coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

केरा कृषक भन्छन् : सम्मान हैन, केराको बजार देउ

उत्कृष्ठ कृषक पुरस्कारद्वारा सम्मानित साह र कुँवरद्वय। तस्विरः योगेश/नागरिक

टीकापुर –  केरा खेतीको विकास र विस्तारमा उल्लेख्य योगदान पु-याएको भन्दै टीकापुरका तीनजना सरकारद्वारा हरेक वर्ष प्रदान गर्ने उत्कृष्ठ कृषक पुरस्कारबाट लगातार सम्मानित भए।

‘बनाना किङ’ का नामले चिनिदै आएका कालु हमाल २०७२ को सर्वोत्कृष्ठ कृषक पुरस्कारबाट पहिलो पटक सम्मानित भएका थिए। सरकारले सोही वर्षबाट नै कृषि क्षेत्रलाई मात्रै छुट्टै समेटेर देशभरका कृषकहरुबाट उत्कृष्ठलाई सम्मानको व्यवस्था थालेको थियो। पहिलो पटक नै केरा खेतीमा सकृय हमाल सर्वोत्कृष्ठ कृषकका रुपमा सम्मानित भएका थिए।

त्यसपछिका दुई वर्षमा टीकापुरकै विनोद साह र रामबहादुर कुँवर लगातार उत्कृष्ठ कृषकका रुपमा सम्मानित भएका छन्। साहले २०७३ र कुँवरले २०७४ को उत्कृष्ठ कृषक पुरस्कारको सम्मान हासिल गरेका छन्।

तीनजना कृषक लगातार सम्मानित भएपछि टीकापुरको केरा खेतीले सबैको ध्यान आकर्षित ग-यो। सरकारले टीकापुरलाई केरा खेतीको ‘जोन’ का रुपमा विकास गर्ने घोषणा ग¥यो।

राष्ट्रिय गौरवको निर्माणाधिन रानी जमरा कुलरीया सिँचाई आयोजनाले समेत केरा खेतीमा लगानी बढायो। सिँचाई आयोजनाले केरा खेतीमा थोपा सिँचाई प्रणाली र टिस्यु कल्चर प्रविधि लगायत भित्र्याएको छ। यसका साथै किसानलाई केरा खेतीका बारेमा थुप्रै प्राविधिक ज्ञान प्रदान गरेको छ।

सबैतर्फबाट केरा खेतीमा सहयोग बढेपछि यहाँका किसानहरु निकै हौसिए। केरा खेतीमा धेरै जनाको आकर्षण बढ्दै गयो। केही नयाँ किसान समेत केरा खेतीमा प्रवेश गरे। टीकापुर आसपासका क्षेत्रमा मात्रै केरा खेतीमा संलग्न किसानको संख्या सय भन्दा बढी छ। उनीहरु ५ कठ्ठादेखी ८० विगाहको हाराहारीमा केरा खेती गर्दै आएका छन्।

देशभर चर्चा कमाएको टीकापुरको केरा खेती यतिबेला भने धरासायी हुने अवस्थामा पुगेको छ। सरकारबाट उत्कृष्ठ कृषकको सम्मान थापेका किसानहरु नै केरा खेती निल्नु न ओकल्नु हुन पुगेको बताउन थालेका छन्। उनीहरु सम्मानले मात्रै केरा खेतीको विकास नहुने निष्कर्समा पुगेका छन्। ‘सम्मानले मात्रै नहुने रहेछ’ केरा किसान साहले भने, ‘राज्यको काम सम्मानमा मात्रै सिमित भयो।’

किसानहरु राज्यले सम्मान गरेपछि आफ्नो कर्तव्य पूरा भएको ठान्ने गरेको बताउँछन्। उनीहरुको सरकारले केरा खेतीलाई वेवास्ता गरेको ठहर छ। राज्यका तर्फबाट केराको बजारिकरणमा कुनै पहल नभएको किसानहरुको गुनासो छ।

‘सम्मान ग-यो। हौसला थप्या । राज्यका तर्फबाट त्यसपछि कुनै जिम्मेवारी पूरा भएन’ अर्का किसान कुँवरले भने, ‘सम्मान गरेर मात्रै हाम्रो व्यवशायमा सुधार हुँदैन।’

टीकापुरमा मात्रै ३०० हेक्टर जमिनमा केरा खेती भैरहेको छ। सर्वोत्कृष्ठ कृषक हमालले नै केरा खेतीको सुरुवात गरेका हुन्। उनले २०४४ सालमा केरा खेती थालेका थिए। उनी अहिले केरालाई ‘एग्रो टुरिजम’ सँग जोडेर काम गरिरहेका छन। उनले सञ्चालन गरेका रेस्टुरेन्टमा केराका ४० परिकार पाइन्छन्।

उनी राज्यले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने खालको ऐन नियम बनाउनुपर्ने सुझाव दिन्छन । भारतीय केरा आयातमा रोक लगाउनु नै उत्तम उपाय हुने हमालको धारणा छ। ‘हाम्रो उत्पादन खपत हुँदासम्म बाहिरबाट आयात रोक्नुपर्छ’ उनले भने, ‘तब मात्र राज्यले किसानलाई सहयोग गरेको ठहर्छ।’ उनले नत्र हरेक वर्ष सम्मान गरेर मात्रै राज्यको कर्तव्य पूरा नहुने बताए।

पश्चिम तराईका जिल्लामा केरा खेती विस्तार हुने क्रम निक्कै बढेको छ। चितवनदेखी कञ्चनपुरसम्मका थुप्रै किसान केरा खेतीमा संलग्न छन्। अहिले पनि कुल खपतको ४० प्रतिशत केरा मात्रै स्वदेशमा उत्पादन भैरहेको छ। बाँकी ६० प्रतिशत केरा आयात हुने गरेको तथ्याङ्कले देखाएको छ।

प्रकाशित: २२ आश्विन २०७५ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App