coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

महिला हिंसाविरुद्ध अभियान

सन् २०१७ मा ह्यास ट्याग मी टुको सुरुवात भयो । महिला अधिकार र सामाजिक सञ्जालमा गएको साललाई ह्यास ट्याग मी टुको वर्षको रूपमा सम्झना गरिन्छ । यो अभियानमा संसारभरका महिलाहरू आफूले भोगेका यौन दुव्र्यवहार र यौन हिंसामा आफ्नो मौनता तोड्दै एक–अर्कालाई सहयोग गर्न सामाजिक सञ्जालमा ह्यास ट्याग मि टुको साथमा प्रस्तुत भए।

सोही वर्ष टाइम म्यागजिनले ‘पर्सन अफ दी इयर’का रूपमा यौनजन्य हिंसा र दुव्र्यवहारको मौनतालाई तोड्ने ‘दी साइलेन्स ब्रेकर’लाई छान्यो । कार्यस्थलमा हुने दुव्र्यवहारलाई छताछुल्ल पार्ने क्रममा सन् २०१७ मा अमेरिकी अभिनेत्री अलिसा मिलानोले यो ह्यास ट्याग सुरु गरेपछि संसारभर नै यसले चर्चा पायो । सन् २००६ मा अमेरिकी सामाजिक अभियन्ता ताराना बुर्केले पहिलो पल्ट मी टुको प्रयोग गरेकी थिइन्।

सीमान्तकृत, गरीब, प्रतिनिधित्वमा नपरेका र बचाउने सञ्जाल वा समुदाय नभएका यौन हिंसामा परेकाहरूलाई सहयोग उपलब्ध गराउन अभियान सुरु गरिएको थियो । यो सहयोग र स्रोत नभएका महिला र बालिकामा केन्द्रित थियो।

गत अक्टोबरमा अभिनेत्री मिलानोले सुरु गरेको ह्यास ट्याग मी टुले विभिन्न क्षेत्रमा भइरहेका यौनजन्य हिंसाका घटनालाई बाहिर ल्याउन निकै सघायो । यसले संसारभरका लाखौं महिलाहरूलाई यौनजन्य हिंसा र दुव्र्यवहारको कुरा सामाजिक सञ्जालको माध्यमबाट ल्याउने ऐक्यबद्धता सुरु गर्न सहयोग गर्यो।

एक वर्षअघि अमेरिकी चलचित्र निर्माणमा संलग्न निर्माता हार्वे वेन्स्टिनले एक दर्जनभन्दा धेरै महिलालाई विभिन्न समयमा यौन दुव्र्यवहार र हिंसा गरेको खवर न्युयोर्क टाइम्स र द न्युयोर्कमा प्रकाशित भएको थियो । त्यसपछि कार्यरत विभिन्न संस्थाबाट बाहिरिनुपरेका उनलाई प्रहरीले यौन दुव्र्यवहारको आरोपमा पक्राउ गरेको थियो । यो घटनापछि मनोरञ्जन उद्योगमा भइरहेको यौन हिंसाका घटनाहरू बाहिरिएका थिए।

अभियान सुरु भएपछि मनोरञ्जन क्षेत्र मात्र नभई अन्य क्षेत्रमा भइरहेका यौन दुव्र्यवहारका घटना पनि बाहिरिन थाले । चर्च, राजनीति, वित्तीय क्षेत्र, सञ्चार, सेना, पोर्नोग्राफीजस्ता क्षेत्रमा भइरहेका यौन हिंसाका घटना पनि मी टुमार्फत् खुलासा भए । यसले गर्दा धेरै जना पीडकहरू कानुनको दायरामा आए । विभिन्न देशहरूमा यसको स्थानीय अनुवाद र संस्करणमा माध्यमबाट त्यहाँ भइरहेका यौन हिंसाका घटनाहरू बाहिरिए।

ह्यास ट्याग मी टु अभियान सुरु भएको एक वर्ष पुग्दा भारतमा नयाँ–नयाँ यौन हिंसा र दुव्र्यवहारका घटनाहरू बाहिरिन थालेका छन् । हालै मात्र भारतीय सञ्चार माध्यम, चलचित्र उद्योग र प्रकाशन क्षेत्रमा भएका यौन दुव्र्यवहारका केही घटनाहरू बाहिरिएका छन्।

सञ्चार माध्यमलाई अरुका पीडा र कथा सार्वजनिक गर्ने तर आफ्नो क्षेत्रमा भएका घटनालाई गुपचुप राख्ने आरोप लाग्दै आएको छ । गत हप्ता भारतीय सञ्चार माध्यमका केही पत्रकार महिलाहरूले उनीहरूलाई कार्यस्थलमा के भयो भनेर घटनाहरू सार्वजनिक गरेका छन् । केहीले ती घटनाहरूलाई सामाजिक सञ्जालमा प्रस्तुत गरेका छन् भने केहीले अफलाइन माध्यमबाट सार्वजनिक गरेका छन्।

