८ वैशाख २०८१ शनिबार
अर्थ

प्रतिस्पर्धाबिनै निगमको जहाज भाडामा

काठमाडौं - नेपाल वायु सेवा निगमले बिनाप्रतिस्पर्धा निजी क्षेत्रलाई जहाज भाडामा उपलब्ध गराएको छ। महिना दिनअघि निगमको कार्यकारी अध्यक्ष बनेर आएका मदन खरेलले चार्टर्ड फ्लाइट भन्दै प्रतिस्पर्धाबिनै सस्तो दरमा ट्राभल एजेन्सीलाई जहाज भाडामा उपलब्ध गराएका हुन्।

‘वाई १२–ई’ सिरिजको चिनियाँ जहाज दुर्गममा परीक्षण उडान गराएपछि खरेलले बिनाप्रतिस्पर्धा एअर करिडोर ट्राभल एजेन्सीलाई उपलब्ध गराएका छन्। पूर्वसचिव शंकरप्रसाद अधिकारीका अनुसार जहाजलगायत सरकारी कुनै वस्तु भाडामा लगाउँदा वा बिक्री गर्दा खुला प्रतिस्पर्धा गराउनुपर्ने कानुनी प्रावधान छ । निगमले यो प्रावधानको ठाडो उल्लंघन गर्दै जहाज भाडामा दिएको स्रोतको दाबी छ।

दुर्गमका बासिन्दालाई सेवा दिन भनी भित्र्याइएको जहाज निगमले बिनाप्रतिस्पर्धा भाडामा पर्यटकको चाप हुने लुक्ला उडानमा पठाउने गरेको छ।

निगमका प्रवक्ता अशोक सिग्देल पनि प्रतिस्पर्धाबिना जहाज भाडामा दिएको स्विकार्छन् । ‘कार्यालयको निर्णयअनुसार जहाज भाडामा दिएका हौं,’ उनले भने, ‘भाडादर तोकेका छौं । जहाज उपलब्ध भएमा तोकिएको दरमा जो कसैले चार्टर्ड फ्लाइट गर्न सक्छ ।’ निगमले ‘वाई १२–ई’ सिरिजको चिनियाँ जहाज काठमाडौं–लुक्लाको प्रतिचार्टर्ड फ्लाइट २४ सय डलर भाडादर तोकेको सिग्देलले जानकारी दिए । स्रोतका अनुसार अनियमितताको शंका नहोस् भनी कार्यालयले दर तोकेको हो । बिनाप्रतिस्पर्धा सस्तो दरमा जहाज भाडामा उपलब्ध गराउँदा निगमका पदाधिकारीलाई निश्चित प्रतिशत कमिसन आउने स्रोतले बतायो।

निगमका प्रवक्ता सिग्देल भने त्यस्तो नकरात्मक पाटो केही नभएको दाबी गर्छन् । ‘हामीले नियमित रुपमा जहाज चार्टर्ड फ्लाइटका लागि उपलब्ध गराउन पनि सक्दैनौं,’ उनले भने, ‘जहाजको नियमित उडान नभएका बेला कहिलकाहीं चार्टर्ड फ्लाइटका लागि उपलब्ध गराउने हो ।’ उनका अनुसार चार्टर्ड फ्लाइटको माग अत्यधिक छ । निगम नियमित चार्टर्ड फ्लाइटका लागि जहाज उपलब्ध गराउन सक्ने अवस्थामा छैन । ‘त्यसैले कहिलेकाहीं पठाइने चार्टर्ड फ्लाइटका लागि टेन्डर आह्वान गर्न झन्झटिलो भएकाले दर तोकेर जहाज उपलब्ध गराउँदै आएका हौं’, प्रवक्ता सिग्देलले भने । चिनियाँ जहाजको उडान सुरु भएकाले लुक्लाको चार्टर्ड फ्लाइट गरिएको उनले बताए।

निगमले शनिबारबाट उक्त जहाजको व्यावसायिक उडान थालेको हो । सुरुआती चरणमा लुक्लाका लागि उक्त जहाज सातामा तीन दिन एकएक उडान भर्ने तालिका बनेको छ । यसबाहेक निगमले सस्तो दरमा ट्राभल एजेन्सीलाई चार्टर्ड फ्लाइटका लागि भाडामा उपलब्ध गराउँदै आएको छ।

