८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकी सर्वोच्च अदालतमा क्याभानो नियुक्त

बाहिरिँदै गरेका न्यायाधीश एन्थोनी केनेडी ब्रेट क्याभानोलाई अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश पदको शपथ ग्रहण गराउँदै। तस्बिर : एजेन्सी

वासिङ्टन – विरोधका बीच अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त भएका छन्। अमेरिकी संसद्मा शनिबार भएको मतदानमा क्याभानोको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो।

न्यायाधीश क्याभानोको संसदीय अनुमोदनलगत्तै सर्वोच्च अदालतमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ पनि गराइएको थियो । सर्वोच्च अदालतमा शपथ ग्रहण समारोह चलिरहँदा बाहिर भने क्याभानोको विपक्षीले नाराबाजी गरेका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो।

न्यायाधीश क्याभानोले आफूमाथि स्कुले जीवनमा यौनशोषण गरेको भन्दै प्राध्यापक क्रिस्टिन ब्लासी फोर्डले संसद्को न्यायिक समितिमा स्वयं उपस्थित भएर बयान दिएकी थिइन् । तर क्याभानाले उक्त आरोप असत्य रहेको र त्यो आफ्नो चरित्र हत्या गर्ने कुत्सित मनसायबाट प्रेरित रहेको बताउँदै आएका छन्।

सिनेट न्यायिक समितिमा भएको सुनुवाइमा सहमति नभएपछि विपक्षी डेमाक्रेटिक पार्टीका सांसदको अनुरोधमा क्याभानोमाथि लागेका आरोपबारे छानबिन गर्न अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई)लाई जिम्मा दिइएको थियो । न्यायाधीश क्याभानोको विषयमा अमेरिकी समाज नै दुई कित्तामा बाँडिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीश क्याभानोलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि मनोनयन गरेका थिए।     

उनले क्याभाना एक इमान्दार र सक्षम व्यक्ति रहेको बताउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले क्याभानोको अनुमोदनलगत्तै चुनावी सभामा सम्बोधन गर्दैै ‘यो अमेरिकी जनताको जीत भएको’ बताएका छन् । अनुदारवादी भनेर चिनिएका क्याभानोको नियुक्तिसँगै अमेरिकी सर्वोच्च अदालतमा अनुदारवादी न्यायाधीशको बहुमत पुगेको छ । अमेरिकी सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीश आजीवन सो पदमा रहन पाउँछन् । क्याभानोको पक्षमा भएको यो मतदानले आगामी नोभेम्बरमा हुने अमेरिकी सिनेटको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीलाई थप मद्दत पुग्ने अपेक्षासमेत गरिएको छ। केन्टुकी राज्यबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सिनेटर मिच म्याककोनेलले यो विजयले रिपब्लिकनको मत बढेको दाबी गरेका छन् । तर डेमोक्रेटिक पार्टीका नेता चुक सुमरले न्यूयोर्कमा भने, ‘जनताले परिवर्तन चाहेका छन् र त्यो मतदानका दिन देखिने छ।’

प्रकाशित: २२ आश्विन २०७५ ०३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App