७ वैशाख २०८१ शुक्रबार
समाज

यात्रुको सहायताका लागि बाँकेका ३ स्थानमा डेस्क स्थापना

नेपालगन्ज - चाडपर्वको समयमा आवत–जावत गर्ने सर्वसाधारणको सहजताका लागि बाँकेका तीन स्थानमा नागरिक/यात्रु सहायता डेस्क सञ्चालनमा ल्याइएको छ। नेपाल–भारत सिमा नाका जमुनाहा, नेपालगन्ज र कोहलपुर बसपार्कमा सहायता डेस्क सञ्चालनमा ल्याइएको हो। चाडपर्वको बेला सर्वसाधारण बढी मात्रामा लुटिने, ठगिने र अलपत्र पर्ने सम्भावना हुने भएकाले सहायता डेस्क प्रभावकारी हुने सरोकारवालाको दाबी छ। 

नेपालगन्ज बसपार्कमा आइतवार डेस्क उद्घाटन गर्दैै बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सर्वसाधारणको सहजताको लागि डेस्क प्रभावकारी हुने विश्वास व्यक्त गरे। ‘जहाँ बढी यात्रुको चहलपहल हुन्छ, त्यो एरियामा बढी विकृती हुन्छ, बसपार्क क्षेत्रमा त्यसैपनि विकृति हुन्छ,’ उनले भने। 

जिल्ला प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र, ट्राफिक प्रहरी र वडा प्रहरी कार्यालयले संयुक्त रुपमा सञ्चालनमा ल्याएको डेस्कमा नागरिक/यात्रुलाई सहयता प्रदान गर्न प्रहरी खटिनेछन्। कसैलाई यात्राका क्रममा कुनैपनि प्रकारको असुविधा र हैरानी भएमा तत्काल डेस्कमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ। जिल्ला प्रहरी प्रमुख (एसपी) अरुण पौडेलले चाडपर्वको समयमा यात्रुलाई बाटो छेकेर अप्ठ्यारोमा पार्ने, सताउने, लुटपाट गर्ने विरुद्ध प्रहरी कडाईका साथ प्रस्तुत हुने चेतावनी दिए। ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार दशैं मनाउन अचेल दैनिक रुपमा करिव २ हजारको संख्यामा भारतबाट नेपाली मजदुर फर्किने गरेका छन्।

 

प्रकाशित: २१ आश्विन २०७५ १०:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App