८ वैशाख २०८१ शनिबार
अर्थ

निर्माण सामग्रीको मूल्य वृद्धि

काठमाडौं - गत भदौमा प्रतिटिपर बालुवाको मूल्य २७ देखि २८ हजार बीचमा थियो । असोज दोस्रो साता मूल्य वृद्धि भई ३० हजार नाघ्यो । यही बेला प्रतिटिप रोडा र ढुंगाको मूल्य तीन हजारका दरले वृद्धि भयो । काठमाडौं उपत्यकाभित्र टिपरका कारण मानवीय क्षति हुने गरी दुर्घटनाका घटना बढेपछि सर्वसाधारणको आक्रोश शान्त पार्न सरकारले साँझ ८ देखि विहान ५ बजेसम्म मात्र उपत्यकाभित्र टिपर र ट्रक प्रवेश अनुमति दिएपछि व्यवसायीले विभिन्न बहाना गर्दै मूल्य वृद्धि गरेका हुन्।

नेपाल टिपर तथा ट्रक व्यवसायी समितिका अध्यक्ष गणेशलाल श्रेष्ठ ढुवानी कम हुँदा लागत बढ्न गएकाले मूल्यवृद्धि भएको दाबी गर्छन् । उनी भन्छन्, ‘चालकलाई दैनिक भत्ता वृद्धि गर्नुपर्ने बाध्यता परेकाले ढुवानी लागत बढेको छ ।’ टिपर व्यवसायी विश्वास कार्की आफूहरुको लगानी डुब्ने खतरा बढेको बताउँछन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष उमेश शेरचनले उद्योगहरुले मूल्य वृद्धि नगरेको बताए । उनले भने, ‘टिपर र ट्रक प्रवेशको अवधि घट्दा क्रसर उद्योगमा नकारात्मक असर परेको छ ।’ दुर्घटना कम गर्ने उपाय खोज्नेभन्दा ढुवानीमा अवरोध गरिएपछि निर्माण सामग्रीको मूल्यवृद्धिले सर्वसाधारण मारमा परेका छन् । निर्माण सामग्रीको बीचैमा भएको मूल्य वृद्धिले उपत्यकाभित्र भइरहेका निर्माण कार्यको लागत बढ्ने भएको छ।

ढुवानीमा अवरोध हुँदा निर्माण सामग्रीका खानी र उद्योगमा ट्रक तथा टिपरको लाम लाग्न थालेको छ । काभ्रे र धादिङ जिल्लाका क्रसर र खानीमा लामा लाम लाग्न थालेका छन्।

महासंघ अध्यक्ष शेरचन ढुवानीका लागि सवारी साधनको संख्या वृद्धि गर्नुपर्ने भएकाले उपत्यकामा राति जाम हुने अवस्था आउन सक्ने औंल्याउँछन् । बिपी, अरनिको र पृथ्वी राजमार्गमा रातभर टिपर र ट्रकको जाम हुन थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्त टिपर र ट्रकको उपत्यका प्रवेशको अवधि घटाउँदा दुर्घटना र जाम घटेको बताउँछन् । उपत्यकाभित्र जाम घटे पनि उपत्यका प्रवेश गर्ने राजमार्ग राति राति जाम भएकोबारे सोधिएको प्रश्नमा उनले भने, ‘यसलाई नियन्त्रण गर्न तत्काल निर्देशन दिइन्छ ।’ उपत्यकामा रातिमात्र टिपर र ट्रक गुड्न दिने नियमले ध्वनि प्रदूषणको समस्या पनि आएको छ।

रातको ९ घन्टा अवधिभित्र उपत्यकाभित्र ढुवानी अनुमति दिएपछि टिपर र ट्रकले क्षमताभन्दा बढी वजन बोक्न थालेका छन् । यातायात व्यवस्था विभागले ६ चक्के टिपर वा ट्रकले ९६ सय किलो, १० चक्केले साढे १६ हजार किलो, १२ चक्केले ३१ हजार किलो वजन बोक्न पाउने नियम बनाएको छ । नियम मिचिँदै आएकोमा उपत्यका प्रवेशको समय घटाइएपछि झन् वजन वृद्धि गर्न थालेका छन्।

उपत्यका प्रवेश गर्ने नागढुंगा र बनेपा नाकामा जाम बढ्न थालेको छ । दसैंको समय जाम झन् बढ्नुमा ट्रक र टिपरको सामान ढुवानीका लागि छोट्याइएको समय मुख्य कारण रहेको दाबी गर्छन् श्रेष्ठ । समस्या हल गर्न गृहमन्त्री रामबहादुर थापालाई भेटी ज्ञापनपत्र बुझाइए पनि ठोस निर्णय नलिइएको बताउँछन् श्रेष्ठ । ट्रक तथा टिपर प्रवेशका लागि कम्तीमा तीन घन्टा समय थप्न माग गर्दै व्यवसायीले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएका थिए । अव्यवस्थित तरिकाले भइरहेको निर्माणको मारमा उपत्यका परिरहँदा दुर्घटना घटाउन निर्माण सामग्री ढुवानीको अवरोधले नयाँ समस्या जन्माएको छ । समस्याको उपाय पहिल्याउन सरकार सक्षम नदेखिँदा मूल्यवृद्धि र राजमार्गमा जाम नयाँ समस्याका रुपमा देखिन थालेको छ।

प्रकाशित: २२ आश्विन २०७५ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App