coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भर्ना सरकारीमा, पढाइ निजीमा

धनुषा–कंजनकुमार राय वैशाखमा श्रीमाध्यमिक विद्यालय कुवा राजापुरमा भर्ना भए । उनले सो विद्यालयमा जम्मा तीन महिनामात्र अध्ययन गरे । तीन महिनापछि उनी घर नजिकैको निजी विद्यालय (बोर्डिङ) मा अध्ययन गरिरहेका छन् ।

भर्ना समयमा धनुषाका अधिकांश विद्यार्थी सरकारी स्कुलमा भर्ना हुन्छन् । सरकारी स्कुल भर्ना भएको तीन महिनापछि उनीहरू भर्ना भएको विद्यालय छाडेर निजी विद्यालयमा अध्ययन गर्न थाल्छन् । ‘यस्तो हुनुमा दुईवटा विषयले प्रभाव पारेको छ,’ धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी मेहीलाल यादव भन्छन्, ‘सरकारी स्कुलमा निःशुल्क भर्ना हुन पाइन्छ । भर्नापछि निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति पाउने आशामा धेरै विद्यार्थी सरकारीमा भर्ना हुने गरेको पाइएको छ ।’

शिक्षा कार्यालयसँग यकीन तथ्यांक नभए पनि वैशाखमा सरकारी विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या निजीमा भन्दा धेरै हुने सहायक जिल्ला शिक्षा अधिकारी यादव बताउँछन् ।

सरकारले सरकारी विद्यालयमा भर्ना हुनेलाई प्रोत्साहनस्वरुप निःशुल्क भर्ना, निःशुल्क पाठ्यपुस्तक तथा छात्रवृत्ति व्यवस्था गरेपछि सुरुका तीन महिनासम्म अधिकांश विद्यार्थी सरकारीमा भर्ना भएर पढ्ने गरेको सरोकारवालाको भनाइ छ ।  ‘आर्थिक अवस्था कमजोर हुने अभिभावकले त सरकारीमा पढाउने नै भए,’ श्रीमाध्यमिक विद्यालयका शिक्षक युगलकिशोर साह भन्छन्, ‘आर्थिक रुपमा सक्षम अभिभावकले निःशुल्क भर्ना र छात्रवृत्ति मोहले सरकारीमा भर्ना गर्छन्, पढाउनचाहिँ निजीमा लैजान्छन् ।’ सरकारीमा भर्ना भएर निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति पाइसकेपछि अधिकांश विद्यार्थी निजी स्कुलमा पढ्न जाने गरेको उनको अनुभव छ ।

विद्यार्थी छात्रवृत्ति र पाठ्यपुस्तक पाइने आशामा सरकारी स्कुलमा भर्ना हुनुलाई अस्वाभाविक मान्न मिल्दैन तर उनीहरूलाई टिकाइराख्न सरकारी विद्यालयले कुनै कदम चालेको देखिँदैन । ‘सरकारी स्कुलको पढाइको स्तर नै छैन,’ सरकारीमा कक्षा १० मा अध्ययनरत रुपेशकुमार मण्डलले भने, ‘राम्रो पढाइ नहुनेमात्र होइन, कतिपय शिक्षक त नियमित स्कुल पनि आउँदैनन् ।’
सरकारीका शिक्षक भने विद्यार्थी पाठ्यपुस्तक र छात्रवृत्ति पाउन तीन महिनासम्म सरकारी विद्यालय आउने र त्यो पाइसकेपछि निजी विद्यालय जाने गरेको आरोप लगाउँछन् । तर विद्यार्थीले भने सरकारी स्कुलमा गुणस्तरीय पढाइ नहुँदा आफूहरू निजी विद्यालय जानुपरेको बताउँछन् ।
निजी विद्यालय शिक्षक संगठन, धनुषाका अध्यक्ष ब्रजकिशोर यादवका अनुसार सरकारी स्कुलमा अध्यापन गराउने शिक्षकको घर विद्यालय नजिकै हुनु र राजनीतिमा लाग्नुले पनि गुणस्तरीय पढाइ हुन नसकेको हो । ‘सरकारी स्कुलमा स्थानीय शिक्षक भएका कारण पढाइ राम्रो हुँदैन,’ उनले भने, ‘उनीहरू कुनै न कुनै रुपमा राजनीतिमा आबद्ध हुन्छन र पढाउनेतिर ध्यान हुँदैन ।’

विद्यार्थी पनि सरकारी स्कुलमा स्थानीय शिक्षक भएका कारण राम्रो पढाइ नहुने बताउँछन् । श्रीमाध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत निर्मला साहले विद्यालय नजिक घर हुने शिक्षक समयमा नआउने, बढी घरको काममा व्यस्त हुने गरेको बताइन् ।
सरकारी स्कुलमा शिक्षाको गुणस्तर सुधार गर्न दरबन्दी मिलान गर्नुपर्ने सहायक जिल्ला शिक्षा अधिकारी यादव बताउँछन् । ‘धनुषामा १५ वर्षदेखि दरबन्दी मिलान भएको छैन,’ उनले भने, ‘जसको प्रत्यक्ष असर पठनपाठनमा परेको देखिन्छ ।’
तराईका विद्यालयमा शिक्षाको गुणस्तरमा सुधार गर्न जिल्लाबाहिरका शिक्षक राख्नुपर्ने निजी विद्यालय शिक्षक संगठन, धनुषा अध्यक्ष यादव बताउँछन् । तराईका विद्यायलयमा शिक्षक समस्या निकै जटिल भएको उनले जनाए ।

सरकारी विद्यालयले भर्ना हुने विद्यार्थीलाई पछिसम्म त्यहीं अध्ययन गर्ने वातावरण मिलाउन नसकेको धनुषाका स्रोतव्यक्ति रत्नकुमार कर्णले बताए । ‘मुख्य रुपमा सरकारी स्कुलमा अनुगमनको पाटो निकै फितलो छ,’ उनले भने, ‘सरकारीमा विद्यार्थीको संख्या धेरै भएका कारण पनि अनुगमन हुन नसकेको होला ।’ सरकारीमा विद्यार्थी संख्या कमी नभएका कारण पनि उनीहरूलाई टिकाइराख्नु आवश्यक नठानिएको सरोकारवाल बताउँछन् ।

 

प्रकाशित: ५ आश्विन २०७३ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App