मानव स्वास्थ्यका लागि नोबेल

सोमबार, २२ असोज २०७५, ०९ : ३५ डा. निरञ्जन पराजुली

विश्वमा मानवता र यसको समृद्धिसँग जोडिएका अनुसन्धान र योगदानलाई कदर गर्दै हरेक वर्ष विभिन्न ६ विधामा नोबेल पुरस्कार दिइन्छ । चिकित्साशास्त्र, रसायनशास्त्र, भौतिकशास्त्र, अर्थशास्त्र, साहित्यतर्फको पुरस्कार स्वेडेन र शान्ति नोबेल पुरस्कार नर्वेले प्रदान गर्छ । सन् १९०१ बाट दिन थालिएको नोबेल पुरस्कारको राशी हाल बढेर १० लाख अमेरिकी डलर पुगेको छ । प्रस्तुत लेखमा गत साता विज्ञानतर्फ अर्थात् चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रका क्षेत्रमा प्रदान गरिएको नोबेल पुरस्कारले विश्व समुदायबीच तरंगित भएको वैज्ञानिक उपलब्धिको चर्चा गरिएको छ।

हुन त विज्ञानमा अनुसन्धानको दायरा निश्चित हुँदैन तर हाल विश्वव्यापीरूपमै विज्ञानका अनुसन्धान निश्चित अर्थात् मानव स्वास्थ्य सुधारका दिशामा केन्द्रित गरेको पाइन्छ । नयाँ औषधिको विकास र उपचार पद्धतिमा सुधारोन्मुख अनुसन्धानलाई यस वर्ष नोबेल पुरस्कार प्रदान गरिएको छ । विश्वमा जलवायु परिवर्तन, मानिसको बदलिँदो जीवनशैली र भौतिक विकासले निम्ताएको असरका कारण दिन/प्रतिदिन नयाँखालका रोग देखा पर्दैछन् । त्यसमध्ये विज्ञानलाई सबैभन्दा बढी चुनौती क्यान्सर रोगले नै दिइरहेको छ । त्यसैले वैज्ञानिकहरूले क्यान्सरबारे अनुसन्धानको दायरा पनि फराकिलो पार्दै गएका छन् । हाम्रो शरीरमा भएको डिएनएमध्ये करिब २ प्रतिशतले मात्र प्रोटिन बनाउने अनुमान गरिएको छ जसअनुसार करिब २० हजार प्रोटिन हुन सक्छ मानव शरीरमा । कोसिका (सेल) भित्र हुने रासायनिक क्रियाका लागि प्रोटिनहरू सहभागी हुन्छन् जसले उत्प्रेरकको काम गर्छ । जब डिएनएमा कुनै किसिमले म्युटेसन (न्युक्लोटाइड परिवर्तन) हुन्छ तब फरक किसिमको प्रोटिन पैदा हुन सक्छ । वैज्ञानिकका अनुसार जिन म्युटेसन, इपिजेनेटिक, हाइपोमेथिलेसन, टक्सिन तथा भाइरसका कारण क्यान्सर हुन सक्छ । यसको अर्थ जिन (डिएनए) म्युटेसन रोक्न सक्नु वा म्युटेटेड प्रोटिन नियन्त्रण गर्न सकेमा धेरै प्रकृतिका क्यान्सर रोकथाम गर्न सकिन्छ । (स्मरणरहोस्, डिएनएमा हुने सबै प्रकृतिका न्युक्लोटाइड परिवर्तन हुने क्रिया अर्थात जिन म्युटेसन वा म्युटेटेड प्रोटिन क्यान्सरको कारक होइनन्)।

हाल विश्वव्यापीरूपमै विज्ञानका अनुसन्धान मानव स्वास्थ्य सुधारका दिशामा केन्द्रित गरेको पाइन्छ ।नयाँ औषधिको विकास र उपचार पद्धतिमा सुधारोन्मुख अनुसन्धानलाई यस वर्ष नोबेल पुरस्कार प्रदान गरिएको छ।

चिकित्साशास्त्रको नोबेल
यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका प्राध्यापक जेम्स एलिसन र जापानका प्राध्यापक तासुकु होन्जोलाई क्यान्सर उपचारमा पुराएको योगदानका लागि प्रदान गरिएको छ । क्यान्सरको उपचारमा रेडियसन थेरापी, किमो थेरापी र अपरेसनबाहेक वैज्ञानिकहरूले इम्युनोथेरापी पत्ता लगाएका छन् जसका लागि नोबेल पुरस्कार प्रदान गरिएको हो।