जहाजले लुक्ला जाँदा १२ जना र आउँदा ७ देखि ९ जना यात्रु बोक्छ । सिग्देलका अनुसार निगमले प्रतिविदेशी काठमाडौं–लुक्लाको भाडा दर १ सय ५१ डलर तोकेको छ । निजी क्षेत्रका एअरलाइन्सले भने विदेशीलाई एक सय ८० डलर भाडा लिन्छन् । आफूहरुले पनि निजी क्षेत्रले लिइरहेकै भाडा लिने गरेको एअर करिडोर ट्राभल एजेन्सीका प्रमुख रोशन थुलुङले बताए । एक सय ८० डलर भाडामा पर्यटक बोक्दा एक फ्लाइटमा ३५ सय डलरभन्दा बढी भाडा उठ्छ । निगमलाई २४ सय डलर बुझाउँदा ट्राभल एजेन्सीलाई ११ सय डलरभन्दा बढी प्रतिउडान आम्दानी हुन्छ । थुलुङका अनुसार शनिबार दुई, आइतबार दुई र सोमबार दुईवटा चार्टर्ड फ्लाइट गरिएको थियो । यसरी दैनिक लुक्लामा दुुईवटा मात्रै चार्टर्ड फ्लाइट गर्दा ट्राभल एजेन्सीले एक दिनमै करिब दुई लाख ५० हजार रुपैयाँ आम्दानी गर्छ।

लुक्लामा निजी क्षेत्रका तारा, समिट र सीता एअरले दैनिक उडान गरेर पर्यटकलाई सेवा दिइरहेका छन् । निगमले पनि कर्णालीजस्ता दुर्गम क्षेत्रमा उडान गरेर सेवा दिनुको सट्टा पर्यटकको चाप हुने लुक्लामा ‘वाई १२–ई’ सिरिजको १७ सिटे चिनियाँ जहाज उडाउनुमा सोझै कमिसनको खेल रहेको स्रोतको दाबी छ।

निगमले दुर्गमका क्षेत्रमा सञ्चालन गर्ने भन्दै ‘वाई १२–ई’ सिरिजका चार जहाज चीनबाट ल्याएकोमा पाइलट अभाव देखाउँदै सञ्चालन गर्न सकेको थिएन । कार्यकारी अध्यक्ष बनेर खरेल आएपछि धमाधम लुक्ला, डोल्पा, जोमसोम, सिमिकोट, मुगुलगायतका क्षेत्रमा जहाजको परीक्षण उडान गरिएको थियो । तर दुर्गम ती क्षेत्रमा जहाज उडाएर त्यहाँका बासिन्दालाई सेवा दिनुको सट्टा निगमले आम्दानी गर्ने भन्दै पर्यटक बोक्न भाडामा दिन थालेको छ।

प्रवक्ता सिग्देलका अनुसार जहाज योजनाअनुसार दुर्गममै उडाउने तयारी पनि भएको छ । दुर्गममा जहाज नउडाउँदासम्म लुक्लामा चार्टर्ड फ्लाइटका लागि भाडामा दिएको उनले दाबी गरे । ‘तालिका बनाएर दुर्गम क्षेत्रमा जहाज उडाउनेछौं,’ उनले भने, ‘उडान तालिका नभएको बेलामात्रै जहाज चार्टर्ड फ्लाइटमा उपलब्ध गराउँछौं।’

चीनबाट २०७१ कात्तिक यता ल्याइएका ‘वाई १२–ई’ सिरिजका चारवटा जहाजमध्ये ‘९एन–एकेयुु’ र ‘९एन–एकेभी’ दर्ता नम्बर भएका जहाज अहिले चलिरहेका छन् भने अरु दुई जहाज थन्किएका छन् । यी सबै जहाज दुर्गममा उडान भर्ने भनी ल्याइएका हुन् । यीबाहेक निगमसँग सुगम क्षेत्रको उडानका लागि ‘९एमए–६०’ सिरिजका दुईथान जहाज पनि छन् । निगमसँग तीनवटा ट्विनअटर जहाज पनि छन् । तीमध्ये दुई मर्मतको क्रममा छन् । एउटाले दुर्गमका क्षेत्रमा नियमित उडान भरिरहेको छ । मंगलबार मर्मत भएर आउने अर्को ट्विनअटर जहाज पनि दुर्गम क्षेत्रमा उडान गर्ने योजना निगमको छ।

प्रकाशित: २३ आश्विन २०७५ ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App