coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मापसे कडाइको तयारी

काठमाडौं–चाडपर्वमा रमाइलो गर्नुपर्छ भन्दै मापसे (मादक पदार्थ सेवन) गरी सवारी चलाउने बानी छ ? भए यसपल्ट दसैं तिहारमा तपाईं ट्राफिक प्रहरीको कारबाहीबाट उम्कने सम्भावना छैन । चाडपर्वका बेला मापसे गरी सवारी चलाउँदा दुघर्टना बढेको भन्दै यस वर्ष महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले दसैंं तिहार मध्यनजर गर्दै मापसे जाँच कडा गर्ने तयारी गरेको छ ।

चाडपर्वमा साथीभाइ तथा परिवारसँग बसेर मापसे गर्ने संस्कृति नै बनिसकेकाले मापसे गरी सवारी चलाउँदा दुर्घटना पनि बढ्ने बताउँदै महाशाखा प्रमुख तथा डिआइजी प्रकाश अर्यालले भने, ‘यस वर्ष मापसे चेकजाँच कडा गर्नेछौं । विगतमा जस्तो मापसे गरेर सवारी चलाउने यसपल्ट कुनै सम्भावना छैन ।’

उनका अनुसार चाडपर्वमा कुनै पनि ठाउँमा कुनै पनि बेला मापसे चेकजाँच हुन सक्छ । अहिले भने निश्चित समय विशेषगरी साँझमा मात्रै मापसे चेकजाँच गरिँदै आएको छ । डिआइजी अर्यालले नजिकै वा थोरै त खाएको हो भन्दै सवारी नचलाउन सबैसँग आग्रह गरे ।
‘मापसे चेकजाँच ब्रेथलाइजरले गर्ने हो, त्यसैले थोरै खाएको भनेर कोही उम्कन सक्दैन,’ अर्यालले भने, ‘कारबाहीमा परेर लज्जित हुनुभन्दा मापसे गरेर सवारी नचालउनु नै बेस हुन्छ ।’

चाडपर्वमा शिक्षित र नाम चलेकै व्यक्ति मापसे गरी सवारी चलाउने गरेको अर्यालले बताए । उनका अनुसार बितेका चाडपर्वमा नाम चलैकै व्यक्ति पनि मापसे कारबाहीमा परेका छन् । गत वर्ष पनि दसैंमा दैनिकजसो सय जनाको हाराहारीमा मापसे गरी सवारी चलाउँदा कारबाहीमा परेको ट्राफिक प्रहरीको तथ्यांकमा छ ।
महाशाखाले जनाए अनुसार अहिले पनि दैनिकजसो ६०–८० जना मापसे कारबाहीमा पर्ने गरेका छन् । बिदाका दिन करिब सय जना कारबाहीमा पर्ने गरेका छन् ।

आव २०७३÷०७३ मा २९ हजार २ सय ३ सवारीचालक मापसे कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले मापसेलाई सवारी दुर्घटनाको प्रमुख कारण मानेको छ । गत आवमा मापसेका कारण १ सय ८४ दुघर्टना भएका थिए भने मापसेकै कारण दुघर्टनामा ८ जनाको मृत्यु भएको तथ्यांक ट्राफिक प्रहरीसँग छ ।

यातायात व्यवस्था विभागका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले मापसे गरी सवारी चलाउनेलाई हजार रुपैयाँ जरिवाना, लाइसेन्स प्वाल पार्ने र चेतनामूलक कक्षा लिने सजाय तोकेको छ ।

ट्राफिक प्रहरीले २०६८ पुसयता मापसे गरी सवारी चलाउनेमाथि कारबाही गर्न थालेको हो । सुरुमा हजार रुपैयाँ जरिवाना र चेतनामूलक कक्षामात्र लिनुपर्ने व्यवस्था थियो । तर यतिले मात्र मापसे गरी सवारी चलाउनेको संख्यामा कमी नआएपछि सरकारले २०६९ मंसिर २२ बाट लाइसेन्स प्वाल पार्ने व्यवस्था लागू गरेको हो ।

 

प्रकाशित: ५ आश्विन २०७३ ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App