क्यान्सर उपचार विधि मुख्यतः क्यान्सर सेलको डिएनए कुनै प्रक्रियाबाट नष्ट गर्नु (बिगार्नु) अथवा सेलमा हुने बायो केमिकल प्रक्रिया परिवर्तन गर्नमा केन्दित देखिन्छ । र, त्यसतर्फ गरिएका अनुसन्धानको परिणामको कारण हाल क्यान्सर उपचारमा प्रगति हासिल हुँदै गएको छ र बिरामीलाई मृत्युको मुखबाट केही समय टाढा पु-याउन सहयोग पुगेको छ।

जेम्स एलिसन र तासुकु होन्जोले शोध लेख प्रकाशित गर्नुअगाडि वैज्ञानिक धारणा यो थियो कि क्यान्सर सेल (ट्युमर) बिरामीको शरीरमा यसरी फैलिन्छ कि उसको शरीरमा भएको रोग प्रतिरोधक क्षमता (इम्युनसिस्टम)ले त्यसलाई रोक्न सक्दैन । तर हालै नोबेल पुरस्कार विजेता यी वैज्ञानिकहरूका अनुसार मानव शरीरको ‘इम्युनसिस्टम’ मा सुधार गर्न सकेमा (केहीखालका) क्यान्सर सेल नियन्त्रण गर्न सकिने रहेछ भन्ने प्रस्ट भएको छ।

हाम्रो शरीरमा पाइने सेतो रक्त कोषमा ‘टि सेल’ भन्ने हुन्छन् जसले भाइरस लागेका सेल र क्यान्सर सेललाई नष्ट गर्छ । नोबेल विजेता वैज्ञानिकहरूले त्यस ‘टि सेल’को बाहिरी भागमा पाइने ‘सिटिएलए ४’ र ‘पिडी १’ नामक दुई प्रोटिनमा आधारित भएर अनुसन्धान गरेका थिए । जब यी दुई प्रोटिनले क्यान्सर सेल वा अन्य कुनै इम्युन सेलमा ‘सिटिएलए ४’ र ‘पिडी १’ मा म्याच हुनेखालको प्रोटिन भेट्छ तब ‘टि सेल’ निस्क्रिय हुन्छन् र बिरामीमा क्यान्सर सेल (ट्युमर) फैलिने कामले निरन्तरता पाउँछ अर्थात् क्यान्सर रोगले झन् जटिल रूप लिन्छ।

विश्वमा नोबेल पुरस्कारको जति ख्याति छ, त्यत्तिकै आलोचना पनि सुनिएको छ । विज्ञानका क्षेत्रमा हाल विकसित मुलुकका प्रयोगशालामा जुनखालका अनुसन्धान भइरहेका छन्, त्यसभन्दा फरक धार अर्थात् दशकौँ पुराना विषय खोजेर नोबेल कमिटीले पुरस्कार वितरण गर्ने गरेको आरोप वैज्ञानिकहरूको छ।

उक्त ती दुई प्रोटिन (‘सिटिएलए ४’ र ‘पिडी १’)लाई लक्षित गरेर वैज्ञानिकहरूले एन्टिबडी विकास गरे । जब एन्टिबडीहरू ‘सिटिएलए ४’ र ‘पिडी १’ मा बाँधिन्छन् तब ‘टि सेल’ सक्रिय हुन्छन् र क्यान्सर सेल मार्न सुरु गर्छ । र, त्यही एन्टिबडीलाई ‘इम्युनचेक प्वाइन्ट इनिभिटर ड्रग’ भनिएको हो । यस्ता औषधि अमेरिकामा सन् २०१० देखि नै बजारमा आउन थालेका हुन् । क्यान्सरको यस्तोखालको उपचार विधिलाई ‘इम्युनोथेरापी’ भनिन्छ । इम्युनोथेरापीबाट अन्तिम चरणको मेलनोमा, फोक्सोको क्यान्सर, मिर्गौलाको क्यान्सर उपचारमा बिरामीले राम्रै लाभ लिइरहेको विभिन्न रिपोर्टले पुष्टि गरेका छन्।

तर यस इम्युनोथेरापी विधि सबैखालको क्यान्सर जस्तै– ब्लड क्यान्सर आदि) को उपचारमा उपयोगी हुँदैन । एकै प्रकृतिको क्यान्सरमा समेत केही बिरामीमा इम्युनोथेरापीबाट इम्युनसिस्टममा सुधार नआएको भेटिएको छ । यस्तो हुनुको कारणमा ती बिरामीमा पर्याप्त ‘टि सेल’ रगतमा नहुनु अथवा सक्रिय ‘टि सेल’ नहुनुलाई मानिएको छ।

