८ वैशाख २०८१ शनिबार
अर्थ

पोखरा विमानस्थलमा चाँपाचाँप

पोखरा विमानस्थलमा जहाजको पार्किङ। फाइल तस्बिर : नागरिक

पोखरा - पर्यटकीय सिजन सुरु भएसँगै यात्रु चाँप बढ्दै जाँदा यहाँको विमानस्थल बिहानैदेखि बेलुकीसम्म व्यस्त हुन थालेको छ। यतिबेला पोखरा विमानस्थल बिहान ६ देखि बेलुकी झन्डै ६ बजेसम्म (करिब १२ घन्टा) सञ्चालनमा छ।

झन्डै १२ घन्टा सञ्चालनमा रहेको विमानस्थलबाट पोखराको आकासमा पर्यटक उडाउने एक जना यात्रु क्षमताको अल्ट्रालाइटदेखि ७२ सिट क्षमताको एटिआर ७२–५०० सम्मका जहाजको उडान हुन्छ। विमानस्थल प्रमुख भोलाप्रसाद गुरागाइँले सिजनसँगै विमानस्थलको व्यस्तता बढेको बताए। पछिल्लो समय पोखरा विमानस्थलको व्यस्तता अधिक बढेको उनले बताए।

‘झन्डै १२ घन्टा पोखरा विमानस्थल सञ्चालनमा छ। सिजनले गर्दा पर्यटकको आउजाउ पनि बाक्लो छ । उस्तै भीड आन्तरिक यात्रुको पनि छ,’ उनले भने, ‘उडान थपिँदै जाँँदा यात्रु व्यवस्थापनमा समेत हम्मेहम्मे पर्ने गरेको छ । स्थलमार्ग अहसज हुँदा पनि हवाईयात्रामा चाँप बढेको छ।’ पोखरा विमानस्थल बिहान ६ बजेदेखि खुल्छ । यहाँबाट पहिलो उडान हिमालपारिको जिल्ला जोमसोमका लागि हुन्छ।

हिउँदमा बिहानपख ढिलागरी उज्यालो हुने हुँदा केही अबेर उडान सुरु भएपनि अरुबेला भने यो विमानस्थल ६ बजेदेखि नै सञ्चालनमा आउँछ । यतिबेला पोखराबाट जोमसोमबाहेक काठमाडौंका लागि हुने उडानसमेत बिहान ७ बजे नै हुन थालेका छन् । बुद्ध एयरले अहिले बिहान ७ बजे नै काठमाडौंका लागि उडान गर्नेगरी एटिआर ४२ जहाज पोखरामै रात्रीकालीन पार्किङ गर्न थालेको छ । बेलुकी बास बसेको जहाजबाट बिहान ७ बजे नै बुद्धको उडान हुन्छ।

त्यस्तै केही दिनअघिदेखि एटिआर ७२–५०० बाट उडान थालेको यती एयरलाइन्सले पनि बिहान ७ बजे नै पोखराका लागि उडान थालेको छ । बुद्धको पोखरामा ‘नाइटस्टे’ हुनुअघि सामान्य अवस्थामा बिहान ८ बजेपछि मात्र काठमाडौंबाट पोखराका लागि जहाज उड्थे । पोखराबाट काठमाडौं जाने पहिलो उडान बिहान साढे ८ बजेतिर मात्र हुन्थ्यो । तर, प्रतिस्पर्धा र यात्रुको चाँप बढेपछि बेलुकी नै जहाज पोखरामा राखेर बिहान सबेरै उडान गर्न थालेका छन्।

‘अहिले त काठमाडौं जाने यात्रु बिहान ६ बजे नै विमानस्थल आइपुग्छन् । बिहान ७ बजे नै काठमाडौंका लागि पहिलो उडान छ,’ गुरागाँइले भने, ‘पहिलो उडान जानासाथ यतीको ७२ सिटे जहाज पोखरा आइपुग्छ । एउटा जहाज पठाउन नपाउँदै अर्काे आइपुग्छ । त्यसले यात्रु चाँप बढाएको छ।’

