coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘बाणिज्य दूतावासमै पत्रकारको हत्या’

इस्तानबुल – साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमै ‘हत्या’ भएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताएका छन्।

टर्किस–अरब मिडिया एसोसिएसनका प्रमुखसमेत रहेका किस्लाकीले समाचार एजेन्सी एपीसँग भने, ‘महाबाणिज्य दूतावासका अधिकारीहरुले साथी खसोग्गीको अन्त्येष्टिको तयारी गर्न भनेका छन्।’

साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खसोग्गी अमेरिकामा निर्वासित जीवन बिताउँदै आएका थिए ।  साउदी सरकारका स्थापित आलोचक खसोग्गी खासगरी साउदी राजकुमार मोहम्मद बिन सलमान नेतृत्वको सुधार योजनाको आलोचक रहँदै आएका थिए । विवाह दर्ताका लागि गर्नुपर्ने कागजी कामका लागि खसोग्गी वाणिज्य दूतावास गएको तर गत मंगलबारदेखि बेपत्ता भएको एपीले उल्लेख गरेको छ।

खसोग्गीसँग विवाहको छिनोफानो भइसकेकी महिला पनि उनीसँगै वाणिज्य दूतावास गएपनि उनलाई कार्यालयभित्र छिर्न नदिइएको बताइएको छ।

खसोग्गीले इस्लामाबादमा रहेर ‘वासिङ्टन पोस्ट’का लागि पनि रिपोर्टिङ गर्दै आएका थिए । खसोग्गीका रोजगारदातामध्येका एक वासिङ्टन पोस्टले उनको हत्या गरिएको सत्य भए त्यो जघन्य अपराध हुने र दोषीलाई दण्डित गर्नुपर्ने माग गरेको एपीले जनाएको छ । महाबाणिज्य दूतावासका अधिकारीहरुले पत्रकार खसोग्गीको बर्बरतापूर्ण रूपमा हत्या गरेको जानकारी आफूहरूले पाएको वासिङ्टन पोस्टले जनाएको छ । तर साउदी अरबका अधिकारीहरूले भने खसोग्गीको हत्या भएको भन्ने सूचना आधारहीन भएको दाबी गरेका छन्।

खसोग्गीलाई साउदी अरबको महाबाणिज्य दूतावासमा मारिएको दाबी टर्कीका दुई सुरक्षा अधिकारीले समाचार एजेन्सी एपीसँग गरेका छन् । तर एक अर्का अधिकारीले अप्रत्यक्ष रूपमा भने पत्रकार मारिएको कुरा ‘उच्च सम्भावना’ मात्र भएको बताएका छन् । घटनाबारे अनुसन्धान जारी रहेकाले यसबारे तथ्य छिट्टै बाहिर आउने भन्दै आफ्नो नाम सार्वजनिक नगर्न टर्कीका दुवै अधिकारीले अनुरोध गरेका छन्।

साउदी अरबले भने पत्रकार खसोग्गीको महा बाणिज्य दूतावासमा हत्या भएको भन्ने भनाइलाई अस्वीकार गर्दै उनको खोजी कार्य भइरहेको बताएको छ ।

अन्तिम पटक कहिले देखिएका थिए?
जमल खसोग्गीले गत मंगलबार टर्कीको इस्तानबुलमा रहेको साउदी अरबको महा बाणिज्य दूतावासमा आफ्नी पूर्वपत्नीसँग भएको सम्बन्धविच्छेदको प्रमाणित डकुमेन्ट लिन गएका थिए । उनले सो कागज टर्की नागरिक हातिस केन्गिजसँग विवाह गर्नका लागि लिन गएका थिए । केन्गिजले आफूले महा बाणिज्य दूतावासबाहिर आफूले ११ घण्टा कुरेको तर उनी नआएको बताइन्।

खसोग्गीलाई कतिपय कूटनीतिक नियोगमा जस्तै मोबाइल कर्मचारीलाई दिन भनिएको केन्गिजले बताइन् । खसोग्गीले यदि आफू बाहिर आइँन भने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका सल्लाहकारलाई फोन गर्न भनेको समेत उनले बताइन् । ‘जमल मरेका छैनन् । उनी मारिएको भन्ने म विश्वास गर्न सक्दिँन,’ खसोग्गीको तस्बिरसहित केन्गिजले गरेको ट्विटमा जनाइएको छ । खसोग्गीबारेका विवरण बाहिरिए पनि आफूले आधिकारिक धारणा खोजिरहेको उनले बताएकी छन्।

टर्कीले के भन्यो?
खसोग्गीलाई साउदी अरबको महाबाणिज्य दूतावासमै हत्या गरिएको र त्यसपछि उनको शवलाई हटाइएको टर्कीले आरोप लगाएको छ।

मंगलबार नै १५ जनाको समूह इस्तानबुल आएको र त्यही दिन नै रियाद गएको टर्कीको अनुसन्धानकर्ताहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

प्रकाशित: २२ आश्विन २०७५ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App