पत्रकार तथा लेखक सन्ध्या मेननले टाइम्स अफ इन्डियाका वरिष्ठ सम्पादक केआर श्रीनिवासले केही वर्षअघि आफूलाई अनुचित व्यवहार गरेको आरोप लगाएकी छन् । ट्विटरमा घटना सार्वजनिक गर्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनको ट्विटको जवाफमा पवित्रा जयरामनले आफू २०–२१ वर्षको उमेरमा टाइम्स अफ इन्डियासँगै कार्यालय रहेको फेमिना, बैंगलोरमा इन्टर्नसिप गर्दा श्रीनिवासले दुव्र्यवहार गरेको आरोप लगाएकी छन्।

मेननले अर्का वरिष्ठ सम्पादक गौतम अधिकारीले उनलाई जवर्जस्ती चुम्बन गर्न खोजेको आरोप लगाएकी छन् । लेखक तथा पत्रकारिताका प्राध्यापक सोनोरा झाले पनि गौतमलाई यस्तै खालको आरोप लगाएकी छन्।

मेननले आफ्नो ट्विटर खातामा यौन दुव्र्यवहार खेपेका अन्य महिलाको बयानलाई पनि सार्वजनिक गरेकी छन् । एक महिलाले आफूलाई अन्तर्वार्तामा बोलाएर चलचित्र लेखक तथा नाटक समीक्षक किरण नगर्कारले होटलको कोठामा दुव्र्यवहार गरेको बयान दिएकी छन्।

अर्की पत्रकार दिव्या कार्थिकेयानले लेखक, पत्रकार र संस्कृतिका समीक्षक सदानन्द मेननले आफूलाई यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । सदानन्दलाई पहिले पनि यौन दुव्र्यवहारको आरोप लागेको थियो । विद्यार्थी र अन्यले आन्दोलन गरे पनि उनले हालै मात्र आफूले पढाइरहेको एसियन कलेज अफ जर्नालिज्ममा पढाउन छोडेका थिए।

हिन्दूस्तान टाइम्समा संवाददाताको रूपमा काम गरेकी अवान्तिका मेहताले सुरुमा फस्र्ट पोस्टमा बेनामे रूपमा आफूमाथि भएको यौन दुव्र्यवहारको घटना सार्वजनिक गरेकी थिइनँ । त्यसको भोलिपल्ट उनले आफ्नो ट्विटर खाताबाट हिन्दूस्तान टाइम्सका सम्पादक प्रशान्त झाले दुव्र्यवहार गरेको खुलासा गरिन् । झाले सन् २०१७ मा आफूलाई पठाएको ह्याट्स एप सन्देशहरूको स्क्रिन सट सार्वजनिक गर्दै उनले दुव्र्यवहारका बाबजुद पनि आफूले राम्रो व्यवहार गरेको ट्विट गरेकी छन्।

यसबाहेक पीडकको नाम उल्लेख नगर्दै भारतीय सञ्चार माध्यममा कार्यरत धेरै पत्रकार महिलाहरूले आफूमाथि भएको यौन दुव्यर्वहारको बयान सार्वजनिक गरेका छन् । सञ्चार माध्यमसँगै बलिउडमा यौन दुव्र्यवहार भएको घटना पनि हालै सार्वजनिक भएको छ।

महिला सशक्तीकरणका विषयमा निर्माण भएको क्विन फिल्मका निर्देशक विकास बल समेत संलग्न फ्यान्टम नामको भारतीय कम्पनीमा काम गरेकी एक महिला कर्मचारीले बललाई यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । सन् २०१५ मेमा बलले गोवाको एक होटलमा आफूलाई दुव्र्यवहार गरेको र त्यो घटनाको बारेमा कम्पनीका अर्का संस्थापक अनुराग कश्यपसँग कुरा गर्दा पनि कुनै सुनुवाइ नभएको बताएकी छन्।

यो घटनालाई कश्यपले गलत घटना भएको भन्दै स्वीकार गरेका छन् । साथै, आफूहरूले ती महिला कर्मचारीलाई सहयोग गर्न नसकेको पनि उनले स्वीकार गरेका छन्।

त्यस्तै, एक महिलाले भारतीय लेखक चेतन भगत र आफूबीच भएको कुराकानीको स्क्रिन सट सार्वजनिक गरेकी छन् । कुराकानीमा भगतले आफूले ती महिलाबाट प्रेम चाहेको उल्लेख गरेका छन् । ती महिलाले भगत विवाहित भएको बताउँदा पनि उनले त्यसलाई बेवास्ता गरेको उनको आरोप छ । स्क्रिन सट सार्वजनिक भएपछि भगतले फेसबुकमा सम्बन्धित व्यक्ति र आफ्नी श्रीमतीसँग माफी मागेका छन्।

प्रकाशित: २२ आश्विन २०७५ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App