coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

महिलाले ताने रथ, इन्द्रजात्रा सम्पन्न

काठमाडाैं-इन्द्रजात्राको अन्तिम दिन मंगलबार राजधानीका महिलाले रथ तानेका छन् । बसन्तपुर क्षेत्रका स्थानीय महिलाले ‘नानीचायाः’ भन्दै कुमारी, गणेश र भैरवको रथ ताने ।

रथ तान्न ७ सयभन्दा बढी महिला सहभागी रहेको नानीचायाः रथयात्रा महिला समन्वय समितिका संयोजक नानीहिरा मर्हजनले बताइन् । ‘इन्द्रजात्राका अवसरमा ५ वर्षयता निरन्तर महिलाले कुमारी, गणेश र भैरवको रथ उत्साहसाथ तानेका छन्,’  उनले भनिन् ।

महिलाले मात्र रथ तान्ने योजना रहे पनि पुरुषले पनि सघाएका थिए । ‘रथ तान्ने महिलालाई यस वर्ष काठमाडौं महानगरपालिकाले २ सय ज्याकेट उपलब्ध गराएकाले रथ यात्रा व्यवस्थित रुपमा भयो,’ स्थानीय सुस्मिता मानन्धरले भनिन्, ‘सुरुमा र अप्ठेरो ठाउँमा पुरुषले सहयोग गरिदिनु भयो, त्यसपछि ज्यापु महागुठी महिला समुदायको समन्वयमा महिलाले रथ ताने ।’

मर्हजनका अनुसार विगत वर्षका तुलनामा यस वर्ष महिला बढी उत्साहित थिए । ‘कुमारीजात्राको २ सय ६२ वर्Èे इतिहासमा यसरी महिलाले रथ तानेको यो पाँचौ पटक हो,’ उनले भनिन् । इन्द्रजात्रा व्यवस्थापन समितिका स्वयंसेवकको सहयोगमा र नेपाल प्रहरीका महिला सुरक्षाकर्मीको कडा सुरक्षामा यस वर्ष रथजात्रामा कुनै समस्या नआएको स्थानीय ५४ वर्षिया नन्दिता मालीले बताइन् ।

५ वर्षयता लगातार रथ तान्दै आइरहेकी सुशीला श्रेष्ठ भन्छिन्, ‘रथ तान्न पाँउदा महिलामा खुसीको लहर छाएको छ ।’ रथजात्राले सबै महिलालाई आकर्षित गरेको श्रेष्ठले बताइन् ।

महिलाले रथ बसन्तपुरबाट नरदेवी, किलागल, भेडासिंह, इन्द्रचोक हुँदै बसन्तपुरसम्म तानेको महर्जनले बताइन् । इन्द्रजात्रामा रथ तान्न टेकुबाट आएकी ६१ वर्षीया रजनी मान्नधरले भनिन्, ‘महिलाले रथ तानेको हेर्दा निकै रमाइलो लाग्छ । धेरै वर्षदेखि रथ तान्न पाएका थिएनौं । यसपल्ट तान्न पाउँदा मनको धोको पूरा भएको अनुभूति भयो ।’

यसवर्ष लिंगो ढाल्ने शुभसाइत मंगलबार राति ९ः४५ बजे भएकाले लिंगो ढालेर औपचारिक रुपमा इन्द्रजात्रा समापन भएको संकेत दिइने स्थानीय गणपतिलाल श्रेष्ठले बताए । उनका अनुसार राति ८ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुरस्थित कुमारीघर आएर कुमारीको हातबाट टीका र प्रसाद ग्रहण गर्नेछिन् । इन्द्रजात्रा हेर्न स्थानीयको बाक्लो उपस्थितिबीच विभिन्न देशबाट आएका पर्यटक समेत रमाइरहेका थिए ।

 

प्रकाशित: ५ आश्विन २०७३ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App