coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

एउटै मञ्चमा ‘कर्कलाको पानी’ र ‘माटो बोल्छ’ सार्वजनिक

नुवाकोट - नुवाकोट साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष रामकृष्ण गजुरेलको मुक्तक सङ्ग्रह ‘कर्कलाको पानी’ र सदस्य भगवती खनालको गजल सङ्ग्रह  ‘माटो बोल्छ’ सार्वजनिक भएको छ।

बेलकोटगढी नगरपालिका–७ रातमाटे महादेवफाँटमा एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेसका सह–महामन्त्री डाक्टर प्रकाशशरण महत र सांसद बहादुरसिंह लामा तामाङले संयुक्त रुपमा दुई कृति सार्वजनिक गरेका हुन्। कृतिहरु सार्वजनिक गर्दै डा. महतले कुनै पनि विषयमा नियन्त्रण, बाधा, निषेध साहित्यमा नहुने र यदि भएमा साहित्यले पूर्ण आकार लिन नसक्ने बताएका छन् । ‘साहित्यमा यो लेख्न पाइन्छ र यो लेख्न  पाइँदैन भन्न थालियो भने मान्छेको सम्भावना र क्षमता सङ्कुचित हुदै जान्छ । जस्ले गर्दा साहित्य मात्र नभएर समाजको पनि विकास हुँदैन’, डा. महतले भने, ‘सार्वजनिक भएका पुस्तकलाई झट्ट नियाल्दा खनालको कृतिले देश र समाजलाई केन्द्रविन्दुमा राखेको छ।’

सांसद तामाङले साहित्य सिर्जना गर्ने शक्ति प्रत्येक व्यक्तिमा नहुने भएकोले लेख्नेहरूलाई प्रोत्साहनको आवश्यकता रहेको बताएका छन्। प्रोत्साहनले गर्दा लेखन कला निखारिने र देशको गतिलाई सत्मार्गमा दौडाउन हौसला मिल्ने तामाङले बताएका छन्।

रामकृष्ण गजुरेलले लेख्नुभएको ‘कर्कलाको पानी’ मुक्तक सङ्ग्रहमा २ सय ६० वटा मुक्तकहरु सङ्ग्रहित छन् । यस अघि ‘हो रहेछ’ कविता सङ्ग्रह, ‘नेपाल आमाले दिएको कलम’ खण्डकाव्य, ‘यथार्थको खोज’ कविता सङ्ग्रह, ‘भूकम्पको पीडा’ खण्डकाव्य र ‘स्वादमग्न झुपडी’ सिजो सङ्ग्रह बजारमा ल्याइसकेका छन्।

यस्तै भगवती खनालले लेखेकी ‘माटो बोल्छ’ गजल सङ्ग्रहमा १ सय १ वटा गजलहरु सङ्ग्रहित छन् । उनले २०६४ सालमा ‘छुट्याइएका गुच्छा’ गीतिसङ्ग्रह बजारमा ल्याएकी थिइन्।

गजुरेल र खनाललाई प्रदेश सांसद कल्पना नेपाली, साहित्यकार शम्भुप्रसाद शर्मा, नुवाकोट साहित्य प्रतिष्ठानका सल्लाहकार श्रीराम श्रेष्ठ, उपाध्यक्ष मुकुन्दराज अर्याल लगायतले बधाई दिदै निरन्तर साहित्य साधनामा लाग्न सुझाव दिएका छन्।

प्रकाशित: २१ आश्विन २०७५ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App