८ वैशाख २०८१ शनिबार
अर्थ

१० अर्बको क्लिंकर आयात

काठमाडौं-सरकारको सिमेन्ट तथा यसको कच्चा पदार्थमा आत्मनिर्भर हुने लक्ष्य राखे पनि क्लिंकरको आयात भने हरेक वर्ष बढ्दै गएको छ । देशका विभिन्न ठाउँमा रहेका चनुढुंगा खानी प्रयोग गर्न नसक्दा ठूलो मात्रा क्लिंकर आयात गर्नुपरेको हो ।

देशभित्रै उपलब्ध कच्चा पदार्थको उचित प्रयोग नहुँदा वार्षिक झन्डै १० अर्ब रुपैयाँको क्लिंकर बाहिरबाट आयात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको गत आर्थिक वर्ष ०७२÷७३ को तथ्यांक अनुसार ९ अर्ब ८३ करोड ५४ लाख रुपैयाँभन्दा धेरैको क्लिंकर आयात भएको छ ।

क्लिंकर सिमेन्ट उत्पादनमा चाहिने प्रमुख कच्चा पदार्थ हो । प्राकृतिक खानीमा पाइने चुनढुंगालाई क्लिंकर बनाएर सिमेन्ट बनाउन प्रयोग गरिन्छ । देशलाई चाहिने सिमेन्ट स्वदेशमै उत्पादन हुन थाले पनि यसको कच्चा पदार्थको रुपमा प्रयोग हुने क्लिंकरको आयात भने हरेक वर्ष बढ्दै गएको छ ।

आर्थिक वर्ष ०७०÷७१ मा ६ अर्ब ५४ करोड रुपैयाँको सिमेन्ट आयात भएकोमा अर्को वर्ष ०७१÷७२ मा ८ अर्ब ४० करोडको क्लिंकर आयात भएको थियो । आयातको क्रम बढ्दै जाँदा गत आर्थिक वर्षमा झन्डै १० अर्ब पुगेको छ ।
सिमेन्ट प्लान्ट स्थापना बढ्दै गएको र उत्पादन पनि बढेकाले यसलाई चाहिने कच्चा पदार्थको आयात बढेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन् । ‘पछिल्लो समय सिमेन्ट उत्पादन बढेको छ,’ थापाले भने, ‘उत्पादन बढेकाले यसलाई चाहिने कच्चा पदार्थ आयात बढेको हो ।’

देशलाई चाहिने सिमेन्ट उत्पादन हुन थाले पनि विभिन्न समस्याले गर्दा क्लिंकर उत्पादन बढ्न नसकेको थापाको भनाइ छ । खानी सञ्चालनमा आउने विभिन्न खालको समस्याले प्रभाव पारेको व्यवसायी बताउँदै आएका छन् । थापाका अनुसार खानी सञ्चालन गर्न जग्गाको समस्या, वनको समस्या, वातावरण र स्थानीय स्तरका राजनीतिक समस्याले गर्दा क्लिंकर उत्पादन चाहे अनुसारको हुन सकेको छैन । यति हुँदाहुँदै पनि अबको दुई वर्षमा क्लिंकरमा पनि आत्मनिर्भर हुने थापाको दाबी छ । सिमेन्टमा पूर्ण आत्मनिर्भर हुन यसमा प्रयोग हुने कच्चा पदार्थमा पनि आत्मनिर्भर हुनुपर्छ । सिमेन्ट आयात हरेक वर्ष घट्दै गएको अवस्थमा क्लिंकरको आयात भने बढ्दै गएको छ ।

अहिले देशभित्र जम्मा झन्डै ५० वटा सिमेन्ट उद्योग रहेका छन् । यी उद्योगमध्ये दर्जनभन्दा धेरैले आफैं क्लिंकर उत्पादन गर्छन् । बाँकीमध्ये केहीले देशभित्रै उत्पादन भएको क्लिंकर प्रयोग गर्छन भने केहीले भारत लगायत देशबाट आयात गर्छन् ।

देशभित्र प्रशस्त मात्रामा चुनढुंगा खानी रहेको अध्ययनले देखाएको छ । देशका विभिन्न ठाउँका खानी उपयोग गर्न सके सिमेन्ट निर्यात गर्न सकिने व्यवसायीले बताउँदै आएका छन् । सिमेन्ट उत्पादन बढाएर अलिकति मूल्य घटाउन सकियो भने भारतको उत्तर प्रदेश र बिहार राम्रो बजार बन्न सक्ने व्यवसायी बताउँछन् ।  

क्लिंकर भारत, दक्षिण अफ्रिका, भुटान लगायत देशबाट आयात भइरहेको छ । बाहिरबाट कच्चा पदार्थ ल्याएर सिमेन्ट बनाउँदा लागत बढी पर्छ । आवश्यक सिमेन्ट देशभित्र उत्पादन हुने अवस्था भए पनि भारतबाट आयातित सिमेन्ट सस्तो पर्दा आयात नरोकिएको व्यवसायीको भनाइ छ । भारतबाट क्लिंकर ल्याउँदा भन्सार लाग्ने भएकाले नेपाली सिमेन्ट महँगो पर्न जाने व्यवसायीको भनाइ छ । सञ्चालनमा रहेका चुनढुंगा खानीसम्म पुग्ने मोटरबाटो राम्रो नहुनु, यातायात सिन्डिकेट र स्थानीय केही समस्या गर्दा नेपाली सिमेन्ट महँगो हुने गरेको व्यवसायीको भनाइ छ ।

देशको विभिन्न स्थानमा रहेका खानी उत्खनन गरी सिमेन्ट उत्पादन र बिक्री गर्ने उद्योगको लागि नेपाल सरकारले आर्थिक वर्ष ०६४÷६५ देखि सडक तथा विद्युत पूर्वाधार उपलब्ध गराउने नीति लिएको छ । देशभित्र रहेका चुनढुंगा खानीको उत्खनन र प्रयोग गर्ने उद्देश्यले सरकारले खानीसम्म बाटो र प्रसारण लाइन बनाउने कार्यक्रम सञ्चालन गरिरहे पनि अहिलेसम्म पूरा हुन सकेको छैन ।

 

प्रकाशित: ५ आश्विन २०७३ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App