coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

इमेज अवार्डमा दीपक र श्रेया उत्कृष्ट

काठमाडौं – इमेज अवार्डको २० औं संस्करणमा गायक दीपक बज्राचार्य पप गायनतर्फ उत्कृष्ट घोषित भएका छन्। राजधानीमा शनिबार साँझ सम्पन्न ‘इमेज अवार्ड २०१८’मा बज्राचार्य ‘मन मगन’ बोलको गीतबाट उत्कृष्ट घोषित भएका छन् । नेपालका परम्परागत बाजालाई नेपाली संगीतसँग जोड्ने उद्देश्यका साथ संगीतमा सक्रिय बज्राचार्यले यो गीतमा पनि नेवारी बाजालाई लोभलाग्दो गरी प्रयोग गरेका थिए । बज्राचार्यको यही गीत ‘म्युजिक भिडियो’ विधातर्फ पनि उत्कृष्ट भएको थियो । बज्राचार्य झैं कमल खत्रीले पनि दोहोरो अवार्ड जिते । ‘जाउँला रेलैमा’ बोलको गीतबाट खत्रीले सर्वोत्कृष्ट संगीत र गीतको अवार्ड आफ्नो पोल्टामा पार्न सफल भए।

संगीतको विभिन्न विधामा कार्यरत स्रष्टालाई पुरस्कृत गर्दै आएको समारोहमा ‘यो ऐना भनाउँदो’ बोलको गीत ‘सर्वोत्कृष्ट गीत रचना’ घोषित भएको थियो । यो गीतका गीतकार आनन्द अधिकारी हुन्।

१८ विधामा प्रदान गरिएको अवार्डमा ‘हावा घरैमा’का लागि पूजन लोहागन र अनुपमा प्रधानले ‘सर्वोत्कृष्ट समूह वा युगल गायन ’, ‘छामी हेरन’का लागि गायक सुवासचन्द्र जोशीले ‘सर्वोत्कृष्ट नवकलाकार ’, गायक रुपकुमार राई र गायिका मेनुका राईको गीत ‘नौलाई शून्य नब्बे’ले ‘सर्वोत्कृष्ट गायन दोहोरी गीत’, गायिका सीता थापाको ‘दुई रुपैंयाँको बिँडी’ले ‘सर्वोत्कृष्ट गायन लोकगीत’, गायक प्रकाश सपुतको ‘बोल माया’ले ‘सर्वोत्कृष्ट लोकगीत संकलक’, पशुपति शर्मा र सम्झना भण्डारीको गीत र ‘छिनछिन बज्ने चुरा’ले ‘सर्वोत्कृष्ट दोहोरी गीत’को अवार्ड जितेका थिए।

म्युजिक भिडियोतर्फ ‘तिमीलाई छुँदै’का लागि बुद्ध थापाले ‘सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार’, विकास धमलाले यही गीतका लागि ‘सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक’ र ‘डन्ट किलमी’का लागि निशान घिमिरेले ‘सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड जितेका थिए ।  आधुनिक गायनतर्फ कर्मा ग्याल्जेन बोमजन ‘जाउ तिमी’का लागि ‘सर्वोत्कृष्ट गायन पुरुष’ र गायिका दुर्गा परियार ‘वन फूल’का लागि ‘सर्वोत्कृष्ट गायन महिला’ घोषित भएका थिए । पपतर्फ  गायिका श्रेया सोताङले ‘मनचरी’का लागि ‘सर्वोत्कृष्ट पप गायन महिला’को अवार्ड जितेकी थिइन् ।  गायिका टीका प्रसाइँले ‘माया लुकी लुकी’का लागि ‘पब्लिक च्वाइस अवार्ड’मा चित्त बुझाइन्।

२०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीतका एल्बम, म्युजिक भिडियो एवं सिंगल ट्रयाकहरूमध्येबाट उत्कृष्ट पाँचको मनोयनमा परेकामध्ये उत्कृष्ट एकलाई अवार्ड दिइएको हो।

कार्यक्रममा संगीतकार प्रकाश गुरुङलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ र ऊर्जाको क्षेत्रमा योगदान दिइ नेपाललाई लोडसेडिङबाट मुक्त गराउन भूमिका खेल्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘बेस्ट पर्सनालिटी अफ दि इयर’ प्रदान गरिएको थियो।

कुटुम्बको धुनसँगै सुरु भएको कार्यक्रममा प्रियंका कार्की र कार्टुन्ज क्रिउले नृत्य प्रस्तुत गरेका थिए भने समारोहमा १९७४ एडी, निमा रुम्बा आदिले गीत प्रस्तुत गरेका थिए।

प्रकाशित: २२ आश्विन २०७५ ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App