८ वैशाख २०८१ शनिबार
कला

नेपालीलाई करोडपति बनाउँदै हमाल

कार्यक्रममा लोगो अनावरण गर्दै अभिनेता हमाल। तस्बिर : नागरिक

काठमाडौं – ठूलो पर्दामा विगत तीन वर्षयता नदेखिएका अभिनेता राजेश हमाल टेलिभिजनको पर्दामा भने अझै सक्रिय छन्। क्विज कार्यक्रम सञ्चालन गर्दै आएका हमाल ‘हु वान्टस् टु बि अ मिलियिनर’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ मा प्रस्तोताको रुपमा देखिने भएका छन्। एपिवान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको बिहीबार भएको औपचारिक घोषणामा हमालले सो सञ्चालन गर्ने जानकारी गराइएको हो। सोही अवसरमा सोसँग आबद्ध स्पोन्सरहरूको बारेमा पनि जानकारी गराइएको थियो। कार्यक्रमको मुख्य प्रायोजन कोकाकोलाले गर्दै छ।

कार्यक्रममा अभिनेता हमालले विश्वप्रसिद्ध टेलिभिजनको सोको नेपाली संस्करण सञ्चालन गर्नु पाउनु आफ्नो लागि गौरवको कुरा भएको बताए।

‘यसको फ्रेन्चाइज किन्ने नेपाल १ सय ६१ औं राष्ट्र होे । यसले पनि कार्यक्रमको लोकप्रियता पुष्टि गर्छ। हामीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसरण गरे पनि नेपाली स्वाद पस्कने प्रयास गर्नेछौं,’ हमालले भने।

‘हु वान्टस् टु बि अ मिलियिनर’ भारतमा पनि ‘कौन बनेगा करोडपति’को लामो समयदेखि प्रसारण हुँदै आएको छ जसलाई पहिलो सिजनदेखि नै बलिउड अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्दै आएका छन् र नेपालमा यसका दर्शक पनि प्रशस्त छन्। ‘तपाईंले नेपाली दर्शकले भोलि अमिताभ बच्चनसँग तुलना गरेर हेर्नेछन्। त्यो अपेक्षा पूरा गर्न कस्तो तयारी गर्नु भएको छ’ भन्ने पत्रकारको प्रश्नमा हमालले नेपाली कार्यक्रमलाई नेपालकै परिधि  भित्र राखेर हेर्न अनुरोध गरे। ‘ मैले अघि पनि भने हामीले सोको मापदण्ड पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेका छौं । यो एउटा टेलिभिजन सो मात्र नभएर आशा र खुशी बाँड्ने माध्यम पनि हो । यसका लागि केही तयारी त अवश्य नै गरेको छु तर हामीले बनावटी रुपमा केही गर्नेभन्दा स्वतस्फूर्त रुपमा जे आउँछ त्यसलाई प्रस्तुत गर्नेछौं।’

बेलायतमा सन् १९९८ बाट सुरु भएको रियालिटी सो भारतमा मात्र ४ भाषामा प्रसारण हुँदै आएको छ। भारतमा सबैभन्दा चर्चित मानिने हिन्दी संस्करणका सञ्चालक अमिताभ बच्चनले नेपाली संस्करण सुरु गर्न लागेकोमा सोका निर्मातालाई शुभकामना दिएको भिडियो पनि कार्यक्रममा प्रसारण गरिएको थियो। १ करोडसम्म पुरस्कार जित्न सकिने कार्यक्रम कात्तिकबाट टेलिभिजनमा प्रसारण हुनेछ। पहिलो ६ भागको सुटिङसमेत सकिएको कार्यक्रममा जानकारी गराइएको थियो। सहभागी हुन चाहानेले मोबाइल एप तथा एसएमएसमार्फत सो निर्मातासँग सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित: २१ आश्विन २०७५ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App