coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भाउ बढेपछि उपभोक्ता भारतीय बजारमा

नेपालगन्ज - दसैं नजिकिँदै गर्दा नेपालगन्जमा कलोबजारी बढ्दै गएको छ । सरोकारवाला निकायले मूल्य नियन्त्रण गर्न नसक्दा हरेक वर्ष झैं यो वर्ष पनि दसैंका मुखमा उपभोग्य सामानको कृत्रिम अभाव देखाएर कालोबजारी सुरु भएको छ । कृत्रिम अभावसँगै मूल्य पनि अकासिएको छ।

दैनिक उपभोग्य सामग्रीमा मूल्यवृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् । ‘एक साताअघि सामान किन्दा एउटा मूल्य थियो,’ नेपालगन्ज पुष्पलालचोककी लक्ष्मी कार्कीले भनिन्, ‘एक सातापछि किन्न जाँदा मूल्य बढेको छ ।’ व्यापारीले आफूखुसी मूल्य बढाउँदा समस्या भएको उनले बताइन् । यसको मारमा निम्न वर्ग छन्।

प्रतिकेजी ६५ रुपैयाँ पर्ने चामल अहिले ७० मा बिक्री भइरहेको छ । त्यस्तै ६० रुपैयाँ पर्ने आधा लिटर तेल बढेर ७० पुगेको छ । प्याज प्रतिकिलो ३० बाट बढेर ५० रुपैयाँसम्म पुगेको छ । किलोको ६० रुपैयाँमा बिक्री भइरहेको चिनी ८० रुपैयाँसम्म पुगेको छ । मसुरोको दाल प्रतिकिलो ९० रुपैयाँमा बिक्री हुँदै आएकोमा अहिले १ सय ५ रुपैयाँ पुगेको छ । दैनिक उपभोग्य सामग्रीको मूल्य ५ देखि २० रुपैयाँसम्म बढेको छ।

उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल साहुले भने मूल्यवृद्धिको विषयमा भ्रम पैदा भएको बताए । ‘यहाँ मूल्यवृद्धि भएकै छैन,’ उनले भने, ‘नेपालगन्जको व्यापार घाटामा छ ।’ यता मूल्यवृद्धिको भ्रम फैलाएर उपभोक्तालाई सीमावर्ती भारतीय बजारमा जान प्रोत्साहित गर्ने काम भइरहेको उनको दाबी छ । मूल्यवृद्धिको भ्रम चिर्न नेपालगन्जमा सस्तो व्यापार मेला आयोजना गरिने उनले बताए । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले मूल्यवृद्धिको गुनासो नआएको बताए । बजार मूल्यबारे प्रशासन जानकार रहेको भन्दै उनले तत्कालै बजार अनुगमन हुने बताए । व्यापारीले आफूखुशी मूल्य बढाए कानुनबजोजिम कारबाही हुने उनले बताए।

व्यापारीहरूले सामानको खरिद मूल्य स्थिर नहुँदा बिक्री मूल्य तलमाथि भइरहने बताए । व्यापारी दीपक वैश्यका अनुसार स्थानीय करले पनि मूल्य बढाउन बाध्य बनाएको बताए । नेपालगन्जमा महंगी बढेको भन्दै उपभोक्ता सीमावर्ती भारतीय बजारमा जाने गरेका छन् । यसले गर्दा नेपालगन्जको व्यापारमा मन्दी आएको उनले बताए । यहाँका अधिकांश पसलमा मूल्यसूची राखिएको छैन । जसले गर्दा उपभोक्ता ठगिने गरेका छन्।

प्रकाशित: २२ आश्विन २०७५ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App