उनका अनुसार यतिबेला पोखराबाट जोमसोमका लागि बिहानको समयमा झन्डै आधा दर्जन उडान हुन्छन् । तारा र समिट एयरले जोमसोमसम्म उडान भर्छन् । जोमसोममा बिहान ११ बजेसम्म मात्र उडान हुन्छ । त्यस्तै बुद्ध र यती एयरले पोखरा–काठमाडौं रुटमा दैनिक झन्डै दुई दर्जन हाराहारीमा उडान गर्छन् । त्यस्तै बुद्धले नै पोखराबाट भरतपुर र भैरहवासम्म पनि दैनिक एक–एकवटाका दरले उडान गरिरहेको छ । नेपाल एयरलाइन्स र सिम्रिकले पनि दैनिक रुपमा पोखराबाट काठमाडौंका लागि उडान भर्छन् । ती बाहेक बिहान सबेरै पोखरा विमानस्थलबाट अल्ट्रालाइट जहाजको उडान हुन्छ । उद्धार र पर्यटक सयर गराउने हेलिकोप्टरको उडान पनि दिनमा झन्डै दर्जन हाराहारीमा हुन्छन्।

‘दैनिक झन्डै तीन दर्जन त ठूला आकारका जहाजको मात्र उडान हुन्छ । हेलिकप्टर र अल्ट्रालाइटको चाँप पनि उस्तै छ,’ गुुरागाँइले भने, ‘सिजनका बेला परेकोले उडान मात्र बढेका होइनन् की यात्रुको चाँप पनि उस्तै छ । अझ यतिबेला स्थलमार्ग सहज नहुँदा काठमाडौं जाने यात्रुले पनि जहाज नै चढ्न थालेका छन् ।’ गुरागाँइका अनुुसार अहिले दिनमा झन्डै तीन हजार यात्रुले विमानस्थलबाट आउजाउको  सेवा लिएका छन्।

‘बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म यहाँ यात्रुको चाँप छ,’ गुरागाँइले भने, ‘जहाजको उडान पनि बढेका छन् । ठूला आकारका जहाज उडान हुँदा एकैपटक ठूलो संख्यामा यात्रु थपिन्छन् । दुईवटा एटिआर ७२–५०० को उडान र अवतरण एकै समयमा भयो भने त यहाँ खचाखच नै हुन्छ । यात्रु उभिने ठाउँसम्म पुग्दैन ।’ विमानस्थलका अनुसार यतिबेला पोखराबाट नियमित रुपमा जोमसोम, काठमाडौं, भरतपुर, भैरहवा उडान भइरहेको छ । झन्डै आधा दर्जन हवाई कम्पनीले यहाँबाट यात्रु सेवा दिइरहेका छन्।

पोखरा विमानस्थलमा आउजाउ गर्ने मात्र नभई आकासमा सयर गर्न पुग्ने पर्यटकको पनि भीड लाग्छ । यहाँको आकासमा अहिले तीनवटा कम्पनीले अल्ट्रालाइट र एउटा कम्पनीले हेलिकप्टर आकारको ग्योरोकोप्टरमार्फत सेवा दिइरहेको छ । पोखरा अल्ट्रालाइटका सञ्चालक पोमनारायण श्रेष्ठले विमानस्थलको व्यस्तता निकै न बढेको बताए ।
‘यात्रुको आउजाउ र आकाशमा सयर गर्न जानेको भीड विमानस्थलमा हुन्छ । मौसम खुलेको दिन त बिहानैपख आकास व्यस्त रहन्छ,’ उनले भने, ‘यो सबै पर्यटकीय गन्तव्य र गतिविधिका कारण हो ।’ पर्यटकीय गन्तव्य भएकाले यहाँस्थित विमानस्थलबाट बिहान र बेलुकीपख अल्ट्रालाइटको उडान बढी हुन्छ । हिमाल खुलेको दिन त झनै बिहानपख अल्ट्रालाइटको उडानको पनि विमानस्थलले चाँप थेग्नुपर्छ । ‘पर्यटक आगमन अझै बढेको खण्डमा विमानस्थलले यात्रुलाई समेत धान्न नसक्ने अवस्था आउन सक्छ,’ श्रेष्ठले भने, ‘अहिले आन्तरिक यात्रुले गर्दा त उडान थपिएर चाँप छ भने पर्यटक आगमन बढ्ने हो भने त विमानस्थलले चाँप नै धान्न सक्दैन ।’ पोखराको हाल चालु रहेको विमानस्थलबाट रात्रीकालिन उडान नहुने भएकाले पनि यहाँ चाँप बढ्ने गरेको उनले बताए।

प्रकाशित: २१ आश्विन २०७५ ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App