक्षक कोषहरूले पनिशरीरका आफ्ना र बाह्य संक्रमणकारी कोषहरूसहजै पहिचान गर्छन् अनि पराया कोषलाईमात्र परास्त गर्छन् । कहिलेकाहीँ सैनिकले आफ्नै पक्षकायोद्धाको हत्या गरेझैँ हाम्रो शरीरका रक्षक कोषले समेत आफ्नै शरीरको अंगलाई पराय ठान्छ र आक्रमण गर्छ । त्यस्तो स्वास्थ्य अवस्थालाई ‘अटो इम्युन डिजिज’ भनिन्छ । सुरक्षा गर्ने दायित्व बोकेको प्रतिरोधात्मक कोषले नै अंगमा आक्रमण गर्न थालेपछिको भयाबह अवस्थाको आकलन कठिन रहेन । अब क्यान्सर कोषको कुरा गरौँ।

हाम्रो शरीरको कोषका ‘डिएनए’ मा असामान्य परिवर्तन आएको खण्डमा क्यान्सर लाग्नेहो । अर्वुद कोषको उत्पत्ति शरीरको सामान्य सेलबाट हुने भएकाले हाम्रो इम्युन सिस्टमले क्यान्सरका कोषलाई मित्रवत् व्यवहार गर्छ । शारीरिक प्रतिरक्षा प्रणालीले क्यान्सरका कोषलाई आक्रमण नगर्ने हुँदा अर्वुद कोषिकाको वृद्धि अचाक्ली छिटो हुन्छ । त्यसैले, इम्युन सिस्टमलाई क्रियाशील गरी ब्याक्टेरियालाई परास्त गरेझैँ क्यान्सर कोषलाई मार्न उपभोग गर्न सक्ने हो भने अर्वुद रोगलाई नियन्त्रण गर्न सकिने अवधारणा वैज्ञानिक समुदायमा दशकौँ पहिला आयो । उक्त सोचलाई यथार्थमा उतार्न संसारका धेरै प्रयोगशाला लागे, थाके तर परिणाम सकारात्मक आएन । अन्यत्रझैँ उत्साहप्रद् नतिजा नआए साइन्समा पनि सामान्य अनुसन्धानकर्ताको ध्यान अन्यत्र मोडिन्छ, फरक प्रोजेक्टमा काम गर्न थाल्छन् । तर केही वैज्ञानिक भने आफ्नो प्रारम्भिक अवधारणाबाट पछि फर्कँदैनन् बरु आफ्नो अनुसन्धानलाई निरन्तरता दिन्छन्। परिपाटी हेर्दा त्यही जोखिम मोल्न सक्ने एकलव्य अनुसन्धानकर्ताले नै हो नोबल पुरस्कार पाउने।

सर्जरी, केमो थेरापी, रेडियो थेरापीहरू क्यान्सरका कोषलाई प्रत्यक्षरूपले लक्षित गरी अर्बुदरोग नियन्त्रण गर्ने इलाजविधि हुन भने इम्युनो थेरापीको कार्यविधि फरकछ । इम्युनो थेरापीमा प्रत्यक्षरूपमा क्यान्सर सेललाई आक्रमण गर्नुको बदला शरीरको प्रतिरोधात्मक क्षमतालाई थप क्रियाशील बनाइ अर्बुद कोषलाई मार्न लगाउनेहो। इम्युन सिस्टमलाई क्रियाशील गरी क्यान्सरका कोषलाई नास गरेका कारण यो वर्षको मेडिसिनको नोबल पुरस्कार संयुक्तरूपमा प्राध्यापकद्वय एलिसन र होन्जुलाई दिइयो । दुवै समूहले इम्युन सिस्टमलाई क्रियाशील बनाइक्यान्सर कोषहरू मार्न सफल भए पनि उनीहरूको इलाजविधि भने फरक देखियो । तर के उनीहरूको आविष्कारले क्यान्सरको निर्मूलीकरण सम्भव छ त?

अहिलेसम्म भएको उपचार पद्धति हेर्दा इम्युनो थेरापीले सीमित क्यान्सरको हकमा मात्र राम्रो काम गरेको देखियो । इम्युन सिस्टमलाई क्रियाशील बनाइ क्यान्सर सेल मार्न उत्प्रेरित गर्दा ‘अटो इम्युन डिजिज’ मा देखिएझैँ शरीरका स्वस्थ कोषहरूसमेत मार्न सक्नेभएकाले बिरामीको हकमा प्रतिकूल असर परेको देखियो । इम्युनो थेरापी प्रारम्भिक चरणमा रहेको र उक्त माध्यमबाट सीमित क्यान्सरलाई मात्र सन्चो पारेको पाइयो । त्यसैले रोग नियन्त्रणका सम्बन्धमा इम्युनो थेरापीले लामो यात्रा तय गर्नुपर्ने निश्चितछ।

क्यान्सर आफैँमा एक रोग नभएर रोगहरूको समूह भएकाले एकै उपचार विधिले सबै अर्बुद रोगीलाई सन्चो पार्न कठिन देखियो । देख्दा एउटै क्यान्सर भए पनि अणुवांशिक चरणको विश्लेषणले प्रत्येक मानिसमा हुने क्यान्सर फरक फरक हो भन्छ । तसर्थ एकै ओखतीको प्रयोगले सबै क्यान्सरको इलाज सम्भव नभएको अहिलेको अवस्थामा इम्युनो थेरापी उपचार विधिको आविष्कार आफैँमा महत्वपूर्ण कदमहो । यद्यपि, फरक क्यान्सरका लागि पृथक ढंगले इम्युन सिस्टमलाई क्रियाशील गर्न सक्नेहो भने यो उपचार विधिले अर्बुद रोगको इलाजमा क्रान्ति नल्याउला भन्ने के छ र?

प्रकाशित: २३ आश्विन २०७५ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App