केही क्यान्सर रोग (जस्तै– छालाको क्यान्सर) जसमा रेडियसन थेरापी र किमोथेरापीले राम्रोसँग काम गर्दैन त्यसमा इम्युनोथेरापी बढी उपयोगी हुने ठानिएको छ । अन्य उपचार विधिबाट भन्दा यस इम्युनोथेरापीमा कम साइड इफेक्ट हुने अनुमान छ । शरीरको इम्युनसिस्टममा नै सुधार ल्याउने तरिका भएकाले वैज्ञानिकका अनुसार इम्युनोथेरापीले बिरामीमा काम ग-यो भने मानौँ त्यो क्यान्सर प्रायः निर्मूल हुन्छ । तथापि यस दाबी पुष्टि हुन बाँकी नै छ।

सबै कुराका बाबजुद इम्युनोथेरापी विधि पूर्णरूपमा खतरामुक्त भने छैन । उपचारका क्रममा शरीर सुनिने, रातो हुने, ज्वरो आउने, शरीर शिथिल हुने, तौल बढ्ने, दिसा लाग्ने आदि समस्या देखा पर्न सक्छ । साथै इम्युनोथेरापीमा प्रयोग हुने केही औषधिले मुटु, फोक्सो, मिर्गौला र आन्द्रामा असर पु¥याउन सक्ने समाचार पनि सञ्चारमाध्यममा भेटिएका छन्।

भौतिकशास्त्रको नोबेल
लेजर फिजिक्समा गरिएको अनुसन्धानका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ। क्यानडाकी डा. डोना स्ट्रिक्ल्यान्ड करिब आधा शताब्दीपछि भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला भएकी छन् । तर यसअगाडि पनि दुई महिलाले (सन् १९०३ मा मरी क्युरीले र सन् १९६३ मा मारिआ गोइप्पर्ट(माएर) फिजिक्समा नोबेल पुरस्कार पाएका थिए । क्यानडाकी डा. स्ट्रिक्ल्यान्ड, अमेरिकाका डा. आर्थर यास्किन र फ्रान्सका डा. जेरा मोरूले लेजर फिजिक्सको क्षेत्रमा गरेका अनुसन्धानका लागि संयुक्तरूपमा नोबेल पुरस्कार पाएका हुन्। डा. आर्थर यास्किनले लेजरलाई निश्चित ठाउँमा केन्द्रित (फोकस) गरेर अत्यन्त सूक्ष्म बायोलोजिकल चिज र एटमलाई भौतिकरूपमा अडाएर राख्न सक्ने विधि विकास गरेका थिए । र, यस प्रविधिलाई ‘अप्टिकल टुइजर’ नामाकरण गरिएको छ । यसको प्रयोगबाट भविष्यमा सेल फ्युजन, डिएनए कटिङ, सेलको स्ट्रक्चरलगायत डिएनएसम्बन्धी थप रोचक अध्ययन/अनुसन्धान गर्न सहयोग मिल्ने विश्वास गरिएको छ । डा. स्ट्रिक्ल्यान्ड र डा. जेरा मोरूले ‘हाइ इन्टेन्सिटी अल्ट्रा–सर्ट पल्सेज’ लेजर पैदा गर्ने नयाँ प्रविधि विकास गरेका थिए । र,यस्तो प्रविधि आँखाको सर्जरी गर्नदेखि विभिन्न वैज्ञानिक उपकरणमा प्रयोग हुँदै आएको देखिन्छ । र, यस्तो ‘हाइ इन्टेन्सिटी’ लेजर ‘ब्रेन ट्युमर’को उपचारमा पनि उपयोगी देखिएको छ।

रसायनशास्त्रको नोबेल
यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकहरू डा. फ्रान्सेस आर्नोल्ड, डा. जोर्ज पि स्मिथ र ब्रिटेनका वैज्ञानिक डा. ग्रेगरी विन्टरले संयुक्तरूपमा पाएका छन् । डा. फ्रान्सेस आर्नोल्डले ’डिरेक्टेड इभोलुसन’ नामक विधिबाट नयाँ इन्जाइम बनाएकी थिइन् । त्यसरी बनाइएका इन्जाइम नयाँ औषधि बनाउन प्रयोग हुन सक्छ । ११७ वर्षको इतिहासमा डा. आर्नोल्ड पाँचौँ महिला बनेकी छिन् नोबेल पुरस्कार पाउने । उनले प्रतिपादन गरेको विधि अचेल विश्वका विभिन्न प्रयोगशालामा प्रयोग हुँदै आएको छ । जिनमा म्युटेसन गरेर नयाँ इन्जाइम बनाउने प्रक्रिया भएकाले यसलाई ‘इभोलुसन’ सँग जोडेर हेरिन्छ । किनकि नयाँ अर्गानिज्म वा प्राणीको विकासक्रममा जिन म्युटेसन वा जिन सर्ने, थप–घट हुने काम हुन्छ । (पंक्तिकार पनि केही वर्षअगाडि ’डिरेक्टेड इभोलुसन’का क्षेत्रमा अमेरिकामा अनुसन्धानरत थिए।)

यसै क्रममा अर्का वैज्ञानिक डा. स्मिथले ‘फाज डिस्प्ले’ प्रविधि विकास गरेका कारण नोबेल पुरस्कार पाएका थिए । यसमा ब्याक्टेरियालाई भाइरससँग संक्रमित गराइन्छ । र, त्यसअगाडि नै भाइरसको जिनमा परिवर्तन गरिन्छ । जसका कारण ब्याक्टेरियल सिस्टममा फरक प्रोटिन पैदा हुन जान्छ।

बेतायती अर्का वैज्ञानिक डा. विन्टरले ’डिरेक्टेड इभोलुसन’ पद्धतिमार्फत नयाँ एन्टिबडी बनाएका थिए । सन् २००२ मा यस्तै एन्टिबडी औषधि बाथरोग, छालारोग (सोरायसिस) लगायत उपचारका लागि प्रचलनमा आएको थियो।

अन्तमा,
विश्वमा नोबेल पुरस्कारको जति ख्याति छ, त्यत्तिकै आलोचना पनि सुनिएको छ । विज्ञानका क्षेत्रमा हाल विकसित मुलुकका प्रयोगशालामा जुनखालका अनुसन्धान भइरहेका छन्, त्यसभन्दा फरक धार अर्थात् दशकौँपुराना विषय खोजेर नोबेल कमिटीले पुरस्कार वितरण गर्ने गरेको आरोप वैज्ञानिकहरूको छ । यस सम्बन्धमा सन् २००९ मा रसायनशास्त्रतर्फ नोबेल पुरस्कार विजेता भि रामाकृष्णानले ‘जिन मेसिन’ नामक पुस्तकमा नोबेल पुरस्कार चिट्ठा जस्तो हुँदै गएको भन्ने व्यंग्य गरेका छन् । रसायनशास्त्रमा नयाँ औषधि आविष्कारमा ‘नेचुरल प्रडक्ट बायोसेन्थेसिस’ को जेनेटिक म्यानिपुलेसन’ भन्ने विधि ज्यादै प्रयोग हुन्छ तर नोबेल कमिटीले त्यस्ता क्षेत्र पहिचान गर्न नसकेको वैज्ञानिकहरूको आरोप छ । यसका अतिरिक्त अचेल विज्ञानका अन्य विधा (भौतिकशास्त्र, चिकित्साशास्त्र र रसायनशास्त्रबाहेक) जस्तै– गणित, कम्प्युटर साइन्स र प्रविधि पनि सशक्त छन् तर तिनलाई नोबेलले समेट्दैन । आखिर समर्थन र आलोचना जे भए पनि नोबेल पुरस्कार वैज्ञानिक जगतलाई मानव स्वास्थ्य र मानवताका लागि काम गर्न प्रेरणाको स्रोत भने बनेको छ।

आजको विश्वलाई समृद्ध बनाउन विज्ञानको महत्वपूर्ण भूमिका रहेको विषयमा दुई मत हुन सक्दैन । १८ औँ शताब्दीको सुरुवातमा नै युरोप र अमेरिकामा विज्ञानका उपलब्धिलाई उधोगधन्दामा जोड्ने काम भएको रहेछ । तर नेपाललगायत विश्वका अति कम विकसित मुलुकहरू नोबेल पुरस्कारले देखाएको विज्ञानका अनुसन्धानको बाटोमा हिँड्न अझै धेरै वर्ष लाग्ने निश्चित छ । जबसम्म देशले विज्ञानका अनुसन्धानलाई उपेक्षा गर्छ तबसम्म दिगो विकास सम्भव देखिँदैन।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad