coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘दशैँमा भोकभोकै मर्नुभन्दा, गोली खाएर मर्छौं’

सर्लाही - नेपालीहरुको महान चाड विजया दशमी, दिपावली एवं छठ पर्वको पूर्वसन्ध्यामा उखुको पैसा नपाउँदा किसानलाई निकै समस्या भएको उखु किसान नेताहरुले बताएका छन्। आईतवार सर्लाहीको हरिवनमा उखु किसान सम्बद्ध नेपाल उखु उत्पादक महासंघ, नेपाल उखु उत्पादक किसान संघ, किसान हकहित समिति र मिलगेट उखु उत्पादक समितिले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै किसान नेताहरुले मुलुकभर किसानले चिनी उद्योगी र सरकारी अनुदान बापत ३ अर्ब २८ करोड रुपैयाँ भन्दा बढी रकम अझै पनि भुक्तानी नपाएको बताए। उखुको भुक्तानीमा चिनी उद्योगीले गरेको आलटालबाट आजित भएका किसानलाई सरकारले समेत लामो समयदेखि अनुदान रकम उपलब्ध नगराउँदा किसानहरु चाडपर्वकाे मुखमा भोकभोकै मर्ने अवस्था आएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले गुनासो गरे। ‘उखुको भुक्तानी नपाउँदा उल्लासपूर्ण ढंगले मनाउनुपर्ने महान चाडमा किसानहरु भोकभोकै मर्नुपर्ने अवस्था आएको छ’, उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले भने, ‘अब भोकभोकै मर्नुभन्दा कडा आन्दोलनमा उत्रन्छौ बरु गोली खाएर मर्न चाहन्छौं।’

 ‘उखुको भुक्तानी नपाउँदा उल्लासपूर्ण ढंगले मनाउनुपर्ने महान चाडमा किसानहरु भोकभोकै मर्नुपर्ने अवस्था आएको छ’, उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले भने, ‘अब भोकभोकै मर्नुभन्दा कडा आन्दोलनमा उत्रन्छौ बरु गोली खाएर मर्न चाहन्छौं।’

पहिला उखु खेती गर्दा देखि मलखाद, कटानी, ढुवानीमा समेत ऋण काढेर किसानले काम टारेपनि चिनी उद्योग र सरकारबाट उखुको भुक्तानी नपाउँदा यसवर्षको दशैं, दिपावली र छठ साह्रै खल्लो हुने अवस्था आएको मैनालीले दुःखेसो व्यक्त गरे। ‘उखु किसानले दुई वर्षदेखि ऋण काढेर र उधारोमा व्यवहार चलाउँदै आएका छन्’, मैनालीको प्रश्न थियो, ‘अब साहुले ऋण पनि थप्दैनन् र उधारो पनि नपाएपछि उखुको भुक्तानी नपाउने किसानले के गरी दशैं, दिपावली र छठ मान्नु?’

दशैँ अगाडी नै सरकारले दिने भनेको प्रति क्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान भुक्तानीको व्यवस्था नमिलाए पूर्व–पश्चिम राजमार्गमा चक्काजाम लगायत कडा संघर्षको कार्यक्रम सहितको आन्दोलनको विकल्प नभएको मैनालीले चेतावनी दिए। ‘अबहाँमी सबै उखु किसान राजमार्गमै आएर सुत्छौं’, उनले चेतावनी दिए, ‘आन्दोलन विफल पार्न सरकारले गोली हान्छ भनेपनि खान तयार छौं।’ 

चिनी उद्योगीले प्रति क्वीन्टल ४७१ रुपैंया २८ पैसा भुक्तानी नदिएर आजित भएका किसान प्रति क्वीन्टल ६५ रुपैयाँ २८ पैसा सरकारी अनुदान समेत नपाउँदा निकै मारमा परेको मैनालीको धारणा थियो। ‘२०७५ वैशाख ४ गतेको मन्त्रिपरिषद बैठकले किसानलाई प्रति क्वीन्टल उखुको चिनी उद्योगीबाट ४७१ रुपैयाँ २८ पैसा तथा सरकारी अनुदान बापत ६५ रुपैंया २८ पैसा उपलब्ध गराउने निर्णय गरेको तर हालसम्मपनि उक्त रकम भुक्तानी नहुँदा किसानहरु छटपटाई रहेका छन्’, मैनालीले सरकारसँग प्रतिप्रश्न गरे, ‘कृषिप्रधान देश भन्ने अनि कृषि उत्पादनमा रगत र पसिना बगाउने किसानले भोकभोकै मर्नुपर्ने, किसानलाई कृषि उत्पादनको वातावरण नबनाए कसरी मुलुकको समृद्धि हुन्छ ?’

मुलुकभरका १२ चिनी उद्योगबाट गएको सिजनमा २ करोड ६ लाख ८६ हजार ७८० क्वीन्टल उखु क्रसिङ भएको र ४–५ लाख क्वीन्टल भारतबाट ल्याईएको उखुको कटाउँदा किसानले सरकारबाट पाउने अनुदानको मात्र १ अर्ब २८ करोड भन्दा बढी रकम रोकिएको मैनालीले गुनासो गरे। उद्योगीबाट किसानले अझैपनि २ अर्ब भन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको महासंघ अध्यक्ष मैनालीको दाबी छ।

नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले चिनी उद्योगीबाट वर्षौंदेखि दुःख पाईरहेका उखु किसानले यसवर्ष सरकारबाट समेत उपेक्षित हुनु परेको गुनासो गरे। ‘अब फेरि चिनी उद्योग चल्ने बेला हुन लागिसक्यो, तर गत वर्षकै उखुको मुल्य पाउन सकेका छैनौं, अझ कतिपय उद्योगले त विगत वर्षदेखिकै बाँकी राखेका छन्’, उप्रेतीले भने, ‘खेती सुरु गरेको २ वर्ष तथा बेचेको १० महिना बित्दा पनि भुक्तानी नपाउँदा उखु किसान ऋणमा डुब्ने मात्र हैन भोकभोकै मर्ने अवस्था आएको छ।’

पटक–पटक प्रधानमन्त्री सहित अर्थ मन्त्री, कृषिमन्त्री, उद्योग मन्त्री लगायतलाई भेटेर गुनासो गर्दा समेत कृषि प्रधान देशका किसानले बगाएको रगत र पसिनाको उचित मुल्य नपाउनु दुःखद भएको उप्रेतीको धारणा थियो। महान चाड दशैं मान्न कर्मचारीलाई १ महिनाको तलब पेश्की दिने सरकारले उखु किसानको वर्षौं देखिको भुक्तानी वातावरण नमिलाउनु ठूलो विडम्बना भएको उप्रेतीले दुःखेसो व्यक्त गरे।

प्रकाशित: २१ आश्विन २०७५